काठमाडौं ।
जाडो मौसम लागेसँगै चिसो बढेको बढ्यै छ । जाडो मौसममा प्राय हामी रोगको चपेटामा पर्ने गर्छौं । जसमध्ये एक रोग हो पिनास । पिनासले जाडो मौसममा विशेष गरी दुःख दिने गर्छ । शुरुमा रुघा लाग्छ र बेवास्ता गर्दै जाँदा त्यसले पिनासको रुपमा धारण गर्छ । जसले शारिरिक जटिलता निम्त्याउने गर्छ ।
के हो पिनास ?
नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ । यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ । साइनस अर्थात् पिनासको अर्थ प्वाल भन्ने हुन्छ । नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएपछि श्वास प्रश्वासमा बाधा पुर्याउने रोग हो, पिनास । हाम्रो शरीरमा अवस्थित अस्थिमय प्वालहरु हुन्छन्, जसको अन्तिम भाग नाकतिर खुलेको हुन्छ । यस्ता प्वालको भित्रि भाग म्युकसको पत्रले ढाकेको हुन्छ । यस्ता झिल्लि (म्युकस)मा कुनै कारणवश संक्रमण भएको अवस्थालाई नै पिनास अर्थात साईनोसाइटिस भन्ने गरिन्छ । साइनसहरूको इन्फ्लामेसन हुने भएकाले यसलाई ‘साइनोसाइटिस’ भनिन्छ । पिनास विशेषगरी रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थामा हुने गर्छ ।
अनुहारको हाडहरूमा हुने हावा भरिएका खाली भागहरू साइनस हुन्, जो साना–साना प्वालहरू, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरू सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई संक्रमण हुन्छ ।
बाहिरी वातावरणसँग नाकको सम्बन्ध सीधा र धेरै हुन्छ । मौसम परिवर्तन हुने बेला र चिसो वातवरणमा किटाणु बढी सक्रिय हुन्छन् । जसका कारण रुघाखोकी लागिरहने हुन्छ । त्यस क्रममा पिनास हुने सम्भावना बढी हुन्छ ।
जब वातावरणमा रुघा लगाउने किटाणु ज्यादा हुन्छन् तब ती नाकका प्वाल हुँदै साइनस (खोपिल्टो) सम्म पुग्छन् । कसैलाई रुघा लागिरहने एलर्जी छ र पटक–पटक रुघा लागिरहन्छ भने उसलाई पिनास हुन्छ । वातावरणीय एलर्जीले पनि रुघा लागिरहने हुन्छ र पछि गएर पिनास बन्छ ।































प्रतिक्रिया