निष्क्रिय हुनुहुन्छ ? रोग लाग्ला नि

निष्क्रिय हुनुहुन्छ ? रोग लाग्ला नि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

विलासी र निष्क्रिय जीवन यापन गरिरहेका सहरियालाई नसर्ने रोगको जोखिम बढेको छ। सन्तुलित भोजन र व्यायाम नगर्ने तर सुर्तीजन्य पदार्थ र मादक पदार्थ सेवन गर्ने व्यक्तिलाई उच्च रक्तचाप, हृदयघात, क्यान्सर, फ्याटी लिभर, मधुमेह, दम र मिर्गौलाको समस्या देखिएको चिकित्सकहरू बताउँछन्।

दाहिने कोखामा असाध्यै दुखेपछि यमनारायण शर्मा जँचाउन गए । अल्ट्रासाउन्ड गर्दा कलेजोमा बोसो जमेको देखियो। चिकित्सकले सोधे, ‘मदिरा सेवन गर्नुहुन्छ ? अब खानपान र व्यायाममा ध्यान दिनुस् ।’

४६ वर्षीय शर्मा अचेल मर्निङवाक जान थालेका छन्। उनले भने, ‘कलेजोमा बोसो (फ्याटी लिभर) को समस्या देखियो। व्यायाम नगरी सुखै पाइएन।’ वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा. अखिलेशकुमार कश्यपका अनुसार बसाइँ सरेर आउने र जागिरे जीवन बिताइरहेका सहरियाको कलेजो बिग्रन थालेको छ। घर बाहिर खानपान गर्ने र मदिरा सेवन गर्ने व्यक्तिमा कलेजोको समस्या देखिएको डा. कश्यप बताउँछन्।

वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पियाका अनुसार कलिलै उमेरमा क्यान्सर लागेका बिरामी अस्पताल धाउन थालेका छन् । सडकको धुलो, सवारीसाधन, इँटाभट्टाबाट निस्केको धुवाँ लगायतले सहरमा प्रदूषण बढेको छ। सानै उमेरमा धूमपान एवं मदिराको कुलतमा लाग्दा अधबैंसे अवस्थामै फोक्सोमा क्यान्सर लागेका बिरामीको संख्या बढेको डा. पिया बताउँछन्।

नेपालमा बर्सेनि तीन हजारको मिर्गौला फेल हुने गरेको छ। खानपान र जीवनशैलीकै कारण मिर्गौलामा समस्या आउने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले बताउँछन्। मिर्गौला रोगको लक्षण देखिँदैन। त्यसले यस्ता रोगीको संख्या बढिरहेका छन्। ३० वर्ष नाघेपछि नियमित स्वास्थ्य जाँच गर्नुपर्नेमा धेरैजनाले बेवास्ता गरिरहेको डा. काफ्लेको भनाइ छ। पानी पर्याप्त नपिउने, रातो मासु खाने र व्यायाम नगर्ने बानीले रोग बढाउँछ।
अन्नपूर्णबाट

Logo