- प्रसुन संग्रौला, काठमाडौं ।
पहिलो केस
‘मलाई रातभरि निद्रा लाग्दैन थियो, दिमागमा नचाहिदा कुराहरू खेलिरहन्थ्यो, उज्यालो, भीडभाड केही मन पर्दैनथ्यो, एक्लै एउटा अँध्यारो कोठामा बसेर दिन बिताउँथेँ, आफूलाई यस्तो भएको देख्दा रातभरि रुन्थेँ, यस्ता खालको कैयाैं अस्वाभाविक कुराहरूले मलाई हरेक दिन सताउँथ्यो, निकै पीडा हुन्थ्यो । यो के भइरहेको छ, कसरी भइरहेको छ भन्ने प्रश्नले दुःख दिइरहन्थ्यो । बेला बेला आत्महत्या गर्ने सोच पनि आउँथ्यो । कहिलेकाहीँ डिप्रेसन भएको हो कि भनेर आफूले आफैँलाई सोध्थेँ । यो क्रम एक वर्षसम्म जारी रह्यो । केही समयपछि डाक्टरसँग सल्लाह लिएँ । त्यसपछि आफूलाई एन्जाइटी भएको रहेछ भन्ने थाहा भयो ।’ एक एन्जाइटी पीडितले बताइन् । उच्च शिक्षा अध्ययनका लागि विदेशमा एक्लै बस्न थालेपछि एन्जाइटी हुन थालेको उनको बुझाइ छ ।
दोस्रो केस
अर्का एकजनाले सुनाए, ‘४, ५ महिना अगाडिको कुरा हो मलाई स–सानो कुरामा डर र चिन्ताको महसुस हुन थालेको थियो । मुटु नै बाहिर निस्केलाजस्तो हुन्थ्यो । जस्तोसुकै कुरालाई पनि लामो समयसम्म सोच्ने बानी परेको थियो । त्यसले गर्दा झन धेरै चिन्ता बढ्थ्यो र तनावमै बसेर दिन बित्थ्यो । कहिलेकाहीँ त एक्कासि अब म बाँच्छु कि बाँच्दिन भन्ने लाग्थ्यो, मनमा प्रश्न उठ्थ्यो ।’ विदेश अध्ययनका लागि आफ्नो परिवार, आफन्त र साथीहरूलाई छाडेर आउनु परेपछि भएको हो भन्ने उनको बुझाइ छ ।
माथिका दुईवटै केस हेरेर के बुझन सकिन्छ भन्ने आफ्नो परिवार तथा नजिकको मान्छेवाट लामो समयका लागि टाढा हुनुपर्दा पनि एन्जाइटी हुनसक्छ । एक अध्ययन अनुसार शारीरिक तथा मानिसक तनावबाट हुने दवाबलाई सही हिसाबले नियन्त्रण गर्न सकिएन भने एन्जाइटी हुने सम्भावना प्रबल हुन्छ, यो एक किसिमको डर हो । यस किसिमको डर प्रायः पहिलोपल्ट विद्यालय जानुअघि, जगिरको लागि अन्तर्वार्ता दिने समयमा र भीडका अगाडि पहिलो पल्ट बोल्नु पर्दा हुने गर्छ । यस किसिमको डर लामो समयसम्म भइरह्यो भने त्यसलाई एन्जाइटी डिसअर्डर भनिन्छ र यसको कारणले मानिसहरूमा डिप्रेसन पनि हुन्छ ।
एन्जाइटी हुँदा अनावश्यक कुराको डर लाग्ने, मनमा जथाभावी कुराहरू खेल्ने, मुख सुक्ने, टाउको दुख्ने र प्रेसर बढ्नेजस्ता समस्या देखा पर्ने मनोविद् गोपाल ढकालले बताए । एन्जाइटीवाट पीडित भएकाहरूलाई चाहिनेभन्दा बढी रिस उठ्ने र जुनसुकै कुरामा झर्को लाग्ने समस्या पनि हुन्छ ।
एन्जाइटी एन्ड डिप्रेसन एसोसिएसन अफ अमेरिकाको (ए डी ए ए) को एक तथ्यांक अनुसार एन्जाइटी डिसअर्डर अमेरिकामा सबैभन्दा धेरै हुने मानसिक रोग हो । उक्त तथ्यांकले अमेरिकामा करिब ४० मिलियन व्यक्तिहरूलाई एन्जाइटी छ भन्ने देखाउँछ । यो विशेष गरी १८ वर्षभन्दा माथिकालाई हुने गरेको छ भन्ने कुरा पनि उल्लेख गरिएको छ । हरेक वर्ष १८ दशमलव एक प्रतिशत जनसंख्यामा एन्जाइटी देखा पर्ने कुरा पनि तथ्यांकले देखाएको छ ।
ए डी ए एका अनुसार व्यक्तित्व, अनावश्यक चिन्ता, वंशाणुगत समस्या, मस्तिष्क स्थिर नहुँदा र केही घटनाहरूको कारणले एन्जाइटी हुने सम्भावना हुन्छ । एन्जाइटी महिलाहरूमा बढी देखिएको छ । उनीहरू ससाना कुराहरूमा पनि चिन्ता मान्ने, डराउने र धेरै सोच्ने भएकाले यसको सिकार हुन्छन् भनेर ढकालले बताए । त्यस्तै यो रोग मादक पदार्थ सेवन गर्नेहरूमा पनि धेरै देखिन्छ । एन्जाइटी बालकदेखि वृद्धसम्म जो कोहीलाई हुन सक्छ । यो कति समयका लागि हुन्छ भनेर अनुमान गर्न सकिन्न कसैलाई थोरै समय सम्मको लागि हुन्छ भने कसैलाई निकै लामो समयका लागि पनि हुनसक्छ । यो कुरा मानिसको व्यक्तित्व, जीवनशैली, परिवारिक स्थिति आदिमा पनि निर्भर हुन्छ ।
एन्जाइटीका प्रकार
मनोविद् ढकालका अनुसार एन्जाइटी एकै प्रकारको हुँदैन, यसका अनेक प्रकार छन् । विशेष गरी यो ४ किसिमको हुन्छ– सोसल एन्जाइटी, प्यानिक डिसअर्डर, अब्सेसिभ कम्पल्सिभ डिसअर्डर र जनरल एन्जाइटी डिसअर्डर । यसको पहिलो प्रकार हो सोसल अर्थात् सामाजिक एन्जाइटी, यो हुँदा मानिसहरूलाई बहिर कतै जान मन लाग्दैन, समाजमा घुलमिल हुन मन लाग्दैन, कसैसँग बोल्ने मन हुँदैन र एक्लै बस्न मन लाग्छ ।
त्यस्तै प्यानिक डिसअर्डर एन्जाइटी भएका व्यक्तिहरू धेरै आत्तिछन् । उनीहरूलाई सास फेर्न असहज हुने, अस्वाभाविक रूपमा पसिना आइराख्नेजस्ता समस्याहरूले सताइरहन्छ । त्यसैगरी अब म बाँच्छु कि बाँच्दिन भन्ने खालका प्रश्नहरू पनि उनीहरूमा उठिरहन्छ ।
ओ सि डी अर्थात अब्सेसिभ कम्पल्सिभ डिसअर्डर भएका व्यक्तिलाई ससाना कुरामा पनि चित्त बुझ्दैन । उनीहरू आफूूले गरेका सामान्य किसिमका कामहरूमा पनि शंका गर्छन् । उनीहरूले आफूूले हात धोइसकेपछि पनि मैले हात धोएँ कि धोइन, कतै ढोका लगाइसकेपछि पनि ढोका लगाएँ कि लगाइन भनेर आफैलाई मनमनै प्रश्न गरिरहन्छन् ।
यसैगरी जनरल एन्जाइटी डिसअर्डर, यस खालको एन्जाइटी हुँदा मानिसहरूलाई अनावश्यक डर लाग्ने, पेट दुख्ने र ढाड दुख्नेजस्ता समस्या हुन्छन् । यो कहिले हुन्छ, कसलाई हुन्छ र कति समयका लागि हुन्छ भन्नेबारे निश्चित रूपमा भन्न सकिन्न । यो दैनिक, मासिक वा वर्षमा एकपल्ट पनि हुन सक्छ । १५ देखि २० घण्टासम्म सक्रिय हुनसक्छ ।
सन् २०१७ मा इन्स्टिच्युट अफ हेल्थ मेट्रिक्स एन्ड इभ्यालुएसनले गरेको एक अध्ययन अनुसार संसारभर ७९२ मिलियन मानिस मानसिक रोगबाट पीडित छन् त्यसमध्ये २४८ मिलियन एन्जाइटीको सिकार छन् । उक्त तथ्यांकअनुसार एन्जाइटी हुनेमा १७९ मिलीयन महिला छन् भने १०५ मिलियन पुरुष ।
गरिबी र प्रायः परिवारको कारणले पनि एन्जाइटीको समस्या देखिन्छ । आफूूले सोचेको कुरा पूूरा नहुँदा, चाहेको कुरा नपाउँदा पनि एन्जाइटीको समस्या हुन्छ । देश छाडेर विदेश पढ्न वा रोजगारको लागि जाने र भनेको जस्तो पैसा, सेवा र सुविधा नपाउँदा पनि एन्जाइटीको समस्या देखिनसक्छ । एन्जाइटीकै कारण धेरैजना विदेशवाट फर्केको मनोविद् विष्णु प्रजापतीले बताए ।
डिप्रेसन र एन्जाइटीको सम्बन्ध
धेरै मानिसलाई डिप्रेसन र एन्जाइटीबीचको सम्बन्ध थाहा नहुन सक्छ, केहीले यी दुवै एउटै हुन् भनेर पनि बुझेका छन् तर यी दुुईमा निकै फरक छ । यी दुवै मानसिक समस्या नै हुन् तापनि एउटै होइनन् ।
मनोविद् ढकाल भन्छन्– एन्जाइटी भएको मान्छेलाई स–साना कुरामा डर लाग्छ, कसैसँग बोल्न मन लाग्दैन र एक्लै बस्न मन लाग्छ तर डिप्रेसनमा यस्तो हुँदैन, डिप्रेसनले मानिसलाई हरबखत निराश बनाउँछ । एन्जाइटीमा जस्तो डराउने आत्तिने समस्या डिप्रेसनमा हुँदैन । व्यक्तिलाई धेरै समयसम्म एन्जाइटी भयो भने ऊ डिप्रेसनको सिकार हुनसक्छ ।
विश्व स्वास्थ्य संगठनले डिप्रेसन र एन्जाइटी दुवैलाई मानसिक रोग भनि वर्गीकरण गरेको छ । नेशनल एलाइन्स अफ मेन्टल इलनेसले तयार गरेको रिपोर्ट अनुसार आत्महत्या गर्ने ९० प्रतिशत व्यक्तिहरूमा मानसिक रोगको लक्षण भेटिन्छ ।
एन्जाइटी हुने केही लक्षणहरू
एन्जाइटी एक्कासि हुने कुरा होइन, यसका केही लक्षणहरू हुन्छन् । समयमा निद्रा नलाग्ने अर्थात निदाउन गाह्रो हुने, ससाना कुरामा आत्तिने डराउने, सास फेर्दा असहज हुने, मुख सुक्ने, चक्कर लाग्ने र अस्वाभाविक हिसाबले मुटुको धड्कन बढ्ने आदि एन्जाइटीका मुख्य लक्षण हुन् ।
नेपालमा कस्तो छ अवस्था ?
नेपालमा करिब २० देखि २५ प्रतिशत व्यक्तिहरूलाई मानसिक रोगको समस्या छ भन्छन् मनोविद् प्रजापती । उनी भन्छन्– ‘तर यसलाई आधिकारिक तथ्यांक मान्न सकिन्न किनभने हाम्रो समाजमा धेरै मान्छे यस्ता छन् जो आफूू मानसिक रोगबाट पीडित भएको कुरा स्वीकार्न चाहँदैनन् । अझै पनि हाम्रो समाजमा कसैलाई मानसिक समस्या छ भने उसलाई बौलायो, पागल भयो भनेर हेप्ने गरिन्छ । यसले गर्दा उनीहरूलाई झन् पीडा हुन्छ र उनीहरू आफ्नो समस्याका विषयमा खुल्न चाहँदैनन् ।’
उपचार
प्रजापती भन्छन्– ‘एन्जाइटीको उपचारमा कसैलाई सामान्य काउन्सिलिङ गरिन्छ भने कसैलाई विशेष खालको साइकोसोसल काउन्सिलिङ आवश्यक पर्छ । प्रायः एन्जाइटी र डिप्रेसनका उपचारमा एउटै किसिमको औषधी प्रयोग गरिन्छ । डिप्रेसनको औषधीको डोज धेरै हुन्छ भने एन्जाइटीको थोरै ।’
हामीकहाँ यस्ता रोगहरूको उपचार नै हुदैन भन्ने भ्रम छ तर त्यो पूर्णतः गलत भएको ढकाल बताउँछन् । उनका अनुसार औषधीले कसैलाई चाडो असर गर्छ भने कसैलाई ढिलो ।































प्रतिक्रिया