वीपी प्रतिष्ठानमा झडप, उपकुलपति कार्यालयमा लगाइएको ताला फोडियो

वीपी प्रतिष्ठानमा झडप, उपकुलपति कार्यालयमा लगाइएको ताला फोडियो

केन्द्रबिन्दु
0
Shares

दुई महिनादेखि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लागेको ताला राजनीतिक दलका कार्यकर्ताले फोडिदिएका छन् । 

ओपिडी सेवा ठप्प हुने गरि संयुक्त संघर्ष समितिले आन्दोलन गरेपछि धरानमा रहेका क्रियाशील दल नेकपा एमाले, राप्रपा र संघीय लिम्बुवानका नेता तथा कार्यकर्ताहरूले प्रतिष्ठानका उपकुलपति कार्यालयमा लगाइएको ताला तोडेका हुन् । 

ताला फोड्ने क्रममा केहीबेर प्रतिष्ठान तनावग्रस्त बनेको थियो । त्यसक्रममा भएको दोहोरो झडपमा प्रहरी र राजनीतिक दलका कार्यकर्ता घाइते भएका छन् ।  ओपिडी सेवासमेत अवरुद्ध गरेर बिरामीहरुलाई दुःख दिएको भन्दै ताला फोड्न बाध्य भएको  नेकपा एमाले धरान अध्यक्ष हर्क एभेङले जानकारी दिए ।

उनले अन्य कार्यमा आन्दोलनरत पक्षलाई सहयोग गरे पनि बिरामीको स्वास्थ्यमा खेलवाड गरेकाले प्रतिकारमा उत्रिएको बताए । उनले बिरामीहरुमाथि अन्याय नगर्नसमेत आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् । संघीय लिम्बुवानका जिल्ला अध्यक्ष अमर इजमले पनि शुद्धीकरण आन्दोलनप्रति समर्थन रहे पनि उपचार सेवा ठप्प नगर्न आग्रह गर्दा पनि नमानेपछि विरोधमा उत्रिएको बताए ।

मणिपाल मेडिकल कलेज बिक्रीको विरोधमा प्रदर्शन 

उता ४९ वर्षका लागि भारतीय कम्पनी मणिपाललाई दिइएको पोखराको जग्गा र मणिपालले निर्माण गरेको संरचना समयअगावै बिक्री गरिएको विरोधमा पोखरामा प्रदर्शन भएको छ । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको विद्यार्थी संगठनले मणिपाल खरिद-बिक्री अवैध भएको भन्दै तत्काल सच्याउन माग गरेको हो । केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले सम्झौता खारेज गरेर सबै सम्पत्ति राज्यले लिनुपर्ने बताए । उनीहरूले केहीबेर नाराबाजीसहित प्रदर्शन गरे । 

‘पोखराको सभागृह पनि निजीकरण गर्न खोजिएको थियो । राजमहलको जग्गा पनि यही कम्पनीले कब्जा जनाउन लागेका छन्,’ उनले भने, ‘देशैभरी माफियाहरूले राज्यलाई नियन्त्रण लिन खोजेका छन् । भारतीय कम्पनीले चलाउन नसके मणिपाल राज्यको मातहतमा आउनुपर्छ । कुनै पनि हालतमा मेडिकल कलेजलाई निजीकरण गर्न खोजिँदैछ, त्यसको विरुद्धमा हामी संघर्ष गरिरहन्छौं ।’ उनले शिक्षा र स्वास्थ्य पूर्ण सरकारीकरण गरिनुपर्ने बताए । 

भदौ पहिलो साता मणिपाल कम्पनीले अस्पतालसहितको सबै सम्पत्ति नेपाली व्यवसायीलाई बिक्री गरेको हो । पोखराको व्यावसायिक घराना बतास अर्गनाइजेसन र अर्को व्यापारिक कम्पनी अटोवेजले संयुक्त रूपमा मणिपाल किनेका हुन् । तीन अर्ब ५० करोड रुपैयाँमा मणिपाल खरिद गरिएको अटोवेजका नारायण पौडेलले जानकारी दिए । यसमा बतासको ६० र अटोवेजको ४० प्रतिशत सेयर छ । 

सरकारलाई जानकारी नगराई सुटुक्क मणिपालले अस्पताल बेचेर निस्केपछि त्यसको विरोध पोखरामा नियमित भइरहेको छ । न्युज कारखाना

Logo