स्वास्थ्य सूचकमा सुधार, ५ बर्षमा १७ सय स्वास्थ्य संस्था थपिए

स्वास्थ्य सूचकमा सुधार, ५ बर्षमा १७ सय स्वास्थ्य संस्था थपिए

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । विगत पाँच वर्षमा मुलुकभर १ हजार ७ सय ५५ सरकारी स्वास्थ्य संस्थाको संख्या थप भएका छन्। २०८२ मा देशभर ८ हजार ९ सय ७६ सरकारी स्वास्थ्य संस्था रहेको आर्थिक सर्वेक्षण २०८२/८३ मा उल्लेख छ।

आर्थिक सर्वेक्षण २०७७ मा उक्त संख्या ७ हजार २ सय २१ थियो । फागुन २०८१ देखि फागुन २०८२ सम्म मात्र २ सय ३० सरकारी स्वास्थ्य संस्था थपिएका छन् । मुलुकभर अस्पताल ४ सय २०, प्राथमिक स्वास्थ्य केन्द्र १ सय ८१, स्वास्थ्य चौकी ३ हजार ६ सय ३, आयुर्वेदिक औषधालय ४ सय २६ र अन्य स्वास्थ्य संस्था ४ हजार ३ सय ४६ वटा छन्। २०७७ मा अस्पताल १ सय २५, प्राथमिक स्वास्थ्य केन्द्र २ सय ५, स्वास्थ्य चौकी ३ हजार ८ सय ७०, आयुर्वेदिक औषधालय ३ सय ९५, उपस्वास्थ्य चौकी २ हजार ६ सय २६ वटा थिए।

सरकारका सबै स्थानीय तहमा अस्पताल र हरेक वडामा एक स्वास्थ्य संस्था पुर्‍याउने नीतिअनुसार सरकारी स्वास्थ्य संख्यामा विस्तार भएको हो । स्थानीय तहमा आवश्यकताअनुसार ५/१०/१५ शय्याको आधारभूत अस्पताल निर्माण गर्ने नीतिअनुसार १ सय २१ वटाको निर्माण पूरा भएको र ३ सय १३ वटा निर्माणाधीन अवस्थामा रहेको आर्थिक सर्वेक्षणमा उल्लेख छ।

आर्थिक सर्वेक्षणले मातृ मृत्युदरलगायत स्वास्थ्य सूचकमा सुधार भएको देखाएको छ। ‘मातृ मृत्युदरमा उल्लेखनीय सुधार भएको छ। नवजात शिशु मृत्युदर, शिशु मृत्युदर तथा ५ वर्षमुनिको बाल मृत्युदर घटेको छ। स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिलाको अनुपातमा वृद्धि भएको छ,’ सर्वेक्षणमा भनिएको छ। पूर्ण रूपमा खोप लगाउने बालबालिकाको संख्या पनि वृद्धि भएको सर्वेक्षणमा उल्लेख छ।

सन् २००० अघि मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) ५ सय ३९ रहेकामा हाल १ सय ५१ छ। नवजात शिशु मृत्युदर सन् २०११ मा प्रतिहजार जीवित जन्ममा ३३ रहेकामा घटेर १७ पुगेको छ। पूर्ण रूपमा खोप लगाउने बालबालिका ९२ प्रतिशत पुगेका छन्।

स्वास्थ्य संस्थामा प्रसूति गराउने गर्भवती महिला ९० प्रतिशत छन्। सन् २०११ मा ३५ प्रतिशत महिलाले मात्रै स्वास्थ्य संस्थामा प्रसूति सेवा लिने गरेको तथ्यांक थियो । कम्तीमा चार पटक गर्भ जाँच गराउने गर्भवती महिलाको संख्या सन् २०११ मा ५० प्रतिशत रहेकामा हाल ८८ प्रतिशत पुगेको सर्वेक्षणमा उल्लेख छ।

‘शिशु मृत्युदर सन् २०११ को ४६ (प्रतिहजार जीवित जन्ममा) बाट २०२५ मा २७ मा घटेको छ। त्यसैगरी ५ वर्षमुनिको बाल मृत्युदर ५४ बाट घटेर २०२५ मा ३१ (प्रतिहजार जीवित जन्ममा) भएको छ,’ आर्थिक सर्वेक्षणमा उल्लेख छ।

Skip This
Skip This
Logo