काठमाडौं ।
ज्योति समूहद्वारा कान्तिपथको ज्योति भवनमा सञ्चालित ग्राण्डी सिटी क्लिनिक एण्ड हस्पिटल प्रालि विगत ७ वर्षदेखि राज्यको कुनै पनि निकायमा दर्ता बिना नै सञ्चालनमा आएको पाइएको छ ।
हस्पिटलले स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयमा समेत कानून बमोजिम अनुमति प्राप्त नगरेको पाइएको हो । आठ महिना अघि नै अस्पताल दर्ताबिना सञ्चालनमा रहेको भन्दै अस्पताललाई कानूनी दायरामा ल्याउन स्वास्थ्य सेवा विभागमा उजुरी परेको थियो । उजुरी पश्चात विभाग तथा उपचारात्मक सेवा महाशाखाले गत असार ३१ गते हस्पिटललाई पत्राचार गरि संस्थाको स्वास्थ्य सेवा सञ्चालन स्वीकृति दिने निकायको प्रमाणित प्रतिलिपि ३ दिनभित्र पठाउन निर्देशन दिएको थियो । त्यस्तै बाग्मती प्रदेश स्वास्थ्य निर्देशनालयले गत साउन ८ गते नै जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंलाई समेत पत्राचार गर्दै ग्राण्डी सिटी अस्पतालको दर्ता प्रक्रियाबारे जानकारी माग गरेको भए पनि हस्पिटलले भने बेवास्ता गर्दै हालसम्म कुनै जवाफ दिएको छैन ।
हस्पिटल दर्ता भए नभएको छानबीन गरि कारवाहीको प्रक्रिया अगाडि बढाउन विभागले ५ महिना अघि नै छानबीन समिति गठन गरेको भए पनि हालसम्म त्यसबारे वास्तविकता अगाडि आउन सकेको छैन । हस्पिटलको वैधानिकतामाथि नै प्रश्न उठाउँदा समेत हस्पिटल मौन बस्नुलाई नियमनकारी निकाय र हस्पिटलको भित्री मिलेमतोमा नै हस्पिटल सञ्चालन भएको हो कि भन्ने आशंकासमेत उत्पन्न हुन थालेको छ ।

यो विषयमा स्वास्थ्य मन्त्रालय भने बेखबर रहेको पाइएको छ । मन्त्रालयका सचिव लक्ष्मण अर्यालले नयाँ स्वास्थ्य नियमावली आएपछि २ सय वेडसम्मका अस्पतालको नियमन प्रदेशको सामाजिक विकास मन्त्रालयले हेर्ने भन्दै यो विषयमा बोल्न चाहेनन् । सचिव अर्यालले २ सय माथि वेड भएका अस्पताल मात्रै मन्त्रालयले हर्ने भन्दै यस विषयमा प्रदेश मातहतका कार्यालयले हेरिरहेको जानकारी दिए ।

त्यस्तै, छानबीन समितिमा समेत रहेका स्वास्थ्य सेवा विभागका निर्देशक डा. तारानाथ पोखरेलले हस्पिटल दर्ता भएको भए पनि अपग्रेड (स्तर बृद्धि) गर्न खोजेको छानबीनका क्रममा देखिएको बताए । उनले भने, “ हस्पिटल दर्ता गरेको भए पनि पछिल्लो समय अस्पतालको पूर्वाधार निर्माण गरेर थप शैयासहितको अस्पताल बनाउन खोजेको पाइएको छ । अहिले छानबीन समितिबाट बाहिरीएका थप जानकारी भने आएको छैन ।”
ज्योति समूहमा विगत लामो समयदेखि सम्पति विवाद चर्किंदै जाँदा अस्पताल दर्ता विना सञ्चालनमा रहेको रहस्य बाहिर आएको थियो । अहिले पनि पैतृक सम्पत्ति बाँडफाँटको विषयमा दाजूभाइबीच देखिएको विवाद कायमै छ ।

उनका अनुसार पहिले अस्पतालले २५ शैयाको स्वीकृती लिएको र अहिले बढाएर नयाँ मिसिन जडान गर्न र रेक्टोफिटिङ गर्न खोजिएकाले छानबीन गर्दा मापदण्डहरु पुगेको छ । दर्ताविना सञ्चालन भएको भन्ने विषयमा विभागमा उजुरी परेकाले अनुगमन गर्दा हस्पिटलको अपग्रेड रहेको पाइएको उनले जानकारी दिए । हस्पिटल पहिले नै जिल्ला स्वास्थ्य कार्यालयमा दर्ता गराएको र स्वीकृती लिएर पूर्वाधार निर्माण गर्न लागेकाले दर्ता विना सञ्चालनमा रहेको भन्न नमिल्ने अस्पतालसँग डकुमेन्ट रहेको समेत पोखरेलको भनाइ छ ।
तर, पूर्व छानबीन समितिका सदस्य र अहिलेका छानबीन समितिको जिम्मेवार पाएका डा.मदन उपाध्यायको भनाइमा भने फरक पाइएको छ । डा.उपाध्यायले हस्पिटलले स्थानीय तह वडामा दर्ता गरेको पाइएको बताए । विगतको अनुसन्धानमा डा. पोखरेलले भनेजस्तो प्रमाण नभेटिएको उनको दाबी छ ।
ज्योति समूहमा विगत लामो समयदेखि सम्पति विवाद चर्किंदै जाँदा अस्पताल दर्ता विना सञ्चालनमा रहेको रहस्य बाहिर आएको थियो । अहिले पनि पैतृक सम्पत्ति बाँडफाँटको विषयमा दाजूभाइबीच देखिएको विवाद कायमै छ ।
कसरी बाहिरियो अस्पताल दर्ता नभएको रहस्य ?
दाजूभाइबीच भएको सम्पत्ती बाँडफाँटपछि ज्योति भवन दुई भागमा विभाजन भएको थियो । ग्राण्डी सिटी अस्पताल सञ्चालन रहेको भवनको केही भाग दाजू पद्म ज्योतिको भागमा पनि पर्छ ।
सो भवनमा भाई रुप ज्योतिले भने घरभाडा नतिरी अस्पताल सञ्चालन गरेका थिए । भाईले भाडा नदिएपछि पद्मज्योतिले धेरैपटक म्याद दिएर आफ्नो भवन खाली गर्न आग्रह गर्दा पनि बाहानाबाजी गरेका थिए । त्यसपछि पद्म ज्योतिले भाडाका विषयमा प्रशासन गुहार्न पुगेका थिए ।
प्रशासन गुहार्दा समेत भाडाको समस्या समाधान नभएपछि पद्म ज्योतिले विज्ञप्ति नै जारी गरि आफ्नो भागको भवन खाली गर्न रुप ज्योतिलाई आग्रह गरेका थिए । त्यस्तै, हस्पिटलमा ठूलो रकम कर्जा र लगानीका विषयमा आफूलाई र बोर्डलाई समेत कुनै जानकारी नै नदिई अवैध रकमान्तर गरेको फेला पारेपछि अध्यक्ष ज्योतिले गत साउनमा रुप ज्योतिलाई पत्र समेत लेखेका थिए ।

भाई रुप ज्योतिले पनि एक विज्ञप्ति जारी गर्दै दाई पद्म ज्योति पनि सो अस्पतालको शेयरधनी भएको उल्लेख गरेका छन् । विज्ञप्तिमा उनले ‘आफैं साझेदार रहेको अस्पतालका विषयमा यस्तो विज्ञप्ति जारी गरेकोमा अस्पतालले खेद प्रकट गर्दछ’ भनी उल्लेख गरेका छन् । तर, पद्म ज्योतिले भने सो रुप ज्योति र मिला सायमीद्वारा सञ्चालित हस्पिटलमा आफू र आफ्नो परिवारका कुनै पनि सदस्यको संलग्नता नरहेको स्पष्ट पारेका छन् ।

ज्योति समूहभित्रका दुई ठूला कम्पनी स्याकार ट्रेडिङ कम्पनी (एसटिसी) र नेपाल जनरल मार्केटिङ (एनजिएम) बाहेक अन्य सबै कम्पनीमा शेयर साझेदार र लगानीको ढाँचा लगभग एउटै जस्तो छ । हिरो र होण्डा एक आपसमा छुट्टिएको वर्षाैं भइसक्यो ।
होण्डा मोटर साइकलको अधिकृत बिक्रेता स्याकार ट्रेडिङमा पद्म ज्योतिका छोरा सौरभ ज्योति र सुहृद ज्योति शेयरधनीका रुपमा रहेका छन् । त्यस्तै, हिरोको अधिकृत बिक्रेता नेपाल जनरल मार्केटिङमा रूप ज्योतिका शेयरधनी छोरा अभिक ज्योति तथा छोरी सुरुचि ज्योतिले सञ्चालन गरिरहेका छन् ।

स्थापनादेखि अहिलेसम्म विवादै विवाद
ज्योति भवन, कान्तिपथमा सञ्चालनमा रहेको ग्राण्डी सिटी हस्पिटल सन् २०१३ मा काठमाडौँको धापासीमा रहेको ग्राण्डी इन्टरनेशनल हस्पिटलको शाखाको रूपमा सञ्चालनमा आएको थियो । तर सञ्चालनको केही समयपछि अस्पतालका सञ्चालकहरू बीचको विवादपछि सो हस्पिटलसँग छुट्टिएर ‘ग्राण्डी सिटी हस्पिटल’का नामले सञ्चालनमा आइरहेको छ ।
स्थापनापछि सञ्चालकहरु बीच मतभेद आएपछि नामै परिर्वतन भएर सञ्चालन भएको थियो । नाम परिर्वतन भएर सञ्चालनमा आए पनि दाजुभाइबीचको सम्पति विवादले घरभाडा नतिरेको भन्दै प्रशासन विवाद झेल्दै आएको छ ।
घरभाडाको विवाद चुलिँदै जाँदा अर्को रहस्य बाहिर आएर अस्पतालको वैधानिकतामाथि नै प्रश्न उत्पन्न भएको हो । यसरी विभिन्न विवादै विवादका बीच अस्पताल सञ्चालन भइरहेको छ । तर यस विषयमा सरकार र नियमनकारी निकाय समेत मौन रहेको देखिन्छ ।
विभिन्न सञ्चार माध्यममा बिना दर्ता अस्पताल सञ्चालन भएको उजुरी बाहिर आए पनि यस विषयमा अस्पताल प्रशासन भने हालसम्म मौन देखिन्छ । यसले अस्पतालको वैधानिकतामाथि नै प्रश्न चिह्न खडा भएको छ । यो विषयमा सरकारी निकाय समेत मौन देखिनु रहस्यमय विषय बनेको छ ।































प्रतिक्रिया