नियमित ‘ब्रस’ गर्नेको पनि दाँत किन बिग्रन्छ?

नियमित ‘ब्रस’ गर्नेको पनि दाँत किन बिग्रन्छ?

केन्द्रबिन्दु
0
Shares

  • म्यागी कोएर्थ

खानपानसँगै हाम्रो दाँतको स्वास्थ्य पनि परिवर्तन हुँदै गयो। प्राचिन मानव र उनीहरूका ‘होमिनिन’ पूर्खाका दाँतमा ‘क्याभिटी’को समस्या खासै रहेको पाइँदैन। 

पुरानो दाँतमा ‘क्याभिटी’ यतिसम्म दुर्लभ छ कि त्यसबारे एउटै अध्ययनले दन्तविज्ञानमा सन्सनी नै मचाउने गर्छ। दाँतको समस्या तब सुरु भयो जब मानिसहरू खेतीपातीसँगै उच्च मात्रामा कार्बोहाइड्रेट भएको खाना खान थाले। १९ औँ शताब्दीमा प्रशोधित आँटा र चिनीको खोजले यसलाई अझ मलजल गर्यो। 

पछिल्ला केही दशकका अध्ययनले हाम्रो दाँतको स्वास्थ्यसँगै हाम्रो मुखभित्र पाइने अर्को कुरा पनि परिवर्तन हुँदै गएको पत्ता लगायो। ‘क्याभिटी’ भएको मुखमा स्ट्रेप्टोकोकस म्युटान्स जस्ता प्रजातीका ब्याक्टेरिया पाइने एक अध्ययनले देखाएको छ। मानिसको खानपिन परिवर्तन हुँदै जाँदा ‘क्याभिटी’को समस्या बढीभन्दा बढी देखिएसँगै ती ब्याक्टेरियाको हाम्रो मुखमा प्रभुत्व बढ्दै गयो। मुखमा हुने ब्याक्टेरियाको विविधता हाम्रा पूर्खाको तुलनामा हामीमा कम छ। हिजोआज हाम्रो मुखमा अरू खालका ब्याक्टेरियाभन्दा ‘क्याभिटी’ गराउने ब्याक्टेरियाको उपस्थिति बढी छ।

‘क्याभिटी’लाई वैज्ञानिकहरूले सूक्ष्मजैविक समस्याका रूपमा व्याख्या गर्न थालेका छन्। तपाईँले ‘क्याभिटी’बाट बच्न नियमितरूपमा पाउने ‘ब्रस गर्नुस्, गुलियो कम खानुस्’ जस्ता सुझाव अझै पनि महत्वपूर्ण नै छन्। तर, तपाईँको मुखमा भएका ब्याक्टेरियाको पनि दाँतको स्वास्थ्यमा भूमिका हुन्छ भन्ने चाहिँ स्पष्ट भएको छ। दाँतको स्वास्थ्यका सबै नियम पालना गर्दा पनि मानिसहरूमा ‘क्याभिटी’को समस्या हुने गरेको पाइन्छ। 

ब्याक्टेरियाको पाचन प्रक्रियाका कारण दाँतहरूमा क्याभिटी हुने गर्छ। दाँतमा अड्किएको चिनीलगायत खाद्यसामग्रीबाट प्राप्त हुने ‘कार्बोहाइड्रेट’ उक्त ‘क्याभिटी’ गराउने ब्याक्टेरियाको मुख्य खाना हो। सो खानालाई पचाउन ब्याक्टेरियाले फर्मेन्ट (सडाउने) गर्छ जसले अम्ल (एसिड) सिर्जना गर्छ र त्यही एसिडका कारण दाँतमा क्याभिटी हुने गर्छ।

यस किसिमको अर्को जायज प्रश्न जन्माएको छः कुनै खास प्रजातिका ब्याक्टेरियाले तपाईँको दाँतमा ‘क्याभिटी’ ल्याउन सक्छ भने, कुनै अर्को प्रजातिका ब्याक्टेरियाको मात्रा मुखमा बढाएर ‘क्याभिटी’को समस्या सुल्झाउन सकिन्छ त? एक मानिसको मुखको र्याल अर्को मानिसमा सारेर यस प्रश्नको उत्तर पत्ता लगाउन सकिने भए पनि र्याल सार्न सजिलो नभएका कारण राम्रो अध्ययन हुन सकेको छैन। अर्कोतर्फ ब्याक्टेरिया र ‘क्याभिटी’ को सम्बन्ध संयोग मात्रै हो कि कार्य–कारण सम्बन्ध नै छ भन्ने पनि स्पष्ट छैन। 

ब्याक्टेरियाकै कारण ‘क्याभिटी’ भएको हो कि ‘क्याभिटी’ र ब्याक्टेरियाको पछि पनि कुनै खास कारण छ भन्ने अहिलेसम्म स्पष्ट भएको छैन। 

मुखभित्रको सूक्ष्मजीवनलाई सुस्त बनाउने एउटै तरिका छ। त्यो तरिका दैनिक दुईपटक ब्रस गर्नु र कम चिनी खानु नै हो, किनभने यिनले मुखभित्रको वातावरणलाई कम अम्लीय बनाउँछन् जसले ‘क्याभिटी’ गराउने ब्याक्टेरियाका लागि अप्ठेरो स्थिति सिर्जना हुन्छ। अर्कोतर्फ दाँतले अम्लीयतामार्फत् गुमाएको खनिजले इनामेललाई कमजोर बनाउँछ। दैनिक दुईपटक ब्रस गर्नु र कम चिनी खानुले दाँतको खनिजलाई जोगाई इनामेल दह्रो बनाउन सक्छ, जुन ‘क्याभिटी’बाट टाढा रहन सहयोगी हुन सक्छ।  

भविष्यमा वैज्ञानिकहरूले सूक्ष्मजैविक अध्ययनमा आधारित उच्च प्राविधिक समाधान खोजेर ‘क्याभिटी’को समस्याको समाधान निकाल्लान्, जसले सबै नियम मानेर पनि ‘क्याभिटी’को समस्या झेल्ने मानिसहरूलाई राहत दिने अपेक्षा गर्न सकिन्छ। 

(‘फाइभ थर्टी एट’ मा प्रकासित यो लेख केन्द्रबिन्दुका लागि कुशल बस्नेतले अनुवाद गरेका हुन्)

Logo