सुर्तीजन्य पदार्थको सेवनकै कारण दैनिक ७३ जनाको मृत्यु

सुर्तीजन्य पदार्थको सेवनकै कारण दैनिक ७३ जनाको मृत्यु

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । सुर्तीजन्य पदार्थ वा धुम्रपानकै कारण नेपालमा दैनिक ७३ जनाले ज्यान गुमाउने गरेका छन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानले सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदनअनुसार नेपालमा हुने प्रत्येक १० मृत्युमध्ये झन्डै दुईजनाको मृत्यु सूर्तीजन्य पदार्थको सेवनका कारण हुने उल्लेख छ ।

नेपालमा सुर्तीजन्य पदार्थ सेवन गर्नेको संख्या निरन्तर बढिरहेको उक्त प्रतिवेदनले देखिएको छ । सन् २०१९ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतका निकायले गरेको स्टेप्स सर्वेक्षणअनुसार १५ देखि ६९ वर्ष उमेर समूहका करिब २८.९ प्रतिशत मानिसले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका थिए । तर, हाल यो दर बढेर ३२ प्रतिशतभन्दा माथि पुगेको अनुसन्धानहरूले देखाएको छ ।

स्वास्थ्य विज्ञहरूका अनुसार, सुर्तीजन्य पदार्थको बढ्दो प्रयोगले क्यान्सर, मुटुरोग, श्वासप्रश्वाससम्बन्धी रोग लगायतका नसर्ने रोगको जोखिम बढेको छ । विश्वव्यापी तथ्यांकले समेत करिब ३० प्रतिशत क्यान्सरका घटनाहरू सुर्तीजन्य पदार्थको प्रयोगसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको देखाएको छ, जसले सार्वजनिक स्वास्थ्यमा यसको गम्भीर असरलाई उठान गरेको छ ।

हालै सम्पन्न राष्ट्रिय बहुसूचक सर्वेक्षण (नेसनल मल्टिइन्डिकेटर सर्भे)का अनुसार नेपालमा करिब ४२ प्रतिशत पुरुषले पछिल्लो एक महिनाभित्र कुनै न कुनै प्रकारको सुर्तीजन्य पदार्थ सेवन गरेका छन् । महिलामा भने यो दर निकै कम छ । प्रदेशगत रूपमा कर्णाली प्रदेश र मधेस प्रदेशमा सुर्तीजन्य पदार्थको प्रयोग सबैभन्दा बढी देखिएको छ ।

अध्ययनले सुर्ती सेवनको लत किशोर अवस्थामा नै हुने गरेको देखाएको छ । औसतमा नेपालीहरूले १३ वर्षको उमेरमै सुर्तीजन्य पदार्थको प्रयोग थाल्ने गरेका छन् भने अधिकांश प्रयोगकर्ताले १५ वर्ष पुग्नुअघि नै यसको सेवन सुरु गरिसकेका हुन्छन् ।

विगत दुई दशकमा चुरोट सेवन गर्नेहरूको संख्या उल्लेखनीय रूपमा घटेको छ । धुम्रपान गर्नेको दर ३१.८ प्रतिशतबाट झरेर करिब १५ प्रतिशतमा पुगेको छ । तर, सुर्तीरहित सुर्तीजन्य पदार्थ, विशेषगरी गुट्खा र पान मसलाको प्रयोग भने बढ्दो क्रममा छ ।

सन् २०२० देखि २०२४ मा सुर्तीरहित उत्पादनको प्रयोग ३१.८ बाट बढेर ३४ प्रतिशत पुगेको तथ्यांकले देखाएको छ । विशेषगरी तराई क्षेत्रमा यसको प्रयोग उच्च रहेको पाइएको छ ।

विशेषज्ञहरूका अनुसार, मुटुरोग, क्यान्सर तथा श्वासप्रश्वाससम्बन्धी रोगमा सुर्तीजन्य पदार्थको ठूलो योगदान रहेको छ । मुटुसम्बन्धी रोगका ५३ प्रतिशत तथा श्वासप्रश्वास र क्यान्सरसँग सम्बन्धित करिब २१ प्रतिशत समस्या सुर्ती सेवनसँग प्रत्यक्ष रूपमा जोडिएका छन् ।

यसबाहेक दोस्रो तहको धुम्रपान (सेकेन्ड ह्यान्ड स्मोक) पनि चुनौतीका रूपमा देखिएको छ । नेपालमा ३३.५ प्रतिशत वयस्क आफ्नै घरमा अरूले सेवन गरेको चुरोट वा सुर्तीजन्य पदार्थको धुवाँबाट प्रभावित हुने गरेका छन् । तथ्यले बालबालिका र महिलाहरू अझ बढी जोखिममा रहेको देखाएको छ ।

सेकेन्ड ह्यान्ड धुवाँ (अरूले सेवन गरेको सुर्तीजन्य पदार्थको धुवाँ) एक लुकेको तर गम्भीर स्वास्थ्य जोखिम रहेको अनुसन्धानका प्रतिवेदनहरूमा उल्लेख छन् । सुर्तीजन्य पदार्थले स्वास्थ्य क्षेत्रमा मात्र नभई अर्थतन्त्रमा पनि ठूलो भार थपिरहेको छ । तथ्यांकअनुसार नेपालले सुर्तीजन्य पदार्थका कारण वार्षिक करिब १३ अर्ब रुपैयाँबराबरको आर्थिक नोक्सानी व्यहोर्दै आएको छ ।

नेपाल सुर्तीजन्य पदार्थको प्याकेटमा ९० प्रतिशत स्वास्थ्य चेतावनीमूलक सन्देश अनिवार्य गर्ने विश्वका अग्रणी मुलुकमध्ये एक हो । तर, कानुन कार्यान्वयन भने अपेक्षाकृत कमजोर रहेको विज्ञहरूको भनाइ छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सुर्तीजन्य पदार्थमा ७५ प्रतिशतसम्म कर वृद्धि गर्न सिफारिस गर्दै आएको भए पनि नेपालमा करको दर उल्लेख्य रूपमा बढ्न सकेको छैन । विज्ञहरूका अनुसार, कर वृद्धि र प्रभावकारी अनुगमन गर्न सके सरकारले थप राजस्व संकलन गर्नुका साथै सुर्तीजन्य पदार्थको खपत घटाउन पनि मद्दत पुग्नेछ ।

नेपाल विकास अनुसन्धान प्रतिष्ठान तथा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको सहकार्यमा गरिएको अनुसन्धानले सूर्तीजन्य पदार्थका कारण देशमा उच्च मृत्युदर र नसर्ने रोगको भार बढिरहेको देखाएको छ ।

अनुसन्धानमा उल्लेख भएअनुसार नेपालमा हाल करिब २८ लाख नागरिक नियमित रूपमा धुम्रपान गर्छन् । प्रतिवेदनका अनुसार, नेपालमा हुने प्रत्येक १० मृत्युमध्ये झन्डै दुईजनाको मृत्यु सूर्तीजन्य पदार्थको सेवनका कारण हुने गरेको छ । फोक्सोको क्यान्सर, मुटुरोग, मस्तिष्कघात तथा श्वासप्रश्वाससम्बन्धी रोगहरूका प्रमुख जोखिम कारकमध्ये धुम्रपान अग्रस्थानमा रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार कर्णाली र मधेस प्रदेशमा सबैभन्दा बढी सूर्तीजन्य पदार्थको प्रयोगकर्ताहरू छन् । कर्णालीमा सूर्तीजन्य पदार्थमा पनि धुम्रपान गर्नेको संख्या बढी रहेको प्रतिवेदनमा उल्लेख छ । मधेसमा धुम्रपानभन्दा खैनी, गुट्खा तथा अन्य चपाउने सुर्तीजन्य पदार्थको प्रयोग बढी रहेको पाइएको छ ।

Logo