अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बिमा

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । तनहुँको घिरिङ गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको निःशुल्क स्वास्थ्य बिमा गरिदिने भएको छ । गाउँपालिकाले ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त ७८ जनाको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको हो ।

स्थानीय अपाङ्गता समन्वय समितिको गत भदौ १९ को बैठकको निर्णयअनुसार चालु आर्थिक वर्षको अपाङ्गता लक्षित कार्यक्रमअन्तर्गत उनीहरुको बिमा गर्न लागिएको गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारीले जानकारी दिए । अपाङ्गता भएका व्यक्तिहरुलाई स्वास्थ्यको पहुँचमा ल्याउने उद्देश्यसहित स्वास्थ्य बिमा कार्यक्रम अगाडी बढाउन लागिएको अधिकारीको भनाइ छ ।

गाउँपालिकाले पालिकाभित्रका स्वास्थ्य बिमा अभिकर्तालाई सूचना जारी गरी सम्बन्धित वडामा रहेका अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा प्रक्रिया अगाडी बढाउन अनुरोध गरिसकेको गाउँपालिकाका अधिकृत धु्रवराज लामिछानेले जानकारी दिए।

स्वास्थ्य बिमा कार्यालय तनहुँमा पालिकाबाट रकम भुक्तानी गर्ने क्रममा सम्बन्धित अपाङ्गता परिचयपत्र, नागरिकता वा जन्मदर्ताको प्रमाणपत्र असोज मसान्तभित्र उपलब्ध गराउन सूचित गरेको उनले बताए ।

उनका अनुसार ‘घ’ वर्गका अपाङ्गता भएका १७, ‘ग’ वर्गका अपाङ्गता भएका ५७ र वर्ग पहिचान नभएका चार जनाको स्वास्थ्य बिमा गरिनेछ । जसअनुसार घिरिङ गाउँपालिका–१ का १७ जना, घिरिङ गाउँपालिका–२ का १४ जना, घिरिङ गाउँपालिका–३ का २० जना, घिरिङ गाउँपालिका–४ का १५, घिरिङ गाउँपालिका–५ का १२ जना रहेका छन् ।

Skip This
Skip This
Logo