१० महिनादेखि बीमाकाे भुक्तानी रोकिँदा निजी अस्पतालहरू समस्या, सेवा बन्द गर्ने चेतावनी

१० महिनादेखि बीमाकाे भुक्तानी रोकिँदा निजी अस्पतालहरू समस्या, सेवा बन्द गर्ने चेतावनी

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत प्रदान गरिएका सेवाहरूको भुक्तानी १० महिनाभन्दा बढी समयसम्म रोकिँदा निजी अस्पताल तथा मेडिकल कलेजहरू आर्थिक संकटमा परेको भन्दै उनीहरूले स्वास्थ्य बीमा कार्यक्रमबाट सेवा बन्द गर्ने चेतावनी दिएका छन्।

एसोसिएसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले स्वास्थ्य बीमाअन्तर्गत लामो समयदेखि भुक्तानी नपाउँदा अस्पताल तथा मेडिकल कलेजहरूमा गम्भीर समस्या उत्पन्न भएको र अब सेवा निरन्तरता दिन कठिन बन्दै गएको र यसकाे समाधान खाेज्न स्वास्थ्यमन्त्रीसमक्ष आग्रह गरेका हुन् ।

संघले औषधि, प्रयोगशाला (ल्याब) तथा रेडियोलोजी सेवा जस्ता महत्त्वपूर्ण सेवाका लागि खर्च छुट्याएर नदिइएको गुनासो गर्दै यस्ता सेवाहरू निरन्तर दिन सक्ने अवस्था नरहेको जनाएको छ। स्वास्थ्य बीमा बोर्डसँग पटकपटक समन्वय गर्दा पनि समस्याको समाधान नभएपछि निजी क्षेत्रका अस्पताल तथा कलेजहरूले सेवा अवरुद्ध गर्नुपर्ने बाध्यता आउन सक्ने संघको भनाइ छ।

संघले चेतावनी दिंदै भनेको छ, “भुक्तानी अझै नआएमा कन्सल्टेसन, डायग्नोस्टिक सेवा, रेडियोलोजी लगायतका स्वास्थ्य बीमा अन्तर्गतका सेवाहरू अवरुद्ध हुन सक्नेछ।”

संघका अध्यक्ष डा. ज्ञानेन्द्र मान सिंह कार्कीद्वारा हस्ताक्षरित पत्रमा स्वास्थ्य बीमा कार्यक्रम दीगो बनाउन मन्त्रालय र बीमा बोर्डले गम्भीरता देखाउनुपर्ने र समस्या शीघ्र समाधान गर्नुपर्ने उल्लेख गरिएको छ। संघले समस्याको समाधान नभए सेवा स्थगनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित सरकारी निकायले लिनुपर्ने स्पष्ट पारेको छ।

हाल निजी मेडिकल कलेजहरू र अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत लाखौं बिरामीलाई सेवा दिँदै आएका छन्। भुक्तानी रोकिँदा सामान्य नागरिकहरू समेत उपचार सेवाबाट वञ्चित हुनसक्ने खतरा रहेको संघले जनाएको छ।

संघले स्वास्थ्य बीमा बोर्ड र स्वास्थ्य मन्त्रालयलाई समस्यालाई प्राथमिकताका साथ सम्बोधन गर्न र बीमा सेवाको निरन्तरता सुनिश्चित गर्न आग्रह गरेको छ। अन्यथा, सेवा बन्द गर्ने निर्णय लिन बाध्य हुने चेतावनीसमेत दिएको छ।

Skip This
Skip This
Logo