धनको अभावमा उपचार नपाएर थला परे धनबहादुर

धनको अभावमा उपचार नपाएर थला परे धनबहादुर

केन्द्रबिन्दु
15
Shares

दार्चुला । खेडाको साँघुरो सडक । कतै धुलो, कतै हिलो त कतै घामले तातिएको कालोपत्र । सोही सडक हुँदै आवतजावत गर्नेले एक दशकयता घिस्रिरहेका एक व्यक्ति देख्ने गर्छन् । यसरी घस्रिएर जीवन धानिरहेका महाकाली नगरपालिका–४ का ५९ वर्षीय धनबहादुर क्षेत्री हुन्।

हेर्दा उनको अवस्था जति नाजुक देखिन्छ त्यो भन्दा कैयौँ गुना पीडा बोकेर उनी एक दशकदेखि शरीर घिसार्दै जीवन धानिरहहेका छन् । अचानक खुट्टा र कम्मरले काम गर्न छाडेपछि उनका शरीर पाङ्ग्रा फुत्किएको गाडीझैँ भयो । समयमै उपचार गर्न उनीसँग पैसा थिएन । छोराछोरी सानै थिए । विगत सम्झिँदै उनले भने, “एकाएक कम्मरले काम गर्न छोड्यो । अहिले घर बाहिर भित्र गर्नै गाह्रो छ । अपाङ्गता भएका कारण समाजले हेर्ने दृष्टिकोण पनि राम्रो छैन ।”

विसं २०७१ सालदेखि उनमा अपाङ्गताको समस्या सुरु भएको हो । कम्मरदेखि सुरु भएको समस्या बल्झिँदै गएपछि उनको खुट्टाले काम गर्न छाडे । “त्यतिखेर पैसा भएको भए म उपचारका लागि अस्पताल जान्थेँ होला । उपचार गरेको भए मेरो शरीर चल्थ्यो होला,” गहभरी आँसु पार्दै उनले भने ।

अब त उमेरले डाँडो काट्न लाग्यो । यसवर्षको बर्खायामदेखि त बाहिर निस्कन पनि नसक्ने हुनुभएको छ । समस्या झनै जटिल बन्दै गएपछि उहाँलाई बाहिर निकाल्नै समस्या हुन थालेको उनकी श्रीमती मीना क्षेत्रीले बताइन्। “कहीँ गएर हामीलाई सहयोग दिनुहोस् भन्न पनि सकेनौँ । श्रीमानको यो अवस्था देखेर सहयोग गर्ने कोही भएनन्”, उनले भनिन्, “खुट्टाले नटेके पनि हात राम्रा थिए । तर तीन चार वर्षयता हातले पनि काम गर्न छाडे ।”

परिवार चलाउने बल्ल तल्ल एक छोरीले सहयोग गर्न थालेको उनको भनाइ छ । छोरीले अहिले ब्यूटिपार्लर सिकेर सहयोग गर्न सक्ने भएकी छन्। धनबहादूर पूर्ण रुपमा श्रीमती मीनाको सहारामा मात्र बाहिर भित्र गर्न सक्ने अवस्थामा रहेका छन्। उनले अपाङ्गता भत्ताबापत मासिक रु तीन हजार प्राप्त गर्छन्। महाकाली नगरपालिकाले ह्वीलचियर प्रदान गरेको छ । थप सहयोगका लागि नजिकै सरकारी कार्यालय छैनन् ।

राम्रो अस्पतालमा एकपटक पु-याउन सके उमेरले डाँडो काटे पनि अझै अहिलेभन्दा अथवा हुने थियो कि भन्ने क्षेत्री दम्पत्तिको आशा छ । तर सहयोगी मन र राज्यको ध्यानबिना त्यो आशा पूरा होला कि नहोला भन्ने पीरले दिनरात उनीहरुलाई पिरोलिरहन्छ ।

Logo