काभ्रेमा शिक्षक–विद्यार्थीको कोरोना बीमा शुरु

काभ्रेमा शिक्षक–विद्यार्थीको कोरोना बीमा शुरु


काभ्रे।

कोरोना भाइरस सङ्क्रमण जोखिम बढिरहेका बेला काभ्रेका तीन वटा स्थानीय तहले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको कोरोना बीमा गर्ने प्रक्रिया थालेका छन् ।

कोरोना कहरकैबीच धुलिखेल नगरपालिका–११ स्थित कालीदेवी माध्यमिक विद्यालयले त जिल्लामै पहिलो पटक सम्पूर्ण विद्यार्थीको कोरोना बीमा शुरु गरेको छ । तेमाल गाउँपालिका र रोशी गाउँपालिकाले पनि आफ्ना सम्पूर्ण स्थायी, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत शिक्षक तथा कर्मचारीको बीमा प्रक्रिया शुरु गरिएको जनाएका छन् ।

“भोलिसम्ममा गाउँपालिका भित्रका सबै विद्यालयलाई त्यहाँ कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीको विवरण पठाउन भनेका छौँ”, तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङले भने । उनका अनुसार गाउँपालिकामा सामुदायिक ४१ विद्यालयमा दुई सयभन्दा बढी शिक्षक कार्यरत छन् । गाउँपालिका कार्यालय तथा वडा कार्यालयमा ६० भन्दा बढी कर्मचारी छन् ।

यस्तै, रोशी गाउँपालिकाले ६९ सामदायिक विद्यालयका स्थायी, अस्थायी, करार तथा ज्यालादारीमा कार्यरत ३५० शिक्षकको कोरोना बीमा शुरु गरेको छ । शिक्षा शाखा प्रमुख राम तामाङका अनुसार सरकारको बीमा बजेट अन्तर्गत नै शिक्षकको निःशुल्क रु एक लाखको कोरोना बीमा गर्न थालिएको हो । “बीमाका लागि हाल शिक्षकको विवरण सङ्कलन भइरहेको छ”, उनले भने । उनका अनुसार गाउँपालिकास्थित विभिन्न कार्यालयमा कार्यरत १३९ कर्मचारीको यस अघि नै कोरोना बीमा भइसकेको छ ।

नमोबुद्ध नगरपालिकाले पनि कोरोना बीमाका लागि शिक्षकको विवरण विद्युतीय माध्यमबाट पठाउन सार्वजनिक सूचनाद्वारा सामुदायिक विद्यालयलाई अपील गरेको छ । यसअघि सम्पूर्ण कर्मचारीको बीमा गरिसकेको नगर कार्यपालिकाले हाल शारीरिक रुपमा अशक्त नागरिकको बीमा गर्ने निर्णय गरेको जनाएको छ ।

यसैबीच, धुलिखेल नगरपालिकास्थित कालीदेवी माविले आफ्ना २२५ विद्यार्थी तथा शिक्षकको निःशुल्क कोरोना बीमा गरेको छ । प्रतिविद्यार्थी ५० हजारको कोरोना बीमा गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र न्यापानेले जानकारी दिए। “विद्यार्थी हाम्रै परिवारका सदस्य भएको नाताले उनीहरुको स्वास्थ्य सुरक्षा समेतको जिम्मेवारी बोध गरी बीमा गरेका हौँ”, उनले भने । यो कार्यले अभिभावकबाट निकै प्रशंसा पाइरहको उनको भनाइ छ । अध्यक्ष न्यौपानेले भने, “अधिकांश विद्यार्थी ग्रामीण क्षेत्रका भएकाले न्यून आय भएका परिवारलाई निकै लाभ मिलेको महसुस गरेका छौँ ।” उनका अनुसार यसले विद्यालय र अभिभावकबीच विश्वासको वातावरण मजबुत बन्ने अपेक्षा गरिएको छ ।

त्यसो त, पाँचखाल नगरपालिकाको २, ३, ४, ५ र ९ वडाले ५० प्रतिशत छुटमा स्थानीयवासीको स्वास्थ्य बीमा सिफारिस गरिरहेका छन् । वडा नं. ४ का अध्यक्ष सुन्दर लामाले आफ्नो क्षेत्रका १२८ एकल महिलाको समेत आफैंले कोरोना बीमाको प्रक्रिया थालिएको बताए । “बीमाका लागि प्रिमियमको आधा सरकार र आधा मैले व्यहोर्ने गरी एकल महिलाको कोरोना बीमा प्रक्रिया थालेको छु”, उनले भने । उनका अनुसार नगरका अन्य वडाले पनि आफ्ना नागरिकको बीमाबारे छलफल गरिरहेका छन् ।रासस

Logo