हुम्ला ।
हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो जानकारी दिइएको हो । बिहीबार र शुक्रबार सञ्चालन भएको गोष्ठीमा गाउँपालिकाका छ स्वास्थ्य संस्थाले वर्षभरि गरेका कामको छलफल गरिएको थियो ।
गाउँपालिकामा रहेका स्वास्थ्य संस्थामा प्रसूति गराउनेको सङ्ख्या, नियमित बालबालिकामा लगाइने खोप, औषधि पुगनपुग लगायत विषयको समीक्षा गरीएको रिप स्वास्थ्यचौकीका इञ्चार्ज चन्द्रसिंह कार्कीले बताए। नेपाल सरकारको नियम अनुसार ९० प्रतिशत बढी बालबालिकालाई खोपको पहुँचमा पुर्याउनु पर्ने भए तापनि भौगोलिक विकटताका कारण समयमै औषधि नपुगेकाले सोच अनुरुप हुन नसकेको उनले बताए। माग फाराम अनुसार औषधि र खोप नपुग्नु, ढुवानी लगायत समस्याका कारण लक्ष्यसम्म पुग्न नसकिएको जनाइएको छ ।
पछिल्लो समय स्वास्थ्यचौकीमा प्रसूति गराउनेको सङ्ख्यामा समेत वृद्धि भएको छ । यातायातको असुविधा र अन्य विविध समस्या भए पनि सोही पालिकाका सायाँ, रिप, उनापानी, जैर लगायत गाउँका प्रायः महिला स्वास्थ्य संस्थामा आएर प्रसूति हुने गरेको कार्कीले बताए। भौगोलिक विकटताका कारण समयमै खोप नपुग्नु, जनचेतनाको अभाव, स्थानीय तहले प्रभावकारी भूमिका नखेल्नु र चासो नदिएका कारण सोचे अनुरुप काम गर्न नसकिएको कार्कीले गुनासो गरे ।रासस































प्रतिक्रिया