डडेल्धुरा र चितवनमा गरि दुई सङ्क्रमितको मृत्यु

डडेल्धुरा र चितवनमा गरि दुई सङ्क्रमितको मृत्यु


डडेल्धुरा ।

डडेल्धुरा जिल्लामा एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो ।

केही दिन अघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो । नवदुर्गा गाउँपालिकाको एम्बुलेन्समार्फत डडेल्धुरा अस्पताल पुर्याएका पुरुषलाई भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि सङ्क्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोना सङ्क्रमणबाट यो पहिलो मृत्यु हो ।

बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वास प्रस्वासको गति बन्द भईसकेको र स्वाब परीक्षण गर्दा पोजेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट जगदीश बिष्टले जानकारी दिए। शव व्यवस्थापनका लागि डडेल्धुरास्थित गरुड दह गण दह ब्यारेकमा सम्पर्क भइरहेको बिष्टले बताए । योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमित मृतकको सङ्ख्या १६ पुगेको छ ।

सङ्क्रमित एक जनाको मृत्यु

चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो ।

डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो । कोरोना सङ्क्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भईरहेको थियो । उपचारका क्रममा राति उनको मृत्यु भएको हो ।रासस

Logo