पिसिआर परीक्षणमा भनसुन नगर्न सरकारको आग्रह

पिसिआर परीक्षणमा भनसुन नगर्न सरकारको आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पछिल्लो समय कोभिड-१९ पहिचान गर्न पिसिआर परीक्षणको लागि भनसुन गर्ने गरेकोमा सरकारले आपत्ति जनाएको छ। पिसिआर परीक्षण कोभिड १९ को औषधि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षण संक्रमण कतातिर हुँदैछ र जोखिममा भएका वा लक्षण भएका व्यक्तिहरुमा चाँडो पत्ता लगाई व्यवस्थापन गर्न र संक्रमणको चाडै पहिचान गरी संक्रमणको चक्र रोक्नको लागि पिसिआर परीक्षण गरिने स्वास्थ्य मन्त्रालयका प्राडा जागेश्वर गौतमले बताए । उपलब्ध स्रोत साधनको समुचित प्रयोग गर्नु सबैको कर्तव्य रहेको उनको भनाइ छ । परीक्षणमा प्रयोग हुने रिएजेन्ट नेपालमा नबन्ने उनले जानकारी दिए । गौतमले भने, ‘ठूलो धनराशी विदेशिने हुन्छ । आवश्यकताको आधारमा मात्र परीक्षण गरौं । सरकारले निःशुल्क परीक्षण गरीरहेको छ।’

शंकास्पद बिरामीहरु, कन्टयाक्ट ट्रेसिङमा परेका व्यक्तिहरु र निश्चित समुदायहरुमा अनुसन्धान प्रयोजनको लागि निःशुल्क परीक्षण गर्दै आइरहेको उनले प्रस्ट पारे। शुल्क तिरेर परीक्षण गर्न चाहेमा त्यसको पनि व्यवस्था रहेको उनले उल्लेख गरे। अनावश्यक परीक्षण नगर्न र नआत्तिनलाई पनि गौतमले आग्रह गरे।

धनी राष्ट्रहरुमा बनेका सामग्रीहरु नेपालमा ल्याएर प्रयोग गर्दा स्वाभाविक रुपमा महंगो पर्न जाने उनले जानकारी दिए। कोभिडको सामग्रीहरु सबैतिर माग छ, महंगो छ र अभाव रहेको पनि उनले प्रस्ट पारे।

‘नेपालमा साढे ६ लाख भन्दा बढीको पिसीआर परीक्षण भइसकेको छ’, गौतमले भने, ‘३७ हजारको हाराहारीमा कोरोना संक्रमितको पहिचान भएको छ। परीक्षणमा धेरै खर्च भइरहेको छ भनेर सोझै अनुमान लगाउन सक्छौं।’

Logo