नसर्ने रोगको व्यवस्थापनमा योग साधनाको महत्व

नसर्ने रोगको व्यवस्थापनमा योग साधनाको महत्व

केन्द्रबिन्दु
0
Shares

कल्पना पौडेल

काठमाडौँ, ३० पुस (रासस)  बदलिँदै गएको जीवनशैली र खानपानले मानिस नसर्ने रोगबाट पीडित हुँदै गएका छन् । 

अहिले मधुमेह, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मस्तिष्कघात, अम्लपित्त, मिर्गौला खराबी, दम, माइग्रेन, चिन्ता, ढाड दुख्ने, उच्च बोसोपना, मोटोपनाबाट पीडित हुनेहरूको संख्या बढ्दै गएको छ । 

राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका योग तथा पुनःस्थापना विशेषज्ञ डा विनोद घिमिरे नसर्ने रोग एउटा मात्र कारणले नभई धेरै कारणको संयुक्त प्रभाव हुने बताउनुहुन्छ । 

उहाँले भन्नुभयो,‘‘ मानिसको फेरिँदै गएको जीवनशैलीमा योग, व्यायाम आवश्यक छ, स्वस्थ्यकर जीवनका लागि योगको महत्व छ, नसर्ने रोगबाट बच्नका लागि योगमा आधारित जीवनशैलीमा यौगिक परामर्श, आसन, प्राणायाम, ध्यान, स्वस्थकर भोजन, तनाव व्यवस्थापन गर्न सके नसर्ने रोगको जोखिम कम गर्न सकिन्छ ।’’ 

अस्वस्थकर खानपान, शारीरिक व्यायामको कमी, तनाव, जाँडरक्सी सेवन, धूमपान नसर्ने रोगको कारण मानिने अर्बुद रोग विशेषज्ञ डा सन्ध्या चापागाई बताउनुुहुन्छ । पछिल्लो समयमा योग र साधनाले मानिसलाई रोगको जोखिमबाट बचाउन महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्राथमिकतामा राख्न थालिएको छ । 

योग विशेषज्ञहरूले विभिन्न नसर्ने रोगको बिनाऔषधि तथा बिनाशल्यक्रिया नियन्त्रण मात्र होइन निर्मूल नै पार्न सकिन्छ भन्ने पुष्टि भइसकेको दाबी पनि गर्दै आएका पाइन्छ । डा घिमिरे विकसित देशमा योगमा आधारित जीवनशैली परिवर्तनलाई मिलाएर ‘लाइफ स्टाइल मेडिसिन’ भन्ने छुट्टै विधाको समेत विकास भएको बताउनुहुन्छ । 

मधुमेह रोग विशेषज्ञ डा त्योति भट्टराई मानिसको जीवनशैलीमा आएको परिवर्तन, जस्तै गुलियो प्रेमी हुनु, बढी नुनिलो चिज मन पराउनु, चिल्लोयुक्त खानपान, अत्यधिक कार्बोहाइड्रेटयुक्त खानेकुराका कारण मोटोपना, मधुमेह र उच्चरक्त चाप बढ्दै गएको बताउनुहुन्छ । 

आयुर्वेद चिकित्सक डा सुमन खनाल योगभित्रका आसन, प्राणायाम, ध्यान, क्रिया, भजनकीर्तन, नृत्य, मनन, सेवा गर्दा नसर्ने रोगको नियन्त्रणमा सहयोग पुग्ने बताउनुहुन्छ । नसर्ने रोगको प्रमुख कारणमा मनमा हुने तनावलाई मानिन्छ । हामीले आफ्नो दिनचर्यालाई सन्तुलित बनाउन समयमा सुत्ने र उठ्ने गर्नु आवश्यक छ । 

आसन प्राणायाम समय र स्थान अनुकूल बनाई रोगअनुसारको योगाभ्यास गर्न पनि आवश्यक भएको चिकित्सको भनाइ छ । 

Logo