काठमाडौं । हामीमध्ये धेरैलाई पिरो खानाको स्वादले लोभ्याउँछ । खुर्सानीको पिरोपनले खानालाई स्वादिलो बनाउनुका साथै हाम्रो स्वास्थ्यमा पनि गहिरो प्रभाव पार्छ । कसैले पिरो खानु स्वास्थ्यका लागि हानिकारक ठान्छन् भने कसैले यसले फाइदा पुर्याउँछ भन्ने तर्क गर्छन् । तर, के तपाईंलाई थाहा छ ? वैज्ञानिकहरूले पिरो खानाले हाम्रो आयु लम्ब्याउन सक्ने प्रमाणित गरिसकेका छन् ।
सन् २०२० मा अमेरिकन जर्नल अफ प्रिभेन्टिव कार्डियोलोजीमा प्रकाशित एक अध्ययनले पिरो खाने व्यक्तिहरूमा समयभन्दा पहिले मृत्युको जोखिम २५ प्रतिशत कम हुने देखाएको छ । यो अध्ययनले ५ लाखभन्दा बढी व्यक्तिहरूको खानपानको बानी र स्वास्थ्य अवस्थाको विश्लेषण गरेको थियो । यसबाहेक, सन् २०१५ मा बीएमजे जर्नलमा प्रकाशित अर्को अनुसन्धानले सात वर्षसम्म ५ लाख चिनियाँ नागरिकको अध्ययन गर्दा नियमित पिरो खानेहरूमा क्यान्सर, मुटुरोग र श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने सम्भावना कम भएको पाइयो ।
खुर्सानीमा पाइने क्याप्साइसिनले शरीरको मेटाबोलिजमलाई तीव्र बनाउँछ, जसले बोसो पगाल्न मद्दत पनि गर्छ । जस कारण मोटोपनाको जोखिम पनि कम हुन्छ । यस्तै पिरो खानाले रक्तचाप र कोलेस्ट्रोलको स्तर पनि नियन्त्रण गर्र्नुका साथैं प्रोस्टेट र कोलोरेक्टल क्यान्सर कोशिकाहरूको वृद्धिलाई पनि रोक्न सक्छ ।
पिरो खानाले दीर्घायुमा योगदान पुर्याउने धेरै कारणहरू छन् । पहिलो, यसले दीर्घकालीन रोगहरूको जोखिम कम गर्छ । दोस्रो, क्याप्साइसिनले शरीरको एंटीअक्सिडेन्ट स्तर बढाउँछ, जसले कोशिकाहरूलाई क्षतिबाट जोगाउँछ । तेस्रो, पिरो खानाले मानसिक स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पार्छ । क्याप्साइसिनले एन्डोर्फिन (ह्याप्पी हर्मोन) को उत्पादनलाई उत्तेजित गर्छ, जसले तनाव र चिन्ता कम गर्छ । हावर्ड मेडिकल स्कूलको एक लेख अनुसार, पिरो खानाले मस्तिष्कको स्वास्थ्यमा पनि फाइदा पुर्याउँछ । नेपाली खानामा पिरोको प्रयोग व्यापक छ । आलुको अचार, चटनी, मःम, चाउमिन र सेलरोटी जस्ता परिकारहरूमा खुर्सानीको प्रयोगले स्वाद थप्ने काम गर्छ ।
पिरो खाना केवल स्वादको लागि मात्र होइन, यो स्वास्थ्य र दीर्घायुको लागि पनि एक शक्तिशाली औषधि हो । खुर्सानीमा पाईने क्याप्साइसिनले मेटाबोलिजम बढाउने, सुन्निनो कम गर्ने र दीर्घकालीन रोगहरूको जोखिम घटाउने जस्ता अनेक फाइदाहरू प्रदान गर्छ ।































प्रतिक्रिया