भोजपुर। भौगोलिक रूपमा विकट मानिने यहाँको हतुवागढी गाउँपालिका–४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना भई सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिन सहजता भएको छ । वर्षौँदेखि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहँदै आएका यहाँका बासिन्दाले अहिले गाउँमै प्राथमिक उपचार तथा स्वास्थ्य सेवा पाउन थालेपछि राहत महसुस गरेका हुन् ।
दुर्गम भूगोल, कठिन पैदलमार्ग र यातायातको अभावका कारण सामान्य बिरामी हुँदा घण्टौँ हिँडेर अन्य स्थान पुग्नुपर्ने बाध्यता रहेको लुङ्थुङमा स्वास्थ्य एकाइ स्थापना भएपछि सेवा पहुँचमै आएको छ । यसअघि सामान्य रोगको उपचारका लागिसमेत जोखिम मोलेर टाढा जानुपर्ने अवस्था रहेकोमा अहिले गाउँमै उपचार सम्भव भएको स्थानीयले बताएका छन् ।
यस स्वास्थ्य एकाइबाट साविक खैराङका वडा नम्बर २, ३, ४, ५ र ६ का बासिन्दा प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । करिब ३०० घरपरिवारलाई नियमित रूपमा सेवा प्रवाह भइरहेको जनाइएको छ । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती तथा सुत्केरी महिलालाई यसले ठूलो राहत पुगेको छ ।
हतुवागढी गाउँपालिका–४ खैराङका वडाध्यक्ष चन्द्रबहादुर विष्टले नागरिकलाई सहज रूपमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेको बताए । “लुङ्थुङ भौगोलिक रूपमा निकै विकट र फैलिएको क्षेत्र हो” वडाध्यक्ष विष्टले भन्छन् – “यहाँ स्वास्थ्य संस्था नहुँदा सामान्य उपचारका लागि पनि घण्टौँ पैदल हिँड्नुपर्ने बाध्यता थियो । नागरिकले भोगेको समस्यालाई मध्यनजर गर्दै वडाको पहलमा स्वास्थ्य एकाइ स्थापना गरी सेवा प्रवाह गरेका हौँ । जनतालाई सेवा पुगेको छ । “
स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि यहाँ प्राथमिक स्वास्थ्य सेवा, सामान्य जाँच, औषधि वितरण, खोप सेवा, गर्भवती जाँच तथा स्वास्थ्य परामर्शजस्ता सेवा उपलब्ध हुन थालेका छन् । यसले सानातिना रोगको समयमै उपचार हुने, जटिलता कम हुने तथा स्वास्थ्य सचेतना अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
स्थानीय दीर्गसिंह कार्कीका अनुसार स्वास्थ्य सेवा अभावकै कारण विगतमा सानातिना रोगले पनि गम्भीर रूप लिने र अकालमै ज्यान गुमाउनुपर्ने जोखिम रहने गरेको थियो । “गाउँमै स्वास्थ्य एकाइ स्थापना भएपछि हाम्रो धेरै समस्या समाधान भएको छ । पहिले सामान्य उपचार नपाउँदा समस्या बढ्थ्यो, अहिले समयमै उपचार पाइरहेका छौँ,” उनले भने ।
ग्रामीण तथा दुर्गम भेगमा स्वास्थ्य सेवा विस्तार गर्ने प्रयासअन्तर्गत स्थापना गरिएको यो स्वास्थ्य एकाइले स्थानीयको जीवनस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने स्थानीयको भनाइ छ ।































