काठमाडौं ।
यतिबेला कोरोना भाइरसको महामारीले विश्वलाई नै आक्रान्त बनाएको छ । यो महामारीले विश्वलाई नै ६ महिना भन्दा बढी लकडाउनमा बस्नु परेको थियो तर सधैं यसरी विश्व लकडाउनमा रहने अवस्था नहुने भएकाले अहिले लकडाउनलाई हटाएर बन्द रहेका प्रायः क्षेत्रहरु खुल्ला भएका छन् । तर विश्वभरमा नै कोरोना संक्रमणको दर बढ्दै गएको छ ।
विश्वका स्वास्थ्य तथा आर्थिक रुपमा बलियो मानिएका शक्तिशाली मुलुकलाई समेत नियन्त्रण गर्न समस्या परिरहेको छ । कोरोना भाइरसको महामारीले नछोएका मुलुक प्रायः कमै रहेका छन् भने यतिबेला प्रायः मुलुकले कोरोनालाई नियन्त्रण भन्दा बाहिर जान दिएका छैनन् । कतिपय मुलुकले भाइरस नियन्त्रण गरिसकेका छन् । तर पनि संक्रमणदर भने बढ्दै गएको छ ।
विश्वमा यो समाचार तयार पर्दासम्म ३ करोड ५१ लाख ३९ हजार ६ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १० लाख ३८ हजार २८ जनाको मुत्यु भएको छ भने विश्वभर निको भएर घरफर्किनेहरुको संख्या २ करोड ६१ लाख २८ हजार ४ सय १० जना पुगेका छन् ।
यो महामारीबाट नेपाल पनि अछुतो रहेको छैन । नेपालमा पनि कोरोना संक्रमण देखा परेपछि कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि साउन ७ गतेसम्म र भदौ ३ गतेदेखि २४ गतेसम्म निषेधाज्ञा लागू गरेको थियो । लकडाउनको अवधिको करिव चार महिनामा कोरोना संक्रमण दर कम भएपनि लकडाउनको अन्त्य गरे पश्चात काठमाडाैं उपत्यकासहित देशैभर कोरोना संक्रमण तथा मृत्यु समेत ह्वातै बढ्दै गएको थियो ।
लकडाउन र निषेधाज्ञाको समयमा पनि कोरोना संक्रमण दर बढ्दै गएको तथा लकडाउन र निषेधाज्ञा लगाइरहँदा मुलुकको आर्थिक अवस्था जटिल बन्दै जाने भएकाले सरकारले सबै क्षेत्र खुल्ला गर्दै गएको छ भने ६ महिना लामो लकडाउन तथा निषेधाज्ञाले रोजगारी तथा व्यापार व्यवसाय बन्द गरेर बसेका सर्वसाधारणको जनजीवन सहज बन्दै गएको छ । तर यहि बेलामा कोरोना संक्रमण पनि ह्वातै बढेर गएको छ । सर्वसाधारणमा लाग्दै आएको भाइरस यतिबेला नेपालको उच्च तहमा रहेका भिआइपीहरुमा समेत संक्रमण बढ्न थालेको छ । अहिले विश्वको शक्तिशाली राष्ट्र अमेरिकाका राष्ट्रपतिलाई समेत कोरोना पोजेटिभ भएकाले विश्व तरंगित बनेको छ ।
नेपालमा पनि विगत एक महिनादेखि भिआइपीमा पनि कोरोना संक्रमण हुन थालेको छ । यसले गर्दा नेपालमा कोरोना संक्रमण समुदायस्तरमा नै फैलिएकाले उच्च सर्तकता अपनाउनु पर्ने देखिएको छ । शनिबार प्रधानमन्त्री केपी ओलीका तीन सल्लाहकारसहित प्रधानमन्त्रीनिवास बालुवाटारमा खटिएका ६३ सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, सचिवालयका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी र फोटोग्राफर राजन काफ्ले संक्रमित भएका छन् । शुक्रबार कोरोना परीक्षणका लागि स्वाब दिएका उनीहरूको रिपोर्ट शनिबार पोजेटिभ आएको हो ।
त्यस्तै, स्वाब परीक्षणका क्रममा प्रधानमन्त्रीको सुरक्षार्थ खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका कर्मचारीसहितको स्वास्थ्य परीक्षण रिपोर्ट शनिबार पोजेटिभ देखिएको छ । कोरोना संक्रमणको पुष्टि भए पनि प्रधानमन्त्रीका सल्लाहकारहरू रिमाल, थापा, भट्टराईसहित सचिवालयका कसैमा लक्षण देखिएको छैन । शुक्रबारसम्म प्रधानमन्त्रीनिवास बालुवाटार र सिंहदरबारमा नियमित काममा रहेका उनीहरू पोजेटिभ रिपोर्ट लगत्तै शनिबारबाट निजी निवासमै प्रोटोकलको पालना गर्दै ‘आइसोलेसन’मा बसेका छन् ।
तीन सल्लाहकारसहित बालुवाटारमा पाँच दर्जन सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि थप सजगता अपनाउँदै प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटार निवासमै आइसोलेसनमा बसेका छन् । तर प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको गत बिहीबार स्वाब परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो । यसरी अन्य धेरै उच्च पदमा रहेका व्यक्तिहरुलाई कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै, पूर्वस्वास्थ्यमन्त्री गगन थापासहित कांग्रेसका चारजना केन्द्रीय सदस्यमा कोरोना भाइरसको संक्रमण देखिएको छ । उनीहरूसँगै कर्मचारी र सुरक्षाकर्मी लगायतमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कांग्रेस केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा १५ असोज गते पदाधिकारी, केन्द्रीय सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी २७० जनाको कोरोना परीक्षण गरिएको थियो । शनिबार आएको रिपोर्टमा केन्द्रीय सदस्य गगन थापा, पूर्वमन्त्री एवं केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू कल्पना चौधरी र शम्भुलाल श्रेष्ठलाई कोरोना देखिएको हो ।
यसरी सर्वसाधारणदेखि भिआइपीमासम्म कोरोना पोजेटिभ देखिनु नेपालका लागि दुखद् भएको विज्ञहरुले बताएका छन् । विज्ञहरुले नेपालमा कोरोना भाइरस संक्रमण तिव्ररुपमा फैलिन थालेकाले उच्च सर्तकतासहित स्वास्थ्य मापदण्डलाई हरेक क्षेत्रमा कडाइका साथ पालना गर्नु पर्ने सल्लाह दिएका छन् ।
यसरी सर्वसाधारणदेखि भिआइपीमासम्म कोरोना पोजेटिभ देखिनु नेपालका लागि दुखद् भएको विज्ञहरुले बताएका छन् ।
इपिडिमिलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा.बाबुराम मरासिनीले नेपालमा कोरोना भाइरस अहिले नियन्त्रण भन्दा बाहिर गएको बताएका छन् । उनका अनुसार भाइरस देखा परेदेखि नियन्त्रणको लागि सरकारले जति गर्नु पर्ने हो त्यति नगरेकाले अहिले यो अवस्था आएको छ । उनले भने, ‘कोरोना गर्मि समयमा भन्दा जाडो महिनामा धेरै बाँच्ने भएकाले अब जाडोको समयमा अझ संक्रमण बढ्दै जान्छ । त्यसका लागि सरकारले चाडपर्व तथा जाडो महिनामा कोरोना संक्रमण नियन्त्रण गर्ने योजना बनाउन जरुरी रहेको छ ।’
अब यसको नियन्त्रणका लागि लकडाउन र निषेधाज्ञा लगाउने भन्दा पनि स्वास्थ्य मापदण्डलाई कडाइका साथ लागू गरेर कोरोनासँगै बाँच्न सक्नुपर्छ । भिडभाडलाई कम गर्नुपर्छ । अहिले धेरैजसो स्वास्थ्य मापदण्डहरु पूर्णरुपमा पालना नभएकाले नै जोखिम बढी रहेको उनको भनाइ छ ।
सरकारले चाडपर्वमा भाइरस नियन्त्रण गर्नका लागि नाकामा पिसिआर रिर्पोट बिना आउन र जान नपाउने व्यवस्था गरेर पिसिआर परीक्षण शुल्क घटाएर ३ चार सयदेखि ५ सयसम्म बनाउनु पर्ने डा.मरासिनीले बताए । कोरोना नियन्त्रणका लागि सरकारले डोकोमा दुध दुहुन खोजेकाले पनि अहिलेको समस्या आएको छ । भिआइपीहरुले यो अवस्थामा पनि भेटघाट धेरै गर्ने तर स्वास्थ्य मापदण्ड लागू नगरेकाले कोरोना संक्रमण देखिएको उनको भनाइ छ ।
त्यस्तै, सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले पनि लकडाउन तथा निषेधाज्ञाको अवस्थामा कोरोना हटस्पटबाट आएर बसेर आएका मानिसहरु घरमा बस्दा अन्य परिवारका सदस्यहरुलाई उनीहरुमार्फत कोरोना संक्रमण भएको देखिएको बताएका छन् । उनका अनुसार अहिले पारिवारिक रुपमा कोरोना संक्रमण देखिन थालेको छ । उनले भने, ‘अब जनस्वास्थ्यका मापदण्डलाई नै पूर्णरुपमा पालना गरेर युवाहरु काममा लाग्ने र दीर्घरोगी तथा बुढाबुढीहरुलाई सुरक्षित राख्नुको विकल्प छैन ।’
उनले भने, ‘अब जनस्वास्थ्यका मापदण्डलाई नै पूर्णरुपमा पालना गरेर युवाहरु काममा लाग्ने र दीर्घरोगी तथा बुढाबुढीहरुलाई सुरक्षित राख्नुको विकल्प छैन ।’
अहिले पनि भाइरसको कुनै पनि औषधि नभएकाले हामी सबैले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने, आवश्यकभन्दा बाहिर हिडडुल नगर्ने, भिडभाडमा नजाने र पहिलेको व्यवहार परिर्वतन गर्ने तथा काम गर्ने प्रणालीलाई पनि परिर्वतन गर्नु जरुरी रहेको छ । त्यस्तै, यो दशैं मनाउने तरिका पनि परिर्वतन गर्नु पर्नेछ । किनकी अहिले ४० प्रतिशतभन्दा बढी कोरोना संक्रमितलाई कुनै पनि लक्षण देखिएको छैन । त्यसैले पनि सजक हुनु पर्ने भएको छ । अझ चाडपर्व नजिकिदै गएकाले काठमाडौं उपत्यकाबाट गाउँघरमा कोरोना प्रवेश गर्ने त होइन भन्ने चिन्ता बढाएको हुनाले बच्नको लागि मापदण्ड लागू गर्नु पर्ने उनको भनाइ छ ।
मैले यस भन्दा धेरै अगाडि नै भनेको थिएँ, नेताहरुको भेटघाट भर्चुअल नभएर धेरै नै भौतिकरुपमा नजिक भएर सुरक्षाका मापदण्ड प्रयोग नगरिएकाले पनि भिआइपीहरुमा कोरोना संक्रमण देखिएको छ । अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प लुकेर बस्दा त लाग्यो हाम्रा नेतालाई नलाग्ने कुरै भएन । यो एक दिन हुन्छ भन्ने थियो भयो पनि । त्यसैले अब हामीले यस्तो अवस्थामा पनि कमजोर सोच्यौं भने अहिलेको भन्दा पनि भयाबह हुने स्थिती रहेको उनको जिकिर छ ।
त्यस्तै, जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमण भए देखिनै सर्वसाधारणदेखि उच्चतहका व्यक्तित्वले समेत सामान्य मास्क समेत सहि तरिकाले नलगाएकाले पनि संक्रमण बढ्दै गएको बताए । हामीले मास्कलाई नै सहि तरिकाले लगाएमा मात्रै पनि भाइरस यति धेरै फैलिन नपाउने उनको भनाइ छ ।
उनका अनुसार अहिले हामी सबैले घरमा नै बनाएको खानेकुरा खाने, भिडभाडमा नजाने, बानि व्यवहारलाई सुधार गर्ने गर्नु पर्छ । सरकारले पनि जनस्वास्थ्यको क्षेत्रमा सुरक्षाका मापदण्ड लागू गर्ने, अस्पतालको क्षमता बढाउने, सुरक्षाका मापदण्ड लागू भएको छ की छैन अनुगमन गर्ने जस्ता काममा विश्वमा धेरै देशहरु रहेकाले हाम्रो सरकारले पनि यहि नियमलाई लागू गर्नू पर्छ । उनले भने, ‘सरकारले अहिलसम्म पनि यी कुराहरुलाई व्यवस्थापन गर्न सकेको छैन । त्यसैले अहिले नै भएका अस्पतालहरु बिरामीले भरिएकाले सर्वसाधारणले पनि एकदमै जागरुक हुनु पर्छ अनि मात्रै संक्रमण नियन्त्रण गर्न सकिन्छ नत्र भाइरस नियन्त्रण भन्दा बाहिर जान सक्छ ।’
सरकारले पनि सबै निकायसँग समन्वय बढाएर अस्पतालका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता बेलामा दिएर, मर्कामा परेका जनतालाई कुनै राहत दिएको छैन । राहतको पनि व्यवस्था गर्नु पर्छ अनि मात्रै सबैले जागरुक भएर काम गर्ने उनको भनाइ छ ।
अहिले संक्रमण बढ्दै जानुमा सरकारका धेरै कमजोरी रहेका छन् । सरकारले लकडाउनमा खासै काम गरेन, लकडाउनमा सरकारले सडकमा मात्रै सुरक्षा गरेको तर भित्री बस्ती तथा गल्लीमा ध्यान दिएन । कोरोना सडकमा भन्दा यस्ता गल्लीहरुमा मानिसहरुलाई लाग्ने भएकाले यता ध्यान दिनु पर्ने थियो तर त्यस्तो नभएकाले पनि कोरोना समुदायमा फैलिन मद्दत पुगको हो । त्यसैले अब सरकार नागरिक प्रति अलि बढी जिम्मेवार हुनु पर्यो र हामी पनि अनुशासित बन्नु पर्ने उनको भनाइ छ ।
आइतबार मात्रै २ हजार २५३ जना सक्रमित थप
आइतबार मात्रै नेपालमा २ हजार २५३ जना थपिएका छन् । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ८६ हजार ८२३ पुगेको छ । त्यस्तै कोरोनाबाट देशभर निको हुनेको संख्या ६४ हजार ६९ पुगेको छ । निको हुनेको संख्या १ हजार ३२९ छ । आइतबारको पिसिआर परिक्षण १२ हजार ७८४ रहेको छ । आज २२ हजार २१९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३५ पुगेको छ । आइतबार मात्र ७ जनाको मृत्यु भएको छ । त्यस्तै, काठमाडौं उपत्यकामा आज १ हजार ५९९ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ३७३, भक्तपुरमा ३९ र ललितपुरमा १८७ जना थपिएका हुन् । स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २४ हजार ४७, ललितपुरमा २ हजार ९८३ र भक्तपुरमा २ हजार ४८७ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २९ हजार ५१७ पुगेको छ ।





























प्रतिक्रिया