‘कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन’: डा. सिंह

‘कोरोना केही होइन भन्ने रुपमा लिनु हुँदैन’: डा. सिंह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कोभिड–१९ बाट सङ्क्रमणमुक्त भएका विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यसलाई केही होइन भन्ने रुपमा लिनु नहुने बताएका छन् । आफू मृत्युको मुखमा पुगेर पनि फर्किएर आएको भन्दै उनले यसबाट सजग रहन सबैलाई अनुरोध गरे । अहिले पनि धेरैले कोभिड भनेको केही होइन भन्ने सोचेर यसलाई वेवास्ता गरिरहेको उनको भनाइ छ ।

कतिपय चिकित्सकले पनि बेसार पानी वा कागती पानी खाए केही केही हुँदैन भन्दै पूर्वसावधानी अपनाउन ध्यान नदिएको उनले बताए। उनले भने, “सजग हुँदा डराउनु पर्ने अवस्था नहोला तर यसलाई केही होइन भनेर वेवास्ता गर्ने भूल गर्नु हुँदैन ।”

कतिपयमा व्यक्तिमा कोभिडले जवान व्यक्तिलाई असर गर्दैन र दीर्घरोगी, ज्येष्ठ नागरिक र बालबालिकालाई मात्रै असर गर्छ भन्ने भ्रम रहेको पाइन्छ । तर यो रोगले कसैलाई नछाड्ने उनको भनाइ छ । आफू कोभिड बिरुद्ध अभियन्ता भएर सिकाउँदै हिँडेको भए पनि सङ्क्रमित भएको र समयमा राम्रो उपचार नपाएको भए आज जे सुकै हुन सक्ने उनले सुनाए । उनले भने, “ सामाजिक दूरी कायम गर्ने, मास्क, सेनेटाइजरको प्रयोग गर्ने सुझाव दोहोर्याउन चाहन्छु ।”

विराट मेडिकल कलेजले सय बेड कोभिड अस्पतालका लागि छुटयाएको डा. कार्कीले बताए । कसैलाई कोरोना लागेमा मनोबल गिराउने काम गर्नु हुँदैन । उनले भने, “एक दुई पटक गर्दा गल्ती तर पटक पटक गर्दा त्यही कुरा अपराध हुन्छ ।”

नेपालमा स्रोत साधन नभए पनि मृत्युदर अरु देशभन्दा कम रहेको उनको भनाइ छ । उनले भने, “हालसम्म निको भएको व्यक्ति ३० हजारभन्दा बढी रहेका छन् ।” कोरोना अरु भाइरस जस्तै पूर्णरुपमा निको नहुने हुँदा यससँगै जीवनयापन गर्नुपर्ने डा. कार्कीले बताए । सामाजिक सञ्जालमा डर नफैलाउन पनि उनले सबैलाई अनुरोध गरे । देशभरका २० मेडिकल कलेजमा जनशक्ति र संरचना रहेको उनले जानकारी दिए। उनले भने, “सरकारले आवश्यकता महसुश गर्दा मेडिकल कलेजसँगै अघि बढ्न तयार छ ।”रासस

Logo