धनगढी । नेत्रज्योति संघ नेपालअन्तर्गत सञ्चालित कैलालीको गेटा आँखा अस्पतालमा कर्मचारी र प्रशासनबीचको विवाद सुरु भएको छ। लामो समयदेखि उठाउँदै आएका माग सम्बोधन नभएको भन्दै कर्मचारी आक्रोशित भएका हुन् । अहिले यो विवाद मानव अधिकार आयोगसम्म पुगेको छ।
कर्मचारीले गत वर्षको बजेटबाट वृद्धि गरिएको महँगी भत्ता तत्काल उपलब्ध गराउनुपर्ने, नेपाल सरकारले आइतबार दिने सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्नुपर्ने वा त्यसबापत सट्टा बिदा अथवा अतिरिक्त भत्ता दिनुपर्ने र अस्पतालमा संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गरी आवश्यक जनशक्ति, दरबन्दी र सेवा–सुविधा सुनिश्चित गर्नुपर्ने माग राख्दै आएका छन्।
मागको सुनुवाइ नभएको भन्दै उनीहरूले गत जेठ ४ गते अस्पताल प्रमुखको कार्यकक्ष तथा प्रशासन शाखामा तालाबन्दी गरेका थिए। तालाबन्दीका क्रममा सेवाग्राहीको सेवा भने अवरुद्ध नगरिएको कर्मचारीको दाबी छ। अस्पतालका एक कर्मचारीका अनुसार अस्पतालमा कार्यरत कर्मचारीले वर्षौंदेखि तलब वृद्धि, बढुवा, वृत्ति विकास तथा सेवा–सुविधासम्बन्धी विषयमा संघर्ष गर्नुपरेको छ।
‘हामीले अहिले उठाएका धेरैजसो माग नयाँ होइनन्। कर्मचारीको तलब, बढुवा र वृत्ति विकासका विषयमा वर्षौंदेखि समस्या छ। सुविधा कटौती हुने बेला व्यवस्थापन एकतर्फी निर्णय गर्छ, तर कर्मचारीका जायज माग सम्बोधन गर्न भने चासो देखाइँदैन,’ ती कर्मचारीले भने।
उनका अनुसार हालको मुख्य विवाद महँगी भत्तासँग सम्बन्धित छ। केन्द्रबाट भत्ता उपलब्ध गराउने निर्णय भइसकेको दाबी गर्दै उनले अस्पतालमा त्यसको कार्यान्वयनमा ढिलाइ गरिएको आरोप लगाए।
प्रशासनले माग सम्बोधन गर्नुको सट्टा आन्दोलनमा सहभागी कर्मचारीलाई पटक–पटक स्पष्टीकरण सोधिएको, मानसिक दबाब दिइएको र त्रासको वातावरण सिर्जना गरिएको आरोप लगाएका छन्। यही विषयलाई लिएर राष्ट्रिय मानव अधिकार आयोगको सुदूरपश्चिम प्रदेश कार्यालयमा उजुरी पनि परेको छ ।
‘समस्या समाधान गर्नुको सट्टा कर्मचारीलाई कारबाहीको डर देखाउने, जिल्ला प्रशासन र प्रहरीसम्म विषय पुर्याएर त्रसित बनाउने काम भयो। त्यसैले मानव अधिकार आयोगसम्म उजुरी परेको हो,’ ती कर्मचारीले भने। उनले यसअघि पनि केही कर्मचारीलाई विभिन्न कारण देखाएर कारबाही गरिएको दाबी गरे।
उजुरीपछि राष्ट्रिय मानव अधिकार आयोगले अस्पताल प्रशासनसँग घटनाबारे जानकारी माग्दै पत्राचार गरेको थियो। राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख मानबहादुर कार्कीले कर्मचारीको उजुरीका आधारमा अस्पतालसँग जानकारी मागिएको बताए।
यता अस्पतालका प्रमुख चिकित्सा निर्देशक सुरेशराज पन्तले भने विवाद समाधान भइसकेको दाबी गरेका छन्। ‘तलब वृद्धि हुनुपर्ने उहाँहरूको माग थियो। केन्द्रबाट पत्र आएपछि समस्या समाधान भइसकेको छ। अहिले अस्पतालमा कुनै विवाद छैन,’ पन्तले भने।
यसबीच विवादमा स्थानीयवासी र संस्थाका आजीवन सदस्यले समेत चासो देखाएका छन्। मंगलबार स्थानीयले अस्पताल पुगेर प्रशासनलाई प्रश्न गरेका थिए । दिउँसो केही बेर अस्पतालमा तनावको अवस्था पनि सिर्जना भएको थियो । स्थानीय भरत खड्काले आफ्नो क्षेत्रको प्रतिष्ठित स्वास्थ्य संस्थामा पटक–पटक विवाद हुन थालेपछि वास्तविक अवस्था बुझ्न कर्मचारी र प्रशासन दुवै पक्षसँग छलफल गर्न अस्पताल गएको बताए।





























प्रतिक्रिया