डा. सुनीलकुमार शर्माको केएमसीको स्वास्थ्य टोलीद्वारा एक हजार ३८ जना बिरामीको निःशुल्क उपचार

डा. सुनीलकुमार शर्माको केएमसीको स्वास्थ्य टोलीद्वारा एक हजार ३८ जना बिरामीको निःशुल्क उपचार

केन्द्रबिन्दु
6
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा दुई दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

सांसद शर्माले गरिब, विपन्न र दूरदराजमा रहेका नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरेको उक्त शिविरबाट १ हजार ३८ जना बिरामीको निःशुल्क उपचार गरिएको छ ।

केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायण दाहालका अनुसार नेपाली कांग्रेस रोशी ३ सँगको सहकार्यमा आयोजित निःशुल्क शिविरमा १ सय ४८ जनाको ल्याब परीक्षण, १ सय ३७ जनाको इसिजी, १ सय ६८ जनाको भिडियो एक्सरे गरिएको छ ।

शिविरमा सो क्षेत्रका महिला, बालबालिका, ज्येष्ठ नागरिक र गरिब तथा विपन्न नागरिकले स्वास्थ्य जाँच गराएका थिए । गाउँघरमै निःशुल्क स्वास्थ्य शिविर आएपछि आफ्नो स्वास्थ्य जाँच गराउन नागरिकहरूको भीड लागेको थियो । शिविरमा नाक, कान, घाँटी, स्त्रीरोग, बालरोग, जनरल मेडिसिन, नसा तथा हाडजोर्नी, दन्त रोग र आँखा रोग सम्बन्धी सेवाहरू दिइएको थियो ।

श्रीदेवी माविमा गरिएको शिविरबाट ५८ जनाको शल्यक्रिया र थप उपचारका लागि रेफर गरिएको दाहालले बताए । डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । सांसद शर्माले गरिब, विपन्न नागरिकहरूका लागि लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेका छन् ।

Logo