विहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको नेपालको एकमात्र इलेक्ट्रिकल एवं इलेक्ट्रोनिक्स सामग्रीहरुको अन्तर्राष्ट्रिय स्तरकै बृहत प्रदर्शनी (फीन इलेक्ट्रोटेक २०२२) को दोस्रो दिनमा मेलामा अवलोकनकर्ताहरु सहभागी हुने क्रम बढेको छ ।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा भइरहेको मा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इलेक्ट्रिक सामग्रीहरु प्रदर्शनमा राखिएको छ । मेलामा इलेक्ट्रोनिक व्यवसायी, इन्जिनीयर विद्यार्थी लगायत सबै सरोकारवालाहरु सहभागी भएका छन् । यसैबीच हामीले आयोजक संस्था नेपाल विद्युत व्यवसायी महासंघका महासचिव कोमल पोखरेलसँग पाँच प्रश्न सोधेका छौँ—
यो फीन इलेक्ट्रोटेक–२०२२ के हो ? छोटकरीमा भनिदिनुस् न !
नेपाल विद्युतीय व्यवसायी महासंघद्वारा हरेक दुई दुई वर्षको अन्तरालमा आयोजना हुने सम्पूर्ण नवीनतम तथा अत्याधुनिक विद्युतीय सामग्रीहरुको एकै छानामुनी हुने प्रदर्शनी नै इलेक्ट्रोटेक हो । नेपाल विद्युतीय व्यवसायी महासंघ द्वारा आयोजना गरिएको हुँदा यसलाई फीन इलेक्ट्रोटेक २०२२ भनिएको हो र यो दशौं संस्करण हो ।
वर्तमान समयमा संसारको हरेक कुरा विद्युतसँग जोडिएको हुँदा यो मेलाले सबैलाई फाइदा गर्ने पनिविश्वास रहेको छ ।
यो मेलाको उद्देश्य के हो ?
इलेक्ट्रिक उत्पादनप्रयोग गर्ने इन्डस्ट्रीलाई, उपभोक्तालाई, आर्किटेक्ट बिल्डर्स, होटललगायत इलेक्ट्रिकसँग सम्बन्धित सबैलाई मेलाले सहयोग गर्ने विश्वास लिइएको छ । वर्तमान समयमा संसारको हरेक कुरा विद्युतसँग जोडिएको हुँदा यो मेलाले सबैलाई फाइदा गर्ने पनिविश्वास रहेको छ । गुणस्तरीय सामानहरुको उत्पादन तथा बिक्री वितरणमार्फत उपभोक्ताहरुलाई सुविधा दिनु पनि मेला आयोजनाको प्रमुख उद्देश्य हो ।
विगतका वर्षहरु र यसपटकको मेलामा के भिन्नता छ ?
समय सँगसँगै तक्निकीले पनि निरन्तर फड्को मारिरहेको छ । विश्व बजारमा दिनानुदिन टेक्नोलोजीको प्रतिस्पर्धा बढिरहेको छ । कोरोना महामारीको कारणले मेला चार वर्षपछि आयोजना गरिएको हुँदा लामो समयको अन्तरालपछि नयाँ नयाँ टेक्नोलोजीसहितका विद्युतीय सामग्रीहरु उत्पादन भएका छन् । संसार झनै स्मार्ट भएको छ । २०१८ भन्दा यसपटकको मेला निकै फरक छ ।
यसपटकको मुख्य आकर्षण के हो?
अटोमेटिक खाना पाक्ने कुकिङ मेसिनहरु,साउण्ड सेन्सर प्रोडक्टहरु,कम्पोस्टिङ मेसिन,अत्याधुनिक सेन्सर सीसीटीभी आदि यसपटकका आकर्षण हुन् । साथै चार वर्षपछि भएको प्रदर्शनीमा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीका उत्पादनहरु, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ सामग्री, वायर, केबुलएवं कण्डक्टर, हाउसहोल्ड उपकरणहरु राखिएको छ । फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचनाप्रविधि, वैकल्पिक उर्जा तथा अन्य विद्युतीय सामग्री समेत मेलाको आकर्षणका रुपमा रहेका छन् ।
मेला आयोजना गर्दाका चुनौतीहरु के–के हुन् र कसरी सामना गरिरहनु भएको छ ?
सबैभन्दा ठूलो चुनौती भनेकै आर्थिक मन्दी हो । यसका बावजुद पनि हामी यो मेला सफल पार्ने बाटोमा छौँ,त्यसैमा खुसी छौँ ।
प्रतिक्रिया