काठमाडाैं । मोरङकाे बेलबारी नगरपालिका वडा नं. १ का आर्थिक अवस्था नाजुक भएका २७ वर्षीय कैलाश तामाङ पछिल्लो पाँच महिनादेखि मिर्गौला फेल भएर जीवन र मृत्युबीच संघर्ष गरिरहेका छन् । जीवनरक्षक मिर्गौला प्रत्यारोपणका लागि आवश्यक सबै प्रक्रिया पूरा भइसके पनि प्रशासनिक ढिलाइका कारण उनको उपचार रोकिएको छ ।
कैलाशकी आमाले उनलाई मिर्गौला दिने सहमति जनाइसकेकी छन्। चिकित्सकीय परीक्षणबाट पनि प्रत्यारोपणका लागि उपयुक्त रहेको पुष्टि भइसकेको छ। नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले आफ्नो स्वामित्वमा रहेको काठमाडौं मेडिकल कलेजमा निःशुल्क मिर्गौला प्रत्यारोपण गरिदिने जिम्मा लिइसकेका छन् ।
तर, दुर्भाग्यवश, काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रशासन शाखा प्रशासकीय अधिकृत रामकुमार तिमल्सिनाले सम्बन्धित फाइल अगाडि नबढाउँदा प्रत्यारोपण प्रक्रिया अल्झिएको हो।
कैलाशकी आमा गीता तामाङको विगतमा दोस्रो विवाह भइसकेको हुँदा कानुनी प्रक्रिया अल्झिएको जनाइएको छ । यद्यपि उनी हाल पनि मोरङमै बसोबास गर्दै आइरहेकी छन् र स्थानीय तह तथा मोरङ जिल्ला प्रशासन कार्यालयबाट आवश्यक स्वीकृति र सिफारिस प्राप्त भइसकेको छ। मोरङ प्रशासनको सिफारिस र प्रमाण पनि पुगिसकेको भए पनि कैलाशको जीवन एउटा दस्तखतको पर्खाइमा अड्किएको छ।
कैलाशकी आमाको विगतमा दोस्रो विवाह भएको कारण देखाउँदै कागजी अड्चन खडा गरिएको छ । तर गीता तामाङ आज पनि आफ्नै छोरा बचाउन मोरङमै बसेर प्रयासरत छिन्।
“सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा काठमाडौं प्रशासनबाट गरिएको ढिलाइले हामीलाई अप्ठ्यारोमा पारेको छ,” तामाङ परिवारको भनाइ छ।
बिरामीको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गइरहेको हुँदा तत्काल निर्णय नगरे बिरामीको ज्यान नै जोखिममा पर्न सक्ने अवस्था देखिएको छ। नागरिक जीवनसँग जोडिएको यस्तो संवेदनशील विषयमा प्रशासनले समयमै चासो नदिंदा आम नागरिक निराश भएको प्रतिक्रिया देखिएको छ।





























प्रतिक्रिया