ट्युमरसँग लडिरहेकी राधिकाको केएमसीमा नि:शुल्क उपचार हुँदै

ट्युमरसँग लडिरहेकी राधिकाको केएमसीमा नि:शुल्क उपचार हुँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडाैं । सिन्धुपाल्चोकका सुरेश सिलवालका लागि पछिल्ला केही महिना असाध्यै पीडादायी बने। उनकी श्रीमती राधिकाको टाउकोमा देखिएको सानो गाँठो ६ महिनाभित्रै टाउकोभन्दा ठूलो ट्युमरमा परिणत भयो। एमआरआई गराएर रोगको पहिचान भए पनि कमजोर आर्थिक अवस्थाका कारण सुरेशले अस्पतालमा भर्ना गरेर उपचार गराउन सकेका थिएनन्।

यसैक्रममा, सामाजिक सञ्जालमा सुरेशले सहयोगको याचना गरेको भिडियो जेन–जी आन्दोलनकी साहसी उद्धारकर्ता किशोरी कार्कीको नजरमा पर्यो। उनले तुरुन्तै काठमाडौँ मेडिकल कलेजका सञ्चालक एवं पूर्वसांसद डा. सुनिल शर्मासँग सम्पर्क गरिन्। राधिकाको गम्भीर अवस्था देखेपछि शर्माले बिनाकुनै ढिलाइ सम्पूर्ण उपचार निःशुल्क गरिदिने निर्णय लिए।

लगत्तै केएमसीको एम्बुलेन्स राधिकालाई लिन पुग्यो र उनलाई अस्पतालको आकस्मिक कक्षमा भर्ना गरियो। त्यहाँ पुग्नुअघि नै चिकित्सकको टोली उपचारका लागि तयार भइसकेको थियो। समयमै उपचारको बाटो खुलेपछि भावुक बनेका सुरेशले सहयोग गर्नेहरूप्रति हृदयदेखि आभार व्यक्त गरेका छन् । उनले भने, ‘तपाईंहरू म र मेरो परिवारका लागि भगवान् सरह हुनुहुन्छ ।’

अहिले सबैको एउटै प्रार्थना छ- राधिका चाँडै पूर्ण रूपमा स्वस्थ भएर आफ्नो सानो सन्तानसँग हाँस्दै घर फर्किऊन्। यसका लागि सबैभन्दा ठूलो धन्यवादका पात्र बन्नेछन् केएमसीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली, उद्धारकर्ता किशोरी कार्की र सबैभन्दा माथि, सधैं मानवीयताको पक्षमा उभिँदै सहयोगको हात बढाउने अस्पतालका सञ्चालक डा. सुनिल शर्मा ।

Logo