काठमाडौं ।
सरकारले कोभिड १९ का कारण बन्द भएका विद्यालयहरु खुल्ला गर्न अनुमति दिएको छ । आइतबार बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्चस्तरिय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति) को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई बन्द गर्न सक्ने अधिकार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रलाई दिएर हाललाई खुल्ला गर्ने निर्णय गरेको हो । अब, स्वास्थ्य मापदण्ड पूरा गरेर विद्यालयहरू खोलिने छन्, विद्यार्थीहरू लामो समयपछि विद्यालय आएर पढ्न पाउँनेछन् ।
कोरोना भाइरस संक्रमणदर न्यूनिकरणका लागि भन्दै नेपालमा पहिलो पटक गरिएको लकडाउन सँगै नेपालको शैक्षिक गतिविधी सुस्ताएको थियो । पछि सरकारले नै साउन १ गतेबाट वैकल्पिक तथा इन्टरनेटमार्फत अनलाइन शिक्षा प्रणालीमार्फत पठन पाठन सुरु गरेको थियो तर, यो प्रविधि नेपालको परिवेशमा उति सुहाँउदो नहुँदा प्रभावकारी बन्न सकेको छैन ।
यसरी विद्यालय तथा शैक्षिक क्षेत्रमा देखिएको असरलाई मूल्यांकन गर्दै विद्यालय खोल्ने निर्णय गरिएको हो । तर, कोरोना जोखिम कायमै रहँदा भौतिकरूपमै विद्यालय खोल्ने निर्णय कतिको सान्दर्भीक र सुरक्षित छ भन्ने विषयमाथि भने सरकारले त्यति ध्यान नपुर्याएको देखिन्छ ।
यस सन्दर्भमा अभिभावक र जनस्वास्थ्य विद्हरूले पनि पर्याप्त ध्यान नपु¥याइ गरिएको निर्णय भएको बताएका छन् । विश्वभा नयाँ प्रकारको कोभिड–१९ को लहर देखिँदै गर्दा, हतारोमा विद्यालय खोल्ने निर्णय गर्न नहुने जनस्वास्थ्यविद्हरूको भनाई छ । यदि भौतिकरूपमै विद्यालयहरू खुल्ला गर्दा जाडो मौसमका कारणले पनि कोभिडको नयाँ लहर सुरु हुन सक्ने जनस्वास्थ्यविद्हरूको भनाई छ । यस सम्बन्धमा जनस्वास्थ्यविद् तथा सरुवारोग विशेषज्ञ शेरबहादुर पुन भन्छन्, ‘कोभिडको नयाँ लहर आइरहेको र जाडो मौसम पनि भइरहेकाले जनस्वास्थ्यका हिसाबमा अहिले नै विद्यालय खोल्नु जोखिमयुक्त नै छ ।’ कोरोना असरका कारण शैक्षिक क्षेत्रमा देखिएको प्रभावका बीच अधिकतम स्वास्थ्य मापदण्डका साथ विद्यालय चलाउन विशेषज्ञ पुनको आग्रह छ ।
यस सम्बन्धमा केही अभिभावक तथा निजी विद्यालयहरूको छाता संगठन प्याब्सनले भने सरकारको निर्णय स्वागतयोग्य ठहराएको छ । यस विषयमा निजी विद्यालयको छाता संगठन प्याब्सनका सह–अध्यक्ष डिके ढुंगाना भन्छन्, ‘सावधानीसहित विद्यालय खुल्ला गर्ने सरकारको निर्णय स्वागत योग्य छ ।’ उनले अब, सबै निजी विद्यालयहरूले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिने पनि जानकारी दिए ।
यस्तै प्रिमियर इन्टरनेशनल स्कुलकी अध्यक्ष पवित्रा लिम्बुले पनि अब औपचारिक रुपमा विद्यालय खुल्ने कुरा सुखद् रहेको बताईन् । लामो समयदेखि विद्यार्थीले राम्रोसँग पढ्न नपाईरहेको अवस्थामा अब, स्वास्थ्य मापदण्ड अपनाएर पठन पठन सुरु गर्ने पनि बताईन् ।





























प्रतिक्रिया