विराटनगर । अटोइम्यून डिजिज अर्थात रोग प्रतिरोधात्मक प्रणालीको खराबी यस्तो विकार हो जसले गर्दा मानिसको रोग प्रतिरोधात्मक प्रणालीले रोग विरुद्ध लड्न भन्दा पनि शरिरको आफ्नै कोशिकाहरूमाथि हमला गर्दछ र शरिरको विभिन्न अङ्गमा समस्या ल्याउने गर्दछ।
यो समस्यालाई समयमा नै पत्ता लगाएमा दीर्धकाल सम्म कष्टकर जीवनयापन गर्न पर्ने बाध्यताबाट छुटकारा पाउन सकिन्छ जसको लागि अस्पतालहरुमा विभिन्न जाँचहरु उपलव्ध छन्। ती जाँचमध्ये हालसम्म उपलव्ध प्रविधिहरुमा रगतको विषेश जाँचलाई अब्बल जाँच मानिन्छ। पूर्वी नेपालमा पहिलो पटक विराटनगरस्थित् नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले यो प्रविधीबाट अटोइम्यून डिजिजको जाँच सुरु गरेको छ।
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्याथोलोजिष्ट डा.ओसन श्रेष्ठका अनुसार यो प्रविधिलाई सबैभन्दा उच्च स्तरको अर्थात गोल्ड स्ट्यान्डर्डको जाँच मानिन्छ। यो प्रविधिले लगभग शतप्रतिशत जाँचमा अटोइम्यून डिजिज भए नभएको पुष्टी गर्छ।
के हो त अटोइम्यून डिजिज? यसका प्रकार र लक्षणहरु के-के हुन्?
डा. ओसन श्रेष्ठका अनुसार अटोइम्यून डिजिज भनेको एउटा यस्तो रोग हो जसमा हाम्रो शरिरको प्रतिरक्षा प्रणालीले असामान्य प्रतिक्रिया देखाउँछ। हाम्रो शरीरको विभिन्न कीटाणुहरूसँग लड्ने र तिनिहरूलाई नाश गर्ने प्रणालीहरूले भूलबस हाम्रै शरिरका सामान्य रुपमा स्वस्थकर तरिकाले काम गरिरहेका भागहरुलाई जीवाणु जस्तो सम्झी आक्रमण गरेर नष्ट गर्न प्रयास गर्दछ। हाल सम्म अटोइम्यून डिजिजका करिब ८० भन्दा बढी प्रकारका रोगहरु पत्ता लागिसकेका छन् र यी रोगहरुले शरिरका जुनसुकै भागमा असर पार्न सक्छन्।
लुपुस रोग, बाथ रोग, कलेजोको हेपाटाइटिस रोग, छालासम्बन्धी रोग जस्ता रोगहरु अटोइम्यून डिजिजका उदाहरणहरु हुन्। डा. ओसनका अनुसार यी सबै रोगहरुको प्रारम्भिक लक्षणहरू कतिपय समान खालका हुन्छन् जस्तै बिरामीहरुलाई छिटो थकानको महसुस हुने, टाउको हलुको भई चक्कर आएको जस्तो हुने, बारम्बार हलुको ज्वरो आइरहने, मांसपेसीहरु दुख्ने, छालामा रातो दागहरु देखा पर्ने, हातखुट्टामा सुन्नताको आभाष हुने, जोर्नीमा दुखाई हुने तथा सुन्निने, बिना कुनै कारण शरिरमा असहजताको महसुस हुने, रगतको कमी हुने आदि हुन सक्दछ।
अटोइम्यून डिजिजका कारणहरु के के छन् ?
डा. श्रेष्ठले दिएको जानकारी अनुसार अटोइम्यून डिजिजको कारणहरु धेरैजसो अवस्थामा पत्ता लागिसकेका छैनन्। तरपनि विभिन्न बंशाणुगत कारण, पर्यावरणिय कारण, हर्मोनको कारण र संक्रमणहरुसंग यो रोगको सम्बन्ध रहेको पाईन्छ। पुरुषमा भन्दा प्रायजसो महिलाहरुमा यो समस्या बढी देखिएको छ र उनीहरुका बालबच्चामा समेत यो रोग देखिने सम्भावना बढी हुन्छ। विभिन्न भाइरस र ब्याक्टेरियाको संक्रमणले गर्दा पनि यो रोग उत्पन्न हुन सक्छ।
इम्यूनोफ्ल्यूरोसेन्स एसे (आईएफए)कस्तो जाँच हो ?
डा. श्रेष्ठले दिएको जानकारी अनुसार आईएफए एउटा यस्तो विशेष प्रकारको जाँच हो जसलाई अटोइम्यून डिजिज पत्ता लगाउन हाल सम्म उपलव्ध प्रविधीहरु मध्ये अहिले सम्मकै उच्चस्तरको अर्थात गोल्ड स्ट्यान्डर्ड जाँच हो किनकी यदि कुनै बिरामीमा यो रोग रहेको छ भने लगभग शतप्रतिशत अवस्थामा यो प्रविधिले त्यसको पुष्टि गर्दछ। यो जाँचमा विरामीको २—३ एम एल रगतको नमुनामात्र चाहिन्छ र सो रगतको नमुनालाई निश्चित विधिहरूबाट तालिम प्राप्त प्राविधिक र विशेषज्ञ चिकित्सकहरुले फ्ल्यूरोसेन्ट माइक्रोस्कोप मार्फत जाँच गरी रोग भए नभएको र भए कुन प्रकारको रोग हो भनि पत्ता लगाउने गर्दछन्।
इम्यूनोफ्ल्यूरोसेन्स एसे (आईएफए) जाँच गर्न कति समय लाग्छ ?
डा. श्रेष्ठका अनुसार यो जाँचको नतिजा नमुना परीक्षण गरेको लगभग तीन घण्टाभित्रै उपलव्ध गराउन सकिन्छ।
इम्यूनोफ्ल्यूरोसेन्स एसे (आईएफए) जाँच किन उच्चस्तरको जाँच हो ?
उनका अनुसार अरु विधिहरुमा जाँच भए पनि कतिपय अवस्थामा सो रोग भएता पनि नतिजा गलत आउन सक्ने अवस्था रहन्छ। तर आईएफए प्रविधिको नतिजा लगभग सतप्रतिसत हुने भएकोले विश्वव्यापी रुपमा नै विशेषज्ञहरुले यो प्रविधीबाटै जाँच गर्न सिफरिस गर्दछन्।
नोवेलमा इम्यूनोफ्ल्यूरोसेन्स एसे (आईएफए) प्रविधि कसरी सुरु गरियो ?
डा. श्रेष्ठले दिएको जानकारी अनुसार उनी सहित थप दुई जना अनुभवी ल्याब टेक्नोलोजिष्टहरुले सिएमसि भेलोर, भारतमा आईएफएको विशेष तालिम लिएर आए पछि यो प्रविधिबाट जाँच सुरु गरिएको हो। तालिमको दौरान एक हजार भन्दा बढी रगतको नमुनाहरुको जाँच गरेको उनले बताए। डा. श्रेष्ठका अनुसार यो प्रविधिबाट यो रोगको जाँच सुरु भए पछि पूर्वी नेपालका विरामीहरुलाई अटोइम्यून डिजिजको निदान र उपचार गर्न सहज भएको छ। समयमा नै रोगको पहिचान भएपछि उपचारमा पनि सहजता हुने र विरामीले अनावश्यक दुःख पाउन नपर्ने उनको भनाई छ।































प्रतिक्रिया