पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चितः राज्यमन्त्री श्रेष्ठ

पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चितः राज्यमन्त्री श्रेष्ठ

केन्द्रबिन्दु
0
Shares

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको खोप आपूर्ति र खोप लगाउने कार्य सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्यसमितिको बिहीबारको बैठकमा उनले दैनिक तीन लाख व्यक्तिले कोरोनाविरुद्धको खोप लगाइरहेको जानकारी दिए । हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको पनि उनले जनाए।

वर्तमान सरकारले कोरोना विरुद्धका पाँच करोड ३० लाख मात्रा खोपको सुनिश्चितता गरिसकेको छ । हालसम्म ४० लाख १३ हजार ८८० जना अर्थात् १३ प्रतिशतले खोपको पूरा मात्रा लगाएका छन्, राज्यमन्त्री श्रेष्ठले भने ।

उनका अनुसार काठमाडौ उपत्यकामा ६० हजार विद्यार्थीलाई खोप लगाउने लक्ष्य मध्ये हालसम्म २३ हजारले लगाइसकेका छन् ।  

अन्य प्रदेशमा समेत खोप पठाउने कार्य भइरहेको तथा प्रदेश १ र प्रदेश २ मा खोप पर्याप्त मात्रामा पठाइएको राज्यमन्त्री श्रेष्ठले बताए । 

विगतमा रकम तिरिसकेको १० लाख डोज खोप आपूर्ति गर्ने सम्बन्धमा यहाँस्थित भारतीय राजदूतसित छलफल भएको पनि राज्यमन्त्री श्रेष्ठले जानकारी दिए । 

समितिका सभापति जयपुरी घर्तीको अध्यक्षतामा बसेको बैठकमा समितिका सदस्य अञ्जना विशङ्खे, विद्या भट्टराई, गिरिराजमणि पोखरेल, जीवनराम श्रेष्ठ, सरिता न्यौपाने, मानबहादुर विश्वकर्मालगायतले राज्यमन्त्री श्रेष्ठसँग कोरोनाविरुद्धको खोप सम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । 

सभापति घर्तीले विद्यार्थीको जाँच समयमै गर्न तथा उनीहरुलाई चाँडोभन्दा चाँडो खोप लगाउन सरकारको ध्यानाकर्षण गराइन् । रासस

Logo