नागरिकको घरघरमा पुगेर सेवा दिँदै सामुदायिक अस्पताल

नागरिकको घरघरमा पुगेर सेवा दिँदै सामुदायिक अस्पताल

केन्द्रबिन्दु
42
Shares

लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको छ एचडिसियस नमूना सामुदायिक अस्पतालले नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ ।

प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिइने र यसका लागि सम्बन्धित बिरामीले अस्पताल प्रशासनसँग सम्पर्क गरी समस्याबारे जानकारी टिपाउनुपर्ने व्यवस्था रहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।

फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, शल्यक्रिया गरेर घरमा आराम गरिरहेका, दीर्घ रोगीलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको उनले जानकारी दिए ।

अस्पतालले प्यारामेडिक्स र नर्सिङसहितको टोलीलाई घरघरमा पठाएर विशेष गरी सुगर, ब्लडप्रेसर, ज्वरोसम्बन्धी परीक्षण, ल्याब परीक्षणको लागि नमूना सङ्कलन, औषधि पुर्‍याउने र स्वास्थ्यसम्बन्धी परामर्श दिने गरेको छ । यसबापत बिरामीको स्वास्थ्य उपचारमा लागेको औषधि, उपचार प्रक्रिया, जनशक्ति र सेवा दिन लागेको दूरीको आधारमा शुल्क निर्धारण गरिएको अस्पताल प्रशासनले जनाएको छ । सुरुवाती अवस्थामा सुन्दरबजार नगरपालिका वडा नं ६, ७, ८ र ९, भानु नगरपालिका वडा नं ११ मा हाल सेवा प्रदान गरिँदै आएको छ ।

यस्तै, सुन्दरबजार नगरका वडा नं ७ पाउँदी र वडा नं ९ फुलबारीमा सामुदायिक अस्पतालले हप्ताको १ दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिए । अधिकारीकानुसार दोर्दी गाउँपालिकाको नौथर शेरामा टेलिमेडिसिनमार्फत प्रत्येक हप्ताको एक दिन निःशुल्क सेवा अस्पतालले दिँदै आएको छ ।

आकस्मिक तथा सुत्केरी, अस्पतालमै भर्ना हुनुपर्ने बाहेक बिरामीको लागि यो सेवाले सहज बनाएको अस्पतालले विश्वास लिएको छ ।

Logo