सिरहाका २० सङ्क्रमित कोरोना जितेर घर फर्किए

सिरहाका २० सङ्क्रमित कोरोना जितेर घर फर्किए

केन्द्रबिन्दु
0
Shares

सिरहा ।

सिरहाको धनगढीमाई नगरपालिकास्थित महेन्द्र गेनाइ मेमोरियल अस्पतालबाट २० जना कोरोनालाई जितेर मङ्गलबार घर फर्किएका छन् । उक्त अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका २६ मध्ये एकै दिन २० जना कोरोनाबाट मुक्त भएर घर फर्किएको अस्पतालका मेसु डा सुभाष मण्डलले जानकारी दिए।

विभिन्न मितिमा कोरोना सङ्क्रमण पुष्टि भई अस्पतालको आइसोलेसनमा उपचार भइरहेकामध्ये सिरहाका १९ र सप्तरीका एक जना उपचार पश्चात निको भएर घर फर्किएको उनले जानकारी दिए । निको भएकालाई अस्पतालका मेसुसहित चिकित्सकले फूलमाला लगाएर घर पठाएका थिए ।

बाँकी छ जनाको पनि स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु पनि केही दिनभित्रै उपचार पश्चात घर फर्किने मेसु डा मण्डलको भनाइ छ । यस्तै एकै दिन सिरहामा थप १२ कोरोना सङ्क्रमित थपिएका छन् । विभिन्न गाउँपालिकामा मङ्गलबार थपिएका सबै सङ्क्रमितलाई सो अस्पतालको आइसोलेसनमा ल्याउने तयारी भइरहेको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोजप्रसाद गुरागाईंले जानकारी दिए ।

सिरहा नगरपालिकाका १०, सुखीपुर नगरपालिका र बरियारपट्टी गाउँपालिका एक–एक गरी १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रजिअ गुरागाईंले बताए । योसँगै सिरहामा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ पुगेको छ ।रासस

Logo