प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोगी बन्दै

प्राथमिक उपचार तालिम : विपद् व्यवस्थापनमा सहयोगी बन्दै

केन्द्रबिन्दु
3
Shares

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोग र नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको प्राथमिक उपचार तालिम प्रभावकारी बन्दै गएको छ। सम्झौता अनुसार हालसम्म महानगरका ६ वडामा १५१ जनालाई तालिम दिइएको छ, जसमा ११४ महिला र ३७ पुरुष सहभागी छन्।

रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलका अनुसार यस्ता तालिमले विपद् वा दुर्घटनाका बेला तत्काल उद्धार र प्राथमिक उपचारमा महत्वपूर्ण सहयोग पुग्छ। विशेषगरी टोलस्तरमा महिलाको सहभागिताले समुदायमा थप सुरक्षा मजबुत हुने उनको भनाइ छ।

महानगरपालिकाका महामारी रोग रोकथाम तथा नियन्त्रण कार्यक्रमका फोकल पर्सन ऋषिप्रसाद भुषालले यस्ता तालिम आपत्कालीन व्यवस्थापनका लागि उपयोगी हुने बताए। तालिमलाई महानगरका सबै ३२ वडामा विस्तार गर्ने योजना रहेको छ। तालिमपछि प्राप्त प्रमाणपत्र नेपालसहित १९२ देशमा मान्य हुने बताइएको छ। कार्यक्रममा दुर्घटना स्थलको सुरक्षा, प्रारम्भिक जाँच, सीपीआर, रक्तश्राव नियन्त्रणलगायत जीवनरक्षक सीप सिकाइन्छ।

महानगरपालिकाका अनुसार यस्ता तालिमको मुख्य उद्देश्य अस्पताल पुग्नुअघि नै बिरामीको अवस्था बिग्रिन नदिनु र जीवन बचाउने क्षमता समुदायमै विकास गर्नु हो।

Logo