जाडोमा पिनासको समस्या अधिक : यसरी गर्नुहोस् पहिचान र निदान

जाडोमा पिनासको समस्या अधिक : यसरी गर्नुहोस् पहिचान र निदान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जाडो मौसम लागेसँगै चिसो बढेको बढ्यै छ । जाडो मौसममा प्राय हामी रोगको चपेटामा पर्ने गर्छौं । जसमध्ये एक रोग हो पिनास । पिनासले जाडो मौसममा विशेष गरी दुःख दिने गर्छ । शुरुमा रुघा लाग्छ र बेवास्ता गर्दै जाँदा त्यसले पिनासको रुपमा धारण गर्छ । जसले शारिरिक जटिलता निम्त्याउने गर्छ ।

के हो पिनास ?
नाकसँग जोडिएको हड्डी भित्र खोपिल्टो हुन्छ । यसलाई चिकित्सा विज्ञानमा साइनस भनिन्छ । साइनस अर्थात् पिनासको अर्थ प्वाल भन्ने हुन्छ । नाकको भित्री भागमा रहेका खाली ठाउँमा अवरोध भएपछि श्वास प्रश्वासमा बाधा पुर्याउने रोग हो, पिनास । हाम्रो शरीरमा अवस्थित अस्थिमय प्वालहरु हुन्छन्, जसको अन्तिम भाग नाकतिर खुलेको हुन्छ । यस्ता प्वालको भित्रि भाग म्युकसको पत्रले ढाकेको हुन्छ । यस्ता झिल्लि (म्युकस)मा कुनै कारणवश संक्रमण भएको अवस्थालाई नै पिनास अर्थात साईनोसाइटिस भन्ने गरिन्छ । साइनसहरूको इन्फ्लामेसन हुने भएकाले यसलाई ‘साइनोसाइटिस’ भनिन्छ । पिनास विशेषगरी रुघा बिग्रेर साइनसभित्र संक्रमण हुन पुग्ने अवस्थामा हुने गर्छ ।

अनुहारको हाडहरूमा हुने हावा भरिएका खाली भागहरू साइनस हुन्, जो साना–साना प्वालहरू, ओस्टियमको माध्यमबाट नाकको श्वासप्रश्वास मार्गसँग जोडिएका हुन्छन् । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ, अनि यी साइनसमा सिँगान भरिन्छ र त्यहाँका पातला झिल्लीबाट बनेका तहहरू सुन्निछ । जहाँ ब्याक्टेरिया एवं भाइरस विकसित भई संक्रमण हुन्छ ।

बाहिरी वातावरणसँग नाकको सम्बन्ध सीधा र धेरै हुन्छ । मौसम परिवर्तन हुने बेला र चिसो वातवरणमा किटाणु बढी सक्रिय हुन्छन् । जसका कारण रुघाखोकी लागिरहने हुन्छ । त्यस क्रममा पिनास हुने सम्भावना बढी हुन्छ ।

जब वातावरणमा रुघा लगाउने किटाणु ज्यादा हुन्छन् तब ती नाकका प्वाल हुँदै साइनस (खोपिल्टो) सम्म पुग्छन् । कसैलाई रुघा लागिरहने एलर्जी छ र पटक–पटक रुघा लागिरहन्छ भने उसलाई पिनास हुन्छ । वातावरणीय एलर्जीले पनि रुघा लागिरहने हुन्छ र पछि गएर पिनास बन्छ ।

पिनास हुनुको कारण
– प्रदुषित वातावरण, गलत खानपान र अव्यवस्थित जीवनशैली पिनासको प्रमुख कारकमध्ये पर्छ ।
– शारीरिक, मानसिक एवं भावनात्मक तनाव, ग्रन्थिको असन्तुलन, आवश्यकताभन्दा बढी खानाले पनि पिनासको समस्या निम्त्याउँछ । दुध र यसबाट बनेका परिकारहरुको बढी सेवन गर्नु ।
– त्यस्तै, नाकमा मासु पलाउनु, नाक, कान, दाँतको संक्रमण हुनु, यस्तै एलर्जी, दादुरा, निमोनिया, गोताखोरीको समस्याले पिनासको बाटो खन्ने काम गर्छ ।
–अत्याधिक पौडी खेल्दा, तापक्रममा अकस्मात परिवर्तन आउँदा, माथिल्लो श्वासमार्गको संक्रमण हुनु पिनास हुनुका कारण हुन् ।
– यसै गरी भाइरसको संक्रमण जस्तै– राइनो भाइरस, कोरोना भाइरस, इन्फ्लुएन्जा भाइरस, एडिनो भाइरस, प्यारा इन्फ्लुएन्जा भाइरस, इन्टेरो भाइरस आदि पनि पिनास हुने कारण हुन् ।
– त्यस्तै स्ट्रेप्टो कोकस निमोनी, हिमोफिलस इन्फ्लुएन्जा, मोराक्सेला क्याटार ह्यालिस स्टाफाइलो कोकस अरिएसजस्ता ब्याक्टेरियाका कारण पनि पिनास हुन्छ ।
– कमजोर प्रतिरक्षा प्रणाली, ढुसीको संक्रमण जस्तै– मधुमेहका रोगी, एड्स आदिका बिरामीमा ढुसीको कारणले हुने पिनास ज्यादा देखिन्छ ।
–पिनास हुने अर्को कारण हो, रोगसँग लड्ने शरीरको प्रतिरक्षा क्षमता कमजोर हुनु । यस्तो क्षमता कमजोर भएका व्यक्तिलाई रुघा लागिसकेपछि चाँडै निको हुँदैन । यस्ता बिरामीलाई एन्टिबायोटिकले पनि सजिलै काम गर्दैन र रुघाखोकी लम्बिएर संक्रमण साइनससम्म पुग्छ र यस्तो अवस्थामा पिनास हुन्छ ।
–नाकको हड्डी बांगो हुनु, नाकको डाँडी लामो भएका व्यक्तिहरूको नाकको हड्डी बांगो हुन्छ । यस्तो हड्डी जतापट्टि बांगो भएको हो, त्यतापट्टि नाकको प्वाल सानो हुन्छ । यस्तो प्वालबाट हावा आवतजावत राम्रो हुन सकेन भने किटाणु प्रवेश गर्छ र पिनास हुन्छ ।

पिनासका लक्षण
– शुरुमा नाकबाट पानी जस्तो पातलो सिंगान बग्नु । केहि दिन पछि सिंगान सेतो पहेलो हुनु । कहिलेकाँही सिंगानको रङ हरियो पनि हुनु ।
– नाक बुझिनु, शिरमा अत्यन्त पीडा हुनु, रिंगटा लाग्ने, नाक सुक्खा हुनु रुघा लाग्ने, टाउको भारी भएर दुख्ने, श्वासमा दुर्गन्ध आउनु, पिनासको ग्रन्थिको क्षेत्रमा दबाब दिँदा दुख्ने, स्वर परिवर्तित हुने, नाकको वरिपरि वा आँखाको ठीकमाथि पीडा हुने, दाँत दुख्ने, गन्ध ग्रहण शक्ति कमजोर हुने, स्वाद ग्रहण शक्ति कमजोर हुने, ज्वरो आउने, निरन्तर रुघा लाग्नु, बेचैनी बढ्ने, पिनासका लक्षण हुन् ।
– यसैगरी नाक तथा अनुहार वरिपरि सुन्निएको अनुभव हुनु, निरन्तर सिँगान बग्नु, नाकबाट दुर्गन्धित रक्तमिश्रित पहेँलो सिँगान आउनु, घाँटी खसखसाउने, थकान हुने, श्वास गन्हाउने, पटक–पटक हाच्छयुँ आउनु, नाक पछाडिबाट घाँटीमा केही बगिरहे जस्तो हुने, अनुहार सुन्निने आदि पनि पिनासका लक्षण हुन् ।
– नाकको बरपर गाला र निधारको प्वाल (साईनस)मा सिंगान जम्मा हुनु र यसले आँखा, टाउको, गाला दुख्नु ।
– श्वासप्रश्वासमा बाधा उत्पन्न हुनु र राती सुतेको बेला मुख पनि सुक्नु ।

पिनासका प्रकार :
क्रोनिक पिनास : लामो समयसम्म साईनस सुन्निरहनुको अवस्थालाई क्रोनिक साईनोसाईटिस भनिन्छ । यस्तो अवस्थामा कहिलेकाँही नाकबाट रगत मिसिएको सिंगान पनि आउन सक्छ ।
एक्युट पिनास : आँखाको अश्रुनलीबाट पनि बढी मात्रामा पानी बग्नु र अनुहार पनि सुन्निएको जस्तो हुनुलाई एक्युट पिनास भनिन्छ । मेक्सिलरि साईनस सुन्निएको हुँदा कुनै कुरा चपाउँदा पनि माथिल्लो दाँत दुख्ने समस्या हुन्छ ।
तीव्र पिनास : पिनास ग्रन्थिहरु एकाएक सुन्निएर प्रदाहात्मक हुने र चार हप्ताभित्र आफैं ठीक हुने पिनासलाई तीव्र पिनास भनिन्छ ।
मध्यम पिनास : चार हप्ताभन्दा ज्यादा तर १२ हप्तासम्म लम्बिने पिनासलाई मध्यम पिनास भनिन्छ ।
जीर्ण पिनास : १२ हप्ताभन्दा लामो समयसम्म रहने पिनासलाई जीर्ण पिनास भनिन्छ ।
आवर्तक तीव्र पिनास : लामो एक वर्षमा चार वा धेरैपटक दोहोरिने तीव्र पिनासलाई आवर्तक तीव्र पिनास भनिन्छ ।

पिनासबाट बच्ने उपाय :
तातो झोल पदार्थ प्रशस्त पिउने, तातो र न्यानो खाना खाने, चिसोबाट नाक, शिर र मुहारलाई प्रत्यक्ष बचाउने, दुग्धपदार्थ अत्यन्त कम खाने, नियमित प्राणायाम तथा व्यायाम गर्ने, अत्तर तथा सुगन्धित वासनाले एलर्जी हुन सक्छ । त्यसैले यसको ज्यादा प्रयोग नगर्ने । त्यसैगरी दूषित वायुमा जस्तै– धुवाँ, धूलो, धूमपान, आद्र वायुबाट बच्ने ।

घरमा हावा गुम्सिन नदिने भएको भेन्टिलेसन प्रणालीलाई चुस्त राख्ने, माकुराको जालो, फूलको पोलन, ढुसी, घोडाको लिदी, पशुको भुत्ला, पक्षीको प्वाँख आदि एलरजेनहरुसँग बच्नुपर्छ । त्यस्तै ढुसी, झ्याउ, लेउ लाग्न सक्ने फर्निचर एवं सामानहरुलाई नियमित सरसफाइ गर्नुपर्छ । जस्तै– गद्दा, सोफा, कार्पेट, गलैंचा, डोरम्याट, पर्दा रुमाल आदिको सफा गर्नुपर्छ ।

दही, दूध, माछा, मासु, अन्डा, पिरो, गाढेको अमिलो अचार, चिल्लो, चिसो खानेकुरा, कोक फेन्टा, रक्सी, बियरजस्ता पेयपदार्थ नखाने, नाक बन्द हुँदा जोडले सिँ–सिँ गर्नुहुँदैन । यसो गर्दा कानमा नराम्रो असर पर्न सक्छ ।

यसै गरी, तनाव, अनिद्रा, डर, चिन्ता, उदासीनता, नैराश्यता आदिबाट पनि बच्नु पर्छ । यी मनोविकार भएको अवस्थामा शरीरको प्रतिरक्षा प्रणाली कमजोर हुन गई पिनास हुन सक्छ । रुघाखोकी लागेका व्यक्तिहरुबाट पनि बच्नुपर्छ ।

तलाउ, पोखरी, खोला वा स्वीमिङ पुलमा डुबेर नुहाउँदा नाकमा पानी पसी पिनास ग्रन्थिको संक्रमण हुन सक्छ, त्यसैले यसबाट बच्नुपर्छ । नाक, कान, घाँटी र दाँतको संक्रमण भएकाले यी संक्रमणलाई बेलैमा नियन्त्रण गर्नुपर्छ । आवश्यकता अनुसार तुलसी एवं बेसार पानी पिउने र बाफ लिने पिनासमा उपयोगी जडीबुटीहरू बेसार, मोथे, अदुवा, करञ्ज, हिङ, देवदारू, दाडिम, दुवो, केशर, जेष्टिमधु, पिप्पली इत्यादि । बाफ लिँदा आँखा बन्द गर्नुपर्छ र धेरै तातो हुनुहुँदैन ।

पिनासको उपचार :
आधुनिक चिकित्साविज्ञान (एलोप्याथिक)ले यसका लक्षणको मात्र उपचार गर्छ । सामन्यतया यस रोगलाई जटिल मानिएता पनि जीवनशैली, खानपान र होमियोप्याथिक चिकित्सा विधिबाट यसको सहजै उपचार गर्न सकिन्छ ।
सूत्रनेती : रबरको नली वा मैनले भिजाएको चिल्लो डोरीलाई एउटा नाकको प्वालबाट पसाएर मुखबाट निकालेर घारघुर गरी पूरै श्वासमार्गलाई नै सफाइ गर्ने क्रियालाई सूत्रनेती भनिन्छ । सूत्रनेती गरिसकेपछि पुनः जलनेती गर्नुपर्छ ।
जलनेती : प्राचीनकालदेखि नै ऋषिमुनिले नाकको सफाइ गर्नका लागि उपयोग गरेको यौगिक विधिलाई जलनेती भनिन्छ । नेतीको भाँडामा उमालेर मनतातो बनाइएको नूनपानीलाई एउटा नाकको प्वालबाट राखी अर्को प्वालबाट निकाल्ने पद्धतिले पिनास नियन्त्रण गर्छ ।

टाउकाको मालिस : तातो तेल ठोकेर टाउकाको मालिस गर्दा तातो एवं मर्दन विधिले पिनास कम गर्न मद्दत पुर्याउँदछ ।
बाफ लिने : उम्लिएको पानीमा नाक खुलाउने दबाइ हालेर वा नहालीकन पानीको बाफमा अनुहार एक्सपोज गरी कपडाले पूरै टाउको र बाफको भाँडोसहित ढाकेर नाकबाट बाफ लिने गर्दा तातो बाफले पिनास ग्रन्थिमा भएको फोहोर निकाली प्रदाह कम गर्न मद्दत गर्दछ ।
कुञ्जल क्रिया : उमालेर मनतातो बनाएको पानीमा नून हाली ८–१० गिलास पानी पिएर बमन गर्ने विधिलाई कुञ्जल क्रिया भनिन्छ । कुञ्जल गर्दा आमाशय सफा हुनुका साथै यसले नाक र पिनास ग्रन्थिमा जम्मा भएर रहेको फोहोरलाई पनि बाहिर निस्कन मद्दत गर्दछ ।
मसलाको सेवन : तीक्ष्ण स्वाद भएका मसला जस्तै– तोरी, ल्वाङ, प्याज, लसुन, मरिच, कडीपत्ता, बेसार आदि हालिएको सब्जी खाँदा पिनास घटाउन मद्दत गर्दछ । विशेषतः यी तीक्ष्ण स्वादका वस्तुले कफ काट्छ ।

अकुप्रेसर : अनुहारका पिनास ग्रन्थिमाथि, वरपरका अकुप्रेसर विन्दुहरुमाथि, हत्केला वा पैतालाका विन्दुहरु दबाउँदा पनि पिनासबाट छुट्कारा पाउन सकिन्छ ।
भुइँकटहरको गुबोको प्रयोग : भुइँकटहरको गुबोमा ब्रोमेलिन नामको प्रोटिन पाइन्छ । यो प्रोटिनको उपयोग सुन्निएको घाउ सुकाउन प्रयोग गरिन्छ । ब्रोमालिनको सेवनले पिनास तथा घ्राणमार्गको सुजन कम गर्न सहयोग गर्दछ ।
गाईको घिउ : सुत्नुभन्दा पहिले २–३ थोपासम्म मनतातो गाइको घिउ नाकमा हाल्नाले पिनास कम गर्न मद्दत गर्दछ ।

Logo