कोभिड दोस्रो लहरमा कहाँ चुक्यौं, अब कस्तो हुनुपर्छ तयारी? –डा. रवीन्द्र पाण्डे

कोभिड दोस्रो लहरमा कहाँ चुक्यौं, अब कस्तो हुनुपर्छ तयारी? –डा. रवीन्द्र पाण्डे

केन्द्रबिन्दु
0
Shares

अहिले हामी कोरोना महामारीको दोस्रो लहरको सामना गरिरहेका छौँ। कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या १० हजार नाघिसकेको छ, जसमध्ये अधिकांशको मृत्यु दोस्रो लहरले नै निम्त्यायो। पहिलो लहर भने नियन्त्रित नै थियो। 

महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहर घातक हुनुका पछाडि बढी घातकता र संक्रामकता भएको ‘डेल्टा’ भेरियन्टलाई मुख्य कारक मानिएको छ। तथापि, यो भेरियन्ट मात्रै हामी दोस्रो लहरमा चुक्नुको कारण भने होइन। 

दोस्रो लहरमा कहाँ चुक्यौं हामी ?

कोरोना महामारीको पहिलो लहरमा स्थानीय तह सक्रिय थिए। कन्ट्याक्ट ट्रेसिङ, पिसिआर परीक्षण, क्वारेन्टिनजस्ता महामारी नियन्त्रणका अचुक उपाय स्थानीय तहको सक्रियतामा कार्यान्वयन भइरहेका थिए। 

दोस्रो लहर हावी हुँदै गर्दा हामीले यी सबै कुरालाई नजरअन्दाज  गर्यौं। पहिलो लहरमा जसरी सक्रियतासहित बृहत् स्तरमा परीक्षण र कन्ट्याक्ट ट्रेसिङ हुन सकेन। विदेश जानेजस्ता आवश्यकता भएका र रोगले गम्भीर बनाएका व्यक्तिहरूको मात्र परीक्षण भयो। आइसियुमा भर्ना हुने र मृत्यु हुनेको संख्या तुलना गर्दा पनि सिकिस्त अवस्थामा भएका मानिसमा मात्र परीक्षण केन्द्रित भएको देखियो।

परीक्षण र कन्ट्याक्ट ट्रेसिङ कमजोर हुँदा संक्रमणको ‘हटस्पट’ कहाँ छ भन्ने नै हामीले थाहा पाउन सकेनौँ। काठमाडौँमा संक्रमण बढेको त हामीलाई थाहा छ, तर काठमाडौँको कुन ठाउँमा संक्रमण बढ्दैछ अर्थात् कुन ठाउँ ‘हटस्पट’ बन्दैछ भन्ने कसैलाई थाहा छैन, न सरकारलाई न विज्ञलाई। 

खोप विकास भयो, तर हामीले समयमै खोप प्राप्त गर्न सकेनौँ। पहिलो लकडाउन खुलेपछि जनस्वास्थ्यको मापदण्ड पालना पनि एकदम कमजोर हुन पुग्यो। यसरी हेर्दा सरकार मात्र होइन, हामीआम मानिस पनि चुक्यौं। 

तेस्रो लहरका लागि कस्तो अर्थ राख्छ ?

तेस्रो लहर कहिले र कस्तो आउँछ भनी आँकलन गर्न त सकिन्न। तर, तेस्रो लहरलाई कमजोर बनाउने तयारी चाहिँ गर्न सकिन्छ। 

खोपले रोगको संक्रामकता र घातकता घटाउने कुरा पुष्टि भइसकेको छ। त्यसैले, खोप नपाउने जनसंख्या तेस्रो लहरको उच्च जोखिममा छ। त्यसैकारण सरकारले खोप खरिद र वितरणमा ध्यान दिनुपर्छ। तर, खोप खरिद र वितरण मात्रै काफी हुँदैन। सरकारले खोपबारे तथ्यांक राख्दै खोप नलगाउने मानिसले किन लगाइरहेका छैनन् भन्ने बुझी रणनीति विकास गर्नुपर्छ। 

पहिलो लहरमा सिकेर दोस्रो लहरमा हामीले भुलेका मास्क लगाउने, भौतिक दूरी कायम गर्ने र संक्रमित भए क्वारेन्टिन बस्नेजस्ता जनस्वास्थ्यका उपायलाई पुनः निरन्तरता दिनु आवश्यक छ। साथै, स्थानीय सरकारलाई सशक्तीकरण गर्दै परीक्षणको दायरा वृद्धि र कन्ट्याक्ट ट्रेसिङमा विशेष ध्यान दिनुपर्छ। यसबाहेक अस्पतालहरूको क्षमता विकास गर्ने समय पनि यही हो। तेस्रो लहर आइसकेपछि गरेको तयारीले केही अर्थ राख्दैन।

यो सबै सरकारको कामबाट मात्रै सम्भव छैन। जनसाधारणले यो कुरा नबुझेसम्म महामारी नियन्त्रण फितलो नै रहनेछ। दोस्रो लहरमा हामीले गरेका गल्तीले विशेष अर्थ राख्छन्। यी गल्तीबाट पाठ नसिके तेस्रो लहर घातक पनि हुन सक्छ। 

(जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेसँग केन्द्रबिन्दुकर्मी कुशल बस्नेतले गरेको कुराकानीमा आधारित)
 

Logo