चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन

चीनमा कोरोना भाइरसले ज्यान गुमाएकाको सम्झनामा काठमाडौँमा दीप प्रज्वलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

चीनको वुहान शहरमा कोरोना भाइरसका कारण मंगलबारसम्म एक हजार ११५ जनाले ज्यान गुमाइ सकेका छन् । हजारौँ कोरोनाको भाइरसबाट सङ्क्रमित छन् । सो शहरका मानिस कोरोनाको सङ्क्रमणसँग लडिरहेका बेला कोरोना भाइरसको महामारीले विश्व जगतको ध्यान तानेको छ ।

चीनले आफ्ना नागरिकलाई अन्य मुलुक जानमा रोक लगाएको छ । अन्य देशबाट चीनमा गई बसोवास गर्दै आइरहेकाहरु धमाधम स्वदेश फर्किरहेका छन् । कोरोनाबाट ज्यान गुमाएका व्यक्तिको सम्झनामा बुधबार काठमाडौँमा दीप प्रज्वलन गरियो । मन्त्री, सांसद, नेपालका लागि चिनियाँ राजदूत, कलाकार, पत्रकार तथा सर्वसाधारणको बाक्लो उपस्थितिमा दीप प्रज्वलन गरिएको हो ।

ट्रान्स हिमालय डेभलपमेन्ट सेन्टरले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा कलाकार, साहित्यकारले कोरोनाविरुद्धको अभियानमा चीनलाई परेको विपत्तिमा ‘हामीसँगै छौँ’ भन्दै गीत, कविता पस्किए । आफ्नो देशमा परेको सङ्कटप्रति नेपालले देखाएको सहानुभूतिबाट राजदूत होउ यान्छी भावुक देखिन्थिन् ।

कलाकारका गीत र मर्मस्पर्शी कविताले दर्शकदीर्घाबाट बारम्बार ताली बर्सियो । राजदूत यान्छीले पनि तालीमा साथ दिइन् । विद्यार्थीले सामूहिक गीत प्रस्तुत गरे । कलाकार आनी छोइङ डोल्माको गीत र कवि बलराम दाहालको कविताले सबैलाई मन्त्रमुग्ध बनायो । हास्य कलाकार मनोज गजुरेलले कविताबाट सामाजिक सञ्चालमा कोरोना भाइरसबारे भइरहेका अनावश्यक हल्लाले मानिसमा त्रास उत्पन्न गरेको बताए।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले मित्रराष्ट्र चीनमा परेको सङ्कट समाधानमा नेपाल सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताइन्। “चीनले अत्याधुनिक प्रविधिको प्रयोगमार्फत कोरोना भाइरसको सङ्कटलाई धेरै हदसम्म कम गर्न सफल भएको छ”, उनले भनिन्, “नेपालको विपत्तिमा पटक–पटक सहयोग गर्दै आइरहेको चीनलाई परेको विपत्तिमा नेपाल सक्दो सहयोग गर्न तयार छ ।”

मन्त्री अर्यालले चीनमा रहेका नेपाली विद्यार्थीसँग सरकार सम्पर्कमा रहेको भन्दै अहिलेसम्म कुनै पनि नेपाली विद्यार्थीमा कोरोनाको सङ्क्रमण नदेखिएको बताइन् । उनले सरकार नेपाली विद्यार्थीलाई स्वदेश फिर्ता ल्याउने अन्तिम तयारीमा रहेको जानकारी दिइन् ।
रासस

Skip This
Skip This
Logo