केन्द्रबिन्दु संवाददाता । काठमाडौं, २ कात्तिक ।
अहिले धेरै आमाबुवाले बच्चालाई भुलाउनका लागि मोबाइल, ट्याब्लोइड, ल्यापटप दिन्छन् । बच्चाहरू मख्ख । अभिभावकलाई पनि ढुक्क ।
तर, घरभित्र बसेर त्यो पनि एकै ठाउँमा, एकै पोजिसनमा घन्टौ विताउनु कति राम्रो हो ? अभिभावकले सोच्नुपर्छ । यसले उनीहरूलाई शारीरिक रुपमा निस्क्रिय त बनाउँछ नै, रचनात्मक क्षमता पनि गुमाउँछन् ।
त्यसो भए के गर्ने त ?
बच्चालाई बढी भन्दा बढी आउटडोर गेम अर्थात घरबाहिरको खेलमा प्रेरित गर्नुपर्छ, जहाँ उनीहरूको शरीर चलायमान हुन्छ । यसले शारीरिक गतिविधि बढ्छ । समग्र स्वास्थ्यमा राम्रो प्रतिफल मिल्छ ।
१. बच्चाको मानसिक विकासका लागि शारीरिक तन्दुरुस्ती आवश्यक हुन्छ । शरीर बलियो, निरोगी, तन्दुरुस्त छ भने उनीहरूले सुनेको, देखेको कुरालाई सजिलै ग्रहण गर्न सक्छन् । त्यसैले वौद्धिक विकासको लागि शारीरिक तन्दुरुस्ती महत्वपूर्ण हुन्छ । अतः शारीरिक तन्दुरुस्तीका लागि व्यायाम अनिवार्य हुन्छ । यदि बच्चा बाहिरी खेलमा अभ्यस्त छन् भने उनीहरूको शारीरिक व्यायाम हुन्छ । उनीहरू साथीसँग खेल्छन्, दौडन्छन्, उफ्रिन्छन् । यसले शारीरिक व्यायाम राम्ररी हुन्छ ।
२. बच्चाको मस्तिष्कमा कल्पना शक्तिको अथाह भण्डार हुन्छ । जब उनीहरू मोबाइल, टिभीको गेममा भुलिन्छन्, भिडियोमा रमाउन थाल्छन्, उनीहरूको कल्पना शक्तिको प्रयोग हुँदैन । तर, यदि उसलाई बाहिरी खेलमा सामेल गराइयो भने उनीहरू नयाँ नयाँ कुरा सोच्न थाल्छन् । नयाँ प्रयोग गर्न उत्साहित हुन्छन् । नयाँ कुरा बनाउँछन् । माटोको सुन्दर घर बनाउने, पानीमाथि डुंगा कुदाउने अभ्यास गर्छन् । यसले उनीहरूको कल्पनाशक्ति थप बढ्छ ।
३. एक्लै कोठाभित्र बसेर खेल खेल्दा बच्चाको सामाजिक कौशलको विकास हुने मौका मिल्दैन । उनीहरू समूहमा बस्न, रुझ्न सक्दैनन् । एकअर्काप्रति सहयोगको भावना पनि हुँदैन । तर, बच्चालाई घरबाहिरको खेलमा प्रेरित गर्ने हो भने उनीहरूमा सामाजिक भावनाको पनि विकास हुन्छ । खासगरी बच्चाहरू समूहमा खेल्छन् । उनीहरूले समूहमा मिल्न, प्रतिस्पर्धा गर्न सिक्छन् । खेलकै माध्यमबाट एकअर्काको सहयोग गर्ने बानीको पनि विकास हुन्छ । उनीहरूले साथी बनाउन सिक्छन्, साथीसँग कसरी मिल्ने भन्ने कुरा पनि जान्दछन् ।
४. बच्चाहरू स्वभावैले जिज्ञासु हुन्छन् । र, जतिधेरै जिज्ञासा हुन्छ, उनीहरू त्यति नै बढी जानकारी पनि हासिल गर्छन् । तर, घरभित्र मोबाइल, ट्याब्लोइडमा मात्र खेल्ने बानी छ भने उनीहरूमा खासै जिज्ञासा रहँदैन ।
घर बाहिरको खेल खेल्न प्रेरित गरियो भने उनीहरू नयाँ नयाँ कुरा जान्नका लागि उत्सुक हुन्छन् । यसले गर्दा बच्चाहरूले व्यवहारिक रुपमै धेरै कुरा जान्ने मौका पाउँछन् ।
५. घरभित्र एउटै पोजिसनमा बसेर खेल्ने बच्चाको तुलनामा बाहिर खेल्ने बच्चाको स्वास्थ्य बलियो हुन्छ । उनीहरू निरोगी हुन्छन् । दौडने, उफ्रने जस्ता गतिविधिले उनीहरूलाई राम्ररी व्यायाम हुन्छ । यसले शारीरिक अंगहरू सक्रिय हुन्छन् र त्यसले सही ढंगले आफ्नो कार्य सम्पादन गर्न सक्छन् । रक्त प्रवाह राम्ररी हुन्छ, पाचन क्रिया चुस्त हुन्छ । यसरी घरबाहिर खेल्ने बानीले बच्चाहरू निरोगी हुन्छन् । (एजेन्सीको सहयोगमा)





























प्रतिक्रिया