काठमाडौं ।
स्वास्थ्यकर्मीले कोरोना भाइरस फैलिन नदिन चीनबाट स्थलमार्ग भएर नेपाल भित्रिने सर्वसाधारणमाथि निगरानी गर्ने भएका छन् । हालसम्म हवाईमार्ग प्रयोग गरेर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिँदै आएकोमा अब चीनसितको सीमा नाकामा आवतजावत गर्नेमाथि निगरानी गरिनुका साथै सीमामा उच्च सतर्कता अपनाइने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा विहिबार आयोजित पत्रकार सम्मेलनमा सो मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनसितको सीमा नाका रसुवाको रसुवागढी र सिन्धुपाल्चोकको तातोपानी भएर नेपाल भित्रिने नागरिकमाथि निगरानी गरिने जानकारी दिए । “अहिलेसम्म त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर आउनेमाथि निगरानी गर्दै थियौँ, अब चीनसितको सीमा नाकामा सतर्कता अपनाउँछौँ”, उनले भने । ती दुवै ठाउँमा ‘हेल्थ डेस्क’ स्थापना गर्न लागिएको प्रवक्ता श्रेष्ठको भनाइ छ ।
स्वास्थ्यसेवा विभाग, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधिसहितको टोली रसुवागढी र तातोपानी नाकामा जान लागेको छ । डा अमृत पोखरेल नेतृत्वको टोली रसुवागढी तथा डा गुणनिधि शर्माको नेतृत्वमा तातोपानीतर्फ शुक्रबार टोली जान लागेको उनले जानकारी दिए। सो चिकित्सक टोलीले दुबै नाकामा सुरक्षा निकाय, भन्सार, स्थानीय तहका प्रतिनिधि तथा सरोकारवाला निकायसित छलफल तथा सचेतना कार्यक्रम सञ्चालन गर्नेछ । “हाम्रो पहिलो प्रयास कोरोना भाइरसको प्रकोपबारे जानकारी गराउने हो, रोग फैलिनु अघि सबैलाई सचेत पार्ने हो”, प्रवक्ता श्रेष्ठले भने । कोरोना भाइरसको प्रकोप फैलिन नदिन सतर्क हुन उनले सबैलाई आग्रह गरे ।
“चाँडै नै प्राविधिक तथा विज्ञसहितको समिति बनाउँदैछौैँ”, उनले भने, “अस्पताललाई तयारी अवस्थामा राखेका छौँ ।” मन्त्रालयले नियमित रुपमा छलफल गरिरहेको उनले जानकारी दिए । बेइजिङस्थित चिनियाँ राजदूतावाससित नियमित सम्पर्क तथा आवश्यक परामर्श गरिरहेको श्रेष्ठले बताए। “वहान प्रान्तमा अध्ययनरत विद्यार्थीले नेपाल फर्किन दूतावासमा सम्पर्क गरिरहेको कुरा जानकारीमा आएको छ”, उनले भने, “अहिले नै घर फर्काइहाल्ने अवस्था छैन ।”
आवश्यकता परेको खण्डमा सरकारले सबै प्रक्रिया अपनाउने श्रेष्ठले उल्लेख गरे । यसबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मात्रै सबैथोक गर्न नसक्ने र सबैसँगको समन्वयमा आवश्यक काम कारवाही गरिने उनको भनाइ थियो । “चीनमा दशौँ हजार विद्यार्थी छन्, अहिले नै नेपाल फर्काइ हाल्ने अवस्था छैन”, श्रेष्ठले भने ।































प्रतिक्रिया