‘भीआइपी र भीभीआइपी विदेश जाने प्रवृत्ति रोकेँ, अब सबै विकृती रोकिन्छ’ -मन्त्री बस्नेत

‘भीआइपी र भीभीआइपी विदेश जाने प्रवृत्ति रोकेँ, अब सबै विकृती रोकिन्छ’ -मन्त्री बस्नेत

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयमा रहेका विकृती सफागरी अराजकताको अन्त्य गर्न दुई वर्ष लाग्ने बताएका छन् ।

स्वास्थ्य सेवा दिवसको अवसरमा मंगलबार मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले आफ्नो मन्त्रालयमा रहेका विकृती र विसंगती सफा गर्न लागिरहेको उल्लेख गर्दै अझै दुई वर्ष समय लाग्ने बताए । उनले आफूलाई मन्त्रालयभित्रका कर्मचारीदेखि अस्पताल प्रशासनसम्मका निकायमा हुने गरेका सबै विकृतका बारेमा एक–एक जानकारी रहेको भन्दै थपे, ‘ठूला–ठूला अस्पतालहरुमा एक कार्यालय सहयोगी र अहेवले अस्पताल चलाइरहेको पाइन्छ । भिसीले काम गर्न सकेका छैनन् । डाक्टरहरु मिलेमत्तोमा छन् । यि सबै मैंले हेरिरहेको छु ।’

बरिष्ठ वा विशेषज्ञ डाक्टरभन्दा अहेवहरु मंहगा गाडी चढेर हिँडिरहेको भन्दै आक्रोश पोखेका बस्नेतले आफूलाई सबै थाहा भएर पनि किन कारबाही गर्नु भनेर चुप बसेको बताए । ‘मलाई एक एक थाहा छ । किन सबैलाई झ्याप हान्ने भनेर मात्रै हो । जहाँपनि विजोग मात्रै छ । अरु त अरु सरकारी अस्पतालकै फार्मेसीमा २० प्रतिशत औषधी बिरामीलाई दिइएको छैन् । ८० प्रतिशत भन्दा बढी औषधी बाहिर छ । स्टोरमा औषधी छ तर बिरामीले पाउँदैन’ मन्त्री बस्नेतले भने ।

सरकारी अस्पतालमा स्वास्थ्यकर्मीदेखि डाक्टर नर्सको अभाव, मन्त्रालयका कर्मचारीको कार्यव्यवहार र फार्मेसीहरुको अराजगतादेखि राजनीतिक हस्तक्षेपको फेहरिस्त सुनाएका उनले अझै मन्त्रालयमा अराजकता अन्त्य गर्न दुई वर्ष लाग्ने बताए । उनले भने, ‘स्वास्थ्य मन्त्रालयमा अराजक छ । यो मन्त्रालयको विकृति र विसंगतिलाई राफसाफ गर्न दुई वर्ष लाग्छ । अहिले केही हदसम्म राफसाफ भएको छ ।’

उनले मन्त्री र मन्त्रालयको कारण कर्मचारीहरुले दुःख पाइरहेको गुनासो गरे । कर्मचारी र प्रशासनतन्त्रले गरेका विकृति र विसंगतीहरुबारे आफू एकएक विषयमा जानकार रहेको र विस्तारै त्यसलाई सुधार गर्दै जाने बस्नेतको भनाई छ ।

उनले चिकित्सकहरुलाई विकट क्षेत्रमा सेवामा खटाउँदा आफूमाथि पक्षपात गरेको आरोप लागेको जिकिर गर्दै कर्मचारीहरुले भनेका मानिसहरुलाई काजमा पठाएमात्रै पक्षपात नहुने हो ? भन्दै प्रश्न गरे । उनले थपे, ‘म सँग काम गर्ने हुत्ति जति चाहिए पनि छ । कसैको प्रभावमा मलाई पर्नु परेको छैन् । हुत्ति नभएको भए आठसय कर्मचारीको काज फिर्ता गर्न सकिँदैन थियो । हुत्ति भएकाले पहिल्यै गर्न सकिन्थ्यो ।’

स्वास्थ्य क्षेत्रमा देखिएका गतल कार्यको विरुद्धमा आफू निरन्तर लागिरहेको बताएका उनले आफ्नै पालामा भिआईपी र भीभीआइपीले विदेश गएर उपचार गर्ने प्रवृतिको अन्त्य गरेको दाबी गरे ।

Logo