काठमाडौं । जाडो मौसम सुरु भएसँगै धेरै मानिसहरू स्वास्थ्यप्रति सचेत हुँदै मर्निङ वाक गर्ने गर्छन् । तर, चिसो समयमा गरिने बिहानीको हिँडाइ सबैका लागि सधैँ सुरक्षित नहुन सक्छ। विशेषगरी मुटुका रोगी, दमका बिरामी र वृद्धवृद्धाहरूका लागि अत्यधिक चिसोमा हिँड्नु चुनौतीपूर्ण बन्न सक्छ।
फाइदा
तौल नियन्त्रण: जाडोमा शरीरको मेटाबोलिजम सन्तुलनमा राख्न र क्यालोरी जलाउन हिँडाइ प्रभावकारी हुन्छ।
मानसिक स्फूर्ति: बिहानीको ताजा हावाले तनाव कम गर्न र दिनभर शरीरलाई ऊर्जावान् राख्न मद्दत गर्छ। साथै नियमित हिँडाइले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ।
जोखिम र सावधानी
हिउँदको समयमा बिहानको वायुमण्डलमा धुलोका कण र प्रदूषण भुइँ नजिकै थुप्रिएका हुन्छन्। यसले गर्दा फोक्सोमा समस्या देखिन सक्छ। साथै, चिसोले रक्तनलीहरू खुम्चिने भएकाले रक्तचाप बढ्ने र हृदयघातको जोखिम समेत रहने चिकित्सकहरू बताउँछन्। अझ काठमाडौँ जस्तो उपत्यकामा हावा बाहिर निस्किन अझ कठिन भएकाले पनि जाडोको समयमा प्रदूषण बढ्छ ।
विज्ञहरूका अनुसार सुरक्षित रहन निम्न उपाय अपनाउन सकिन्छ-
समयको छनोट: सूर्योदय नभई वा अत्यधिक कुहिरो लागेको बेला हिँड्नु भन्दा अलि घाम झुल्केपछि वा ‘डे वाक’ गर्नु बढी उपयुक्त हुन्छ।
कपडाको छनोट: शरीरलाई न्यानो राख्ने गरी पत्र-पत्र परेका लुगा लगाउनुहोस्। टाउको, कान र हात छोप्न टोपी र पन्जाको प्रयोग अनिवार्य गर्नुहोस्।
वार्म-अप: घरबाट निस्कनु अघि केही बेर घरभित्रै हल्का व्यायाम वा स्ट्रेचिङ गर्नुहोस्।
मास्कको प्रयोग: धुलो र चिसो हावाबाट बच्न मास्कको प्रयोग गर्नुहोस्।
खानपान: हिँड्नु अघि वा पछि मनतातो पानी पिउनुहोस्। खाली पेटमा हिँड्नु भन्दा हल्का केही खाएर हिँड्नु राम्रो हुन्छ।































प्रतिक्रिया