वार्तालाई असफल पारेर डा. केसीको जीवनलाई समाप्त पार्ने खेल भएको प्रदर्शनकारीको आरोप

वार्तालाई असफल पारेर डा. केसीको जीवनलाई समाप्त पार्ने खेल भएको प्रदर्शनकारीको आरोप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अनसनरत डा. गोविन्द केसीको पक्षमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै १९ औँ पटक अनसन बसेका डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै प्रदर्शन गरिएको हो । बिहीबारबाट डा. केसी र सरकारी पक्षबीच वार्ता भइरहे पनि कुनै नतिजा आउन सकेको छैन ।

वार्तालाई असफल बनाएर सरकारले डा. केसीको जीवन नै समाप्त पार्ने नियत राखेकोे केसी समर्थकहरुको आरोप छ । प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको निर्देशनमा रोकिएको बताए । प्रधानमन्त्री र मन्त्रीको निर्देशनले वार्ता रोकिनुको कारण डा. केसीको जीवनमा जुनसुकै घटना भएपनि आफूहरुलाई सरोकार नै छैन भन्ने नकारात्मक सोचाई भएको उनको भनाइ छ ।

माइतीघरमा भएको प्रदर्शनमा ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोज्ने सरकार धेरै दिन टिक्दैन’, ‘डा केसीको माग पूरा गर’, ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन् । सरकार र डा. केसी पक्षले वार्ता टोली गठन गरेर बिहीबार र शुक्रबार वार्ता गरिएको थियो । बिहीबार केही समझदारी भए पनि शुक्रबार राति भएको वार्तामा सरकारी पक्ष पछि हटेको डा. केसी पक्षधरको भनाइ रहेको छ । केसी पक्षले यसअघि नै विज्ञप्ति जारी गर्दै सरकार समझदारीबाट पछि हटेको बताइसकेको छ ।

Logo