कोशी प्रदेशका अस्पतालहरुमा रगतको चरम अभाव

कोशी प्रदेशका अस्पतालहरुमा रगतको चरम अभाव

केन्द्रबिन्दु
42
Shares

विराटनगर । कोशी प्रदेशका अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामीहरुलाई रगत अभाव भएको छ। तत्काल रगत चाहिने बिरामीले पाउन सकिरहेका छैनन्।

केही समययता कोशी प्रदेशभरकै अस्पताल एवम ब्लड बैंकहरुमा रगतको अभाव छ। सबै समूहका रगतको मौज्दात सकिएको प्रादेशिक रक्तसञ्चार सेवा विराटनगरका प्रमुख एवं रक्तसञ्चार सेवा अधिकृत शिवानन्द यादवले बताए।

उनका अनुसार रगतको अभावहुँदा दुर्घटनाका घाइते, शल्यक्रिया गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी, दीर्घ रोगी र नियमित रगत आवश्यक पर्ने बिरामीहरु मर्कामा परेका छन्। ‘स्वास्थ्य संस्थामा रगत आवश्यक पर्ने बिरामीको चाप बढ्दो छ। माग अत्यधिक छ,’ यादवले भने, ‘तर, आपूर्तिलाई सहज बनाउन सकिएन। सबैतिर अभाव खड्किएको छ।’

माग अनुसारको आपूर्ति गर्न नसक्दा रगतकै कारण बिरामीले सहज उपचार पाउने वातावरण नबनेको जानकारी उनले दिए। रगतको संकट टार्नलाई रक्तदानको नियमित व्यवस्थासमेत नभएको जानकारी यादवले दिए।

उनका अनुसार वैशाख लागेपछि संस्थागत हिसाबले रक्तदान हुन नसकेर रगत संकलनमा कमी भएको छ। बिरामीका आफन्त, सम्पर्कमा आएका व्यक्ति र स्वयंसेवी रक्तदाताबाट मुस्किलले रगतको व्यवस्था गर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ। प्रदेशमा दैनिक करिब दुई सय पिन्ट रगतको माग रहेको र आपूर्ति भने ५० प्रतिशतजति पनि हुन नसकेको उनले बताए।

‘कोशी प्रदेशमा १० वटाजति ब्लड बैंक छन्,’ यादवले भने, ‘सबैमा अभाव हुँदा रगतको माग धान्न मुस्किल परिरहेको छ।’ नियमित रगत चाहिने बिरामीले समेत पाउन नसकेको बताउँदै उनले आपूर्ति सहज बनाउने उपायको खोजी भइरहेको उल्लेख गरे। कोशी प्रदेशका स्वास्थ्य संस्थामा कोशीसहित मधेस प्रदेश र भारतबाट बिरामी आउँछन्।

बिरामीले रगतका लागि आफन्त, सम्पर्कमा भएका व्यक्ति र सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ। रगत अभावका कारण बिरामीलाई बचाउन मुस्किल परिरहेको यादव बताउँछन्। उनका अनुसार विभिन्न तीन सयजति संघ संस्थाले वार्षिक कार्यक्रम बनाएरै रक्तदान कार्यक्रम गर्ने गरेका छन्। तर, अहिले सार्वजनिक हिसाबले रक्तदान नभएका कारण पर्याप्त रगत उपलब्ध गराउन नसकिएको उनले बताए।

पछिल्लो समय रगतका लागि बिरामीले सुरक्षाकर्मीको भर पर्नुपर्ने अवस्था छ। रगतको संकट सुरक्षाकर्मीले टार्दै आएका छन्। कतै नपाएर आपत परेका बेला बिरामीका आफन्तले रगतका लागि सुरक्षाकर्मीलाई सम्झने गरेका हुन्। रगतको अपेक्षा गरेर बिरामीका आफन्त नेपाली सेना, नेपाल र सशस्त्र प्रहरीलगायतका निकायको सम्पर्कमा पुग्ने गरेका छन्। सुरक्षाकर्मीले रगत दिएर कतिपय बिरामीको ज्यान बचाइरहेका छन्। ‘रगत चाहियो भनेर धेरै फोन आउने गरेको छ,’ सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेल भन्छन्, ‘मिल्दोजुल्दो समूहको रगत भएकालाई तत्काल बिरामीका आफन्तको सम्पर्कमा पठाएर उपलब्ध गराउने गरिएको छ।’

विभिन्न अवसर पारेर पनि सुरक्षा निकायले रक्तदान कार्यक्रम गर्ने गरेको उनले बताए। एकै ठाउँमा ठूलो संख्या र समूहमा बस्ने भएकाले तत्काल पाउन सकिने हुँदा सुरक्षाकर्मीसँग सर्वसाधारणले रगतका अपेक्षा गर्ने गरेको पोखरेल बताउँछन्।

Logo