काभ्रेका जनप्रतिनिधिमा फैलँदो कोरोना सङ्क्रमण, कुन तहमा कति संक्रमित ?

काभ्रेका जनप्रतिनिधिमा फैलँदो कोरोना सङ्क्रमण, कुन तहमा कति संक्रमित ?

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनालाई सोमबार कारोना पोजेटिभ पुष्टि भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भए लगत्तै उनी ढुङ्खर्कस्थित होम आइसोलेशनमा छन् । उनले पछिल्ला केही दिनदेखि आफूसँग सम्पर्कमा रहेकामा सतर्कताको अपिल गरेका छन् ।

पनौती नगरपालिका प्रमुख भीमप्रसाद न्यौपाने पनि हप्तादेखि कोरोना सङ्क्रमणका कारण होम आइसोलेशनमै छन् । बनेपा नगरप्रमुख लक्ष्मीनरसिं वादे, उपप्रमुख रेखा दाहाल सापकोटा लगायत दुई वडाध्यक्ष कोरोना सङ्क्रमणसँग जुधिरहेका छन् । सङ्क्रमित सबै जनप्रतिनिधि हाल होम आइसोलेशनमै छन् । परिवारसहित सङ्क्रमित धुलिखेल नगर प्रमुख अशोककुमार ब्याञ्जू श्रेष्ठ भने हालै मात्र कोरोनामुक्त भएका छन् ।

पछिल्लो समय काभ्रेपलाञ्चोकमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिरहेसँगै स्थानीय तहका प्रमुख लगायत जनप्रतिनिधिमा कोरोना सङ्क्रमण बढ्दै गएको हो । हालसम्म सङ्क्रमित हुनेमा स्थानीय तहका चार प्रमुख छन् । स्थानीय जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना सङ्क्रमण हुँदा पालिका तथा वडा कार्यालयबाट नियमित प्रवाह भइरहेका सेवा प्रभावित बनिरहेका छन् ।

“जनप्रतिनिधिहरु पनि सुरक्षाकर्मी र स्वास्थ्यकर्मी जस्तै फ्रन्टलाइनमा खट्नुहुन्छ, उहाँहरुलाई स्वास्थ्य–सुरक्षाको उच्च जोखिम हुनु स्वाभाविक हो, तर पनि सजगता अपरिहार्य छ नै”, कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भने । उनका अनुसार यस अघि स्थानीय तहका करीब १२ वडा जनप्रतिनिधिमा सङ्क्रमण देखिइसकेको छ ।

यस्तै प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेललाई सोमबार सङ्क्रमण पुष्टि भएपछि आजदेखि एक हप्ताका लागि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ । सहायक प्रजिअ लक्ष्मीदेवी होमागाईंले सोमबार नै विज्ञप्तिमार्फत प्रजिअ लगायत केही कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यक बाहेकको सेवा कात्तिक २४ गतेसम्मका लागि बन्द गरिएको उल्लेख गरेकी छिन् ।

यसैबीच काभ्रेमा सोमबारसम्म कूल सङ्क्रमितको सङ्ख्या एक हजार ७७५ पुगेको छ । यसमध्ये ७० प्रतिशत अर्थात् एक हजार २२६ कोरोनामुक्त भइसकेको पोष्टले जनाएको छ । हाल कोरोना सक्रिय सङ्क्रमित मध्ये ४४ प्रतिशत अर्थात् २२९ बनेपा नगरका हुन् । धुलिखेलमा ११०, पनौतीमा ८२, पाँचखालमा २६, नमोबुद्धमा १६, मण्डनदेउपुरमा ३४, रोशी र बेथानचोकमा छ–छ, तेमालमा तीन तथा भुम्लु, महाभारत, खानीखोला र चौँरीदेउरालीमा एक, एक सङ्क्रमित छन् ।

हाल सक्रिय सङ्क्रमित मध्ये अस्पताल आइसोलेशनमा ४९ र होम आइसोलेशनमा ४७९ उपचाररत रहेको पोष्टले जनाएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म १४ पुरुष र सात महिला गरी २१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पोष्टका अनुसार २४ घण्टामा ४८ पुरुष र ४४ महिला गरी ९२ नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।रासस

Logo