काठमाडौं ।
वर्ष २०२० यस्तो वर्ष हो जुन भविष्यमा सायद बिर्सन सकिदैन । वास्तवमा वर्ष २०२० कोरोनाका कारण एकदमै अशान्त वर्ष रह्यो । यो वर्ष संसारभरिका व्यक्तिहरुका लागि कष्टपूर्ण साबित भयो । यस वर्षले सिकाएको पाठ जुन हामीले कहिल्यै सोचेका थिएनौं । कोरोना महामारीले जीवनमा उथलपुथल ल्याएको छ । यस भाइरसले जीवनको गतिमा ब्रेक ल्याएको छ । जीवन दौडने क्रममा रोकियो । सबै जना आ–आफ्नो घरमै कैद भए । घरबाट बाहिर निस्किदा जीवन हत्केलामा मृत्युको सामना गर्नुपर्यो ।
कोभिड १९ नियन्त्रणका लागि विश्वका अधिकांश देशमा लकडाउन गरियो यसलाई सबैजनाले राम्रोसँग पालना गरे । मानिसहरु कैदी जसरी आफ्नै घरमा लामो समय कैद भए । यो अनुभव एकदम फरक थियो ।
कोरोनाले हामी सबैको जीवनलाई पूर्णरुपमा परिवर्तन गर्याे । वर्ष २०२० मा कोरोनाबाट दिनचर्यामा धेरै परिवर्तनहरु आए। मानिसहरुको जीवनशैलीलाई ठूलो प्रभाव पारेको छ । कोरोना युग एकदम गाह्रो छ तर पनि यी सबै खराब परिस्थितिका बाबजुद पनि केही राम्रो पाठ सिकाएको छ ।
यस्ता छन्, कोरोनाले परिवर्तन गरेका जीवननशैली र हामीलाई सिकाएका महत्वपूर्ण कुराहरु :
१. स्वास्थ्यको महत्व
कोरोना भन्दा पहिले हामी सायद एकछिन बसेर आफ्नो स्वास्थ्यको बारेमा सोच्ने गर्दैनथ्यौं । सबैले सोच्थे त केवल जीवनको गति कसरी चलाउने ? कसरी सफलताको शिखरमा पुग्ने, कसरी धेरै पैसा कमाउने इत्यादी । तर, यो कोरोना काल खण्डले स्वास्थ्य भन्दा बहुमूल्य चीज संसारमा केही रहेनछ भन्ने पुष्टि गरेको छ । कोरोनाका कारण मानिसहरुले आफ्नो स्वास्थ्यको हेरचाह गर्न कत्तिको महत्वपूर्ण छ भनेर राम्ररी बुझ्न सकेका छन् । मानिसहरुले यदि आफू स्वस्थ रह्यो भने जीवनका सबै कठिनायीहरु सजिलै सामना गर्न सकिने कुरा बुझे । एउटा भनाई छ ‘स्वस्थ मनको वास स्वस्थ शरीरमा हुन्छ’ । त्यसकारण स्वास्थ्यलाई वेवास्ता गर्नु हुँदैन ।
२. थोरै स्रोतसँग खुशी
हामी आफ्नो आवश्यकता पूरा गर्नका लागि दिन रात मेहनत गरिरहन्छौं । तर हाम्रो आवश्यकता कहिल्यै कम हुदैन, बरु हरेकदिन बढ्दै जान्छ । तर, कोरोनाले हामीलाई कम स्रोतहरुमा पनि खुशी हुन सिकाएको छ ।
३. एक अर्काका लागि समय
कोरोना भन्दा पहिले मानिसहरुसँग एक अर्काको दुःख–सुख बझ्ने समय थिएन । घरमा हरेक चोटी एक अर्काको लागि समय छैन भनेर गुनासो हुने गथ्र्यो । तर, कोरोना महामारी फैलिएसँगै लकडाउन गरियो त्यसपछि मानिसहरुले आफ्नो समय घरमा बिताउन थाले । त्यसपछिका दिनहरुमा मानिसहरुले परिवारको साथ राम्रो र गुणस्तरिय समय बिताउन थालेका छन् । त्यस्तै एक अर्काको गुनासो बुझ्न थालेका छन् एक अर्कालाई अझ नजिकबाट चिन्ने मौका पाएका छन् । साथै, परिवारसँगको सम्बन्धलाई पहिलेको भन्दा धेरै बलियो बनाइरहेका छन् ।
४. एक अर्काको दुःख महसुस गरे
कोरोना कालमा मानिसहरुले एक अर्काको दुःख महशुस गरिरहेका छन् । त्यसैले यस समयमा एक अर्काको दुःख बुझ्न र एक अर्कालाई मद्दत गर्नका लागि मानिसहरु अगाडि आइरहेका छन् । यस्तै सम्बन्धको महत्व बुझेर मानिसहरु एक अर्काको समस्यामाथि विजय हासिल गर्न अघि बढिरहेका छन् ।
५. घरबाट काम गर्न सिकिने संस्कृतिको विकास
हाम्रो देशमा घरबाट काम गर्न असम्भव मानिन्थ्यो । अफिस नगई घरबाट कसरी काम गर्न सकिन्छ ? यो सोचाई कोरोना काल भन्दा अघि थियो । तर, कोरोना युगमा घरबाट काम गर्न गाह्रो भन्दा पनि राम्रो विकल्पको रुपमा देखा परेको छ । अधिकांश मानिसहरु अझै पनि आफ्नो घरबाट काम गरिरहेका छन् । साथै राम्रो प्रदर्शन समेत दिइरहेका छन् । यसबाट यो अनुमान गर्न सकिन्छ कि घरबाट कामको संस्कृति पनि सफल हुन सक्छ ।
६. अनलाइन कक्षा
कोरोना युग भन्दा पहिले कुनै स्कुल नगई पढाइएको बारेमा कसैले सोचेको थियो ? तर कोरोना युगमा बच्चाहरुले अनलाइन अध्ययन गरिरहेका छन् । शिक्षक र विद्यार्थीहरुले अझ राम्रो तरिकाले उनीहरुको काम पूरा गरिरहेका छन् ।
७. योग तिरको लगाव
कोरोना अवधिमा स्वास्थ्यप्रति कति सतर्क रहनु पर्छ भन्ने कुरा कसैबाट लुकेको छैन । मानिसहरु जो कोरोना अवधि भन्दा पहिले आफ्नो स्वास्थ्यको बारेमा वीरलै चिन्तित थिए । तर कोरोनापछिका दिनहरुमा मानिसहरु योग र प्राणायामलाई दैनिक रुपमा आफू फिट रहनका लागि समावेश गरिरहेका छन् । ताकि आफू स्वस्थ र निरोगी रहन सकुँ ।
८.घरमै व्यायाम
कोरोना भन्दा पहिले मानिसहरु फिट रहन जिम गएर घण्टौं पसिना बगाउँथे । तर, कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउनमा जिम जान पनि अनुमति थिएन । त्यसैले जिम महिनौंसम्म बन्द रह्यो । जसले गर्दा मानिसहरुले घरमै व्यायाम गर्ने समय निकाले र आफूलाई फिट राख्न कडा मेहनत गर्न थाले ।
९. घरको काममा सहयोग
वास्तवमा कोरोनाले दिनचर्यामा धेरै परिवर्तन भएको छ । कार्यालय काम होस् या घरको काम हो । बर्षाैंदेखि घरभित्रको कामको जिम्मेवारी घरका महिलाहरुले मात्र सम्हाल्दै आएका थिए । तर कोरोनापछि भने घरका अन्य सदस्यहरुले पनि घरको काम समान रुपमा मिलीजुली गरिरहेका छन् । घरको काम पति र पत्नी दुबै मिलेर गरिरहेका छन् । उनीहरु दुबैले कार्यालय र घरको काम व्यवस्थित तरिकाले गरिरहेका छन् ।
१०. नमस्ते संस्कारको बिस्तार
अहिले मानिसहरु हात मिलाउनु तथा अंगालो मार्नुको सट्टा नमस्कार वा नमस्तेमा अधिक जोड दिइरहेका छन् । विशेषज्ञहरुले समेत हात मिलाउने बानीबाट टाढा रहन सल्लाह दिएका छन् । कोरोना भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले हातले भाइरस फैलाउने उच्च जोखिम रहने भएकोले विश्वभर नमस्ते संस्कारको बिस्तार भएको छ ।
११. सरसफाईमा विशेष ध्यान
कोरोना भन्दा पहिले पनि मानिसहरुले सरसफाईमा ध्यान दिन्थे तर, कोरोना अवधिमा सरसफाईलाई अझै विशेष प्राथमिकतामा राखिएको छ । घर बाहिरबाट ल्याइएको तरकारी र फलफूलहरु पनि सफा गरेर मात्रै घर भित्र ल्याउँछौं ताकि हामी भाइरसबाट टाढा रहन सकौं । व्यक्तिगत सरसफाईको साथै घर र कपडाको स्वच्छतामा पनि राम्रो ध्यान दिइरहेका छन् । वास्तवमा, कोरोनाबाट जीवनशैलीमा धेरै परिवर्तन आएको छ ।
१२. बाहिरी सरसफाईको महत्व
हामी आफ्नो घरहरु दैनिक रुपमा राम्रोसँग सफा गर्ने गर्छौं तर सडकहरुलाई भने त्यति ध्यान दिदैनौं । सडकमा मानिसहरु फोहोर फाल्ने, थुक्ने गर्छन् र हामी सडकमा फोहोर फैलाउने काम गर्छौं । तर, कोरोना कालमा हामी यस कुरालाई मनन् गर्न सक्ने भएका छौं कि फोहोरले हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पार्दछ । त्यसैले मानिसहरुले यसलाई बुझ्न थालेका छन् र घर बाहिर समेत हेरचाह साथै सरसफाई गर्न थालेका छन् ।
१३. अप्ठ्यारोमा परेकाहरुलाई मद्दत
हामी अहिले मानवता हराएको संसार भनेर भन्ने गर्छौं । तर, कोरोनाले मानिसहरुमा मानवता देख्न पाइएको छ । मानिसहरुले अप्ठ्यारोमा परेकाहरुलाई सहयोग गर्न चुकेका छैनन् । यस समय बेरोजगार र गरीब वर्गको सहयोगमा सरकार बाहेक व्यक्तिगतरुपमा सहयोग गर्नेहरुको जमात पनि ठूलो रुपमा देखिएको छ ।
१४. छिमेकीसँगको आत्मियता
व्यस्त दिनचर्याका कारण आफ्नो छिकेकीसँग कुराकानी गर्न, एकअर्काको सुख–दुःख साटासाट गर्न धेरै गाह्रो हुन्थ्यो । सबैजना आफैं व्यस्त हुन मन पराउँथे तर, कोरोनाले वरपरका आफ्ना छिमेकीसँग टाढैबाट भएपनि आ–आफ्नो हालचाल आफ्नो खबर सोधिरहेका छन् ।
१५. अनलाईन सपिङको महत्व
कोरोना संक्रमणबाट बच्न सामाजिक दूरीको ख्याल राख्दै मानिसहरुले घरबाट बाहिर जान उचित ठान्दैनन् । त्यसैले मानिसहरु सकेसम्म घरमै बसेर आफूलाई आवश्यक पर्ने सामानहरु अनलाइनबाटै लिन थालेका छन् । यसरी मानिसहरु अहिले अनलाइन सपिङ गर्न रुचाउन थालेका छन् ।
१६. स्वास्थ्यकर खानालाई बढी महत्वपूर्ण
कोरोना फैलिनु भन्दा अघि धेरैजसो मानिसहरु घरको खाना भन्दा बाहिरी खाना बढी मन पराउँथे । तर कोरोना आएपछि भने यस बानीमा धेरै परिवर्तन भएको छ । अहिले मानिसहरु घरको ताजा र पौष्टिक खाना खान बाहिरको खाना भन्दा बढी मन पराउँन थालेका छन् ।
१७. परिवारसँगको समय
अभिभावक वा बच्चाहरु जसले आफ्ना परिवारलाई पर्याप्त समय निकाल्न सक्दैनथे उनीहरुले अहिले आफ्नो परिवारसँग राम्रो समय बिताइरहेका छन् । कोरोनाले परिवारसँग समय बिताउन कति महत्वपूर्ण छ भनेर सिकाएको छ । यसले मजबुद सम्बन्ध र सम्बन्धहरुमा सकारात्मक परिवर्तन समेत आएको छ ।
१८.पहिरनमा परिवर्तन
कोरोना भाइरसका कारण मानिसहरु घरबाट काम गर्न थाले, यसको प्रभाव पहिरनमा पनि देखियो । कार्यस्थलमा जान नपरेपछि मानिसहरुले औपचारिक पोशाकको सट्टा आरामदायक कपडा लगाउँन थालेका छन् । महिलाहरुले पनि आफ्नो पहिरनमा त्यति ध्यान दिएका छैनन् । कपडा किन्नमा समेत त्यति ध्यान दिएका छैनन् ।
१९. मास्क महत्वपूर्ण
फेस मास्क हाम्रो जीवनशैलीको एक हिस्सा भएको छ । हामी घरबाट बाहिर निस्किदा जसरी आफ्नो मोबाइल चेक गर्छौं । अथवा अन्य कुनै महत्वपूर्ण सामानहरु चेक गर्छौं, अहिले मास्क पनि त्यही सूचीमा समावेश भएको छ ।
२०.नयाँ रेसिपीहरुको क्रेज
मानिसहरु जंकफुड धेरै मन पराउँथे । अहिले मानिसहरु बाहिरबाट ल्याएको खानेकुरा चाख्न पनि सोच्न बाध्य भएका छन् । त्यसैले घरमै विभिन्न प्रकारका व्यञ्जनहरु बनाइरहेका छन् । मानिसहरुले नयाँ नँया रेसिपीहरुको लागि इन्टरनेटमा पनि धेरै खोजी गरिरहेका छन् । भान्साबाट टाढा रहने मानिसहरु पनि कोरोनाले शेफको रुपमा देखा पर्दैछन् ।





























प्रतिक्रिया