स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडा र अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको फाइजर खोप केन्द्र अवलोकन गरेका छन् ।
बिहीबार स्वास्थ्य मन्त्री खतिवडासहित अमेरिकी सहायक विदेश मन्त्री लूको टोलीले अमेरिकाले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको भ्याक्सिन ‘फाइजर–बायोएनटेक’ खोप केन्द्रको अवलोकन गरेका हुन् । खोप केन्द्र अवलोकनपछि स्वास्थ्य मन्त्री खतिवडाले कोरोनाबिरुद्धको फाइजर बायोएनटेक खोप ६० लाख मात्रा नेपाल ल्याउन सम्झौता गरिसकेको बताए । उनले फाइजरको खोप ल्याउन भुक्तानीका लागि सरकारबाट निर्णय भइसकेको पनि बताए । मन्त्री खतिवडाले अबको एक महिना भित्र नेपालको हरेक भागमा खोपको सुरुवात गर्ने बताएका छन् । उनले अहिले खोपको अभाव कतै नभएको बताउँदै २४ घण्टा नै काठमाडौं उपत्यकाका ५ अस्पतालमा खोप लगाइने बताएका छन् । मन्त्री खतिवडाले सरकारले कर्मचारीलाई दिने भनेको जोखिम भत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाए ।
स्वास्थ्य मन्त्री खतिवडाले भने, ‘अमेरिकी सहायक विदेश मन्त्रीसँगै बसेर गर्न पाएकोमा खुसी छौँ, आउँदो दिनमा पनि कोभिड विरुद्धको लडाइँ, अमेरिका र नेपाल एकसाथ रहेर अघि बढ्नेछौँ र मित्रता र सहयोग निरन्तरता भइरहनेछ, अब हामीले थप फाइजर खोप ६० लाख सम्झौता गरिसक्यौँ, भुक्तानी गर्न क्याबिनेटबाट निर्णय गरिसकेका छौँ, उहाँहरूको भनाइअनुसार हामी एक महिना भित्रमा पहिलो लट आउँछ र त्यसपछि क्रमशः हुन्छ, एक लाख पनि हामीले सातै प्रदेशमा पठाएका छौँ, १० र १५ लाखले आउँछ त्यो, प्रदेश, प्रदेशबाट जिल्लामा जान्छ, जिल्लाबाट वडा, एक महिनापछि नेपालको हरेक भागमा खोप सुरुवात गरिसकेका हुन्छौँ, खोपको कतै अभाव छैन, २४ सै घण्टा, टिचिङ, सेना, पुलिसका गरी ५ अस्पताल २४ सै घण्टा खुला गरेका छौँ, अब कहाँ, कति बेला, कति गते खोप लगाउने भनेर कुर्नुपर्ने अवस्था छैन, कर्मचारीले जोखिम भत्ता पाउनेछन्, हामीले भनेको कुरा पूरा गर्छौँ, प्राविधिक केस कारणवश हुन सकेको छैन ।’
अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लूले नेपालीहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिन सहयोग गर्न पाएकोमा खुसी रहेको बताए । उनले फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्ने र कोरोनाबिरुद्धको लडाइँमा अहोरात्र खटिएका डाक्टर, नर्स र हेल्थ वर्कर्सहरु नै वास्तविक हिरो भएको बताए । सहायक मन्त्री लुले फाइजर खोप बालबालिकाका लागि सुरक्षित रहेकाले ढुक्क भएर लगाउन आह्वान गरेका छन् ।
सहायक मन्त्री लूले भने, ‘अमेरिकाले कोरोनाबिरुद्धको भ्याक्सिन नेपालीहरूलाई सहयोग गर्न पाएकोमा हामीलाई खुसी लागेको छ, फाइजर भ्याक्सिनले दीर्घरोगीहरुलाई कोरोनाबाट सुरक्षित राख्छ, डाक्टर, नर्स र हेल्थ वर्कर्सहरुले नै हाम्रो जीवन सुरक्षित राख्ने हो, उहाँहरू रियल हिरो हो, बालबालिकाहरूका लागि यो खोप एकदमै सुरक्षित छ, ढुक्क भएर लगाउन अनुरोध गर्दछु ।’
मन्त्री लूले नेपाललाई आगामी दिनमा सहयोग गरिरहने बताउँदै नेपालले मागेको कोरोनाबिरुद्धको खोप चाँडै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । अमेरिकी सरकारले नेपाललाई अनुदानमा दिएको फाइजर खोपको १ लाख ६२० डोज गत कात्तिक आठ गते काठमाडौँ आएको थियो । सो खोपको पहिलो मात्रा दीर्घरागी १२ वर्षमाथिका बालबालिकाहरूलाई गत कात्तिक २८ गतेबाट लगाउन सुरु गरिएको छ ।





























प्रतिक्रिया