दसैंमा आफैैंले खर्च गरेर खाँदा पनि स्वास्थ्यमा हानि हुनेगरी किन खाने ? -पोषणविद् प्रा.डा. कोइराला [भिडियाेसहित]

दसैंमा आफैैंले खर्च गरेर खाँदा पनि स्वास्थ्यमा हानि हुनेगरी किन खाने ? -पोषणविद् प्रा.डा. कोइराला [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

नेपालीहरूकाे महान चाड दसै‌ँमा मानिसहरूको खानपान सँधैभन्दा केही फरक हुन्छ । विशेषगरी दसै‌ँको समयमा माछामासु, मिठाई, फलफूल र अन्य परिकारको उपभोग बढ्ने गरेको छ। सन्तुलन नमिलाई धेरै खानेकुरा खाने तर शारीरिक व्यायाम नगरिने भयो भने स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने विज्ञहरू बताउँछन् । तर आहारविहारमा केही परिवर्तन गर्न सके स्वास्थ्यलाई हानि नहुनेगरी चाडपर्व मनाउन सकिन्छ। यसै सन्दर्भमा केन्द्रित रहेर केन्द्रबिन्दु डटकमले पोषणविद् प्रा.डा. उमा कोइरालासँग कुराकानी गरेको छ । प्रस्तुत छ, उक्त कुराकानीको सम्पादित अंश-

आफैं एउटा स्वास्थ्यकर्मी हुनुहुन्छ, अरूलाई स्वस्थ बनाउन  स्वास्थ्यसम्बन्धी टिप्सहरू दिइरहँदा आफू स्वस्थ हुनलाई दिनचर्याले कतिकाे प्रभाव पार्ने रहेछ?

– याे एउटा जिवनस्तर हाे, सँगै बाच्ने तरिका हाे। सहज ढंगले अंगालेर आइरहेकाे हुनाले त्यस्ताे धेरै  गाह्राे पर्दैन्। हामी केही मात्रामा सजग र केही मात्रामा खानपान अत्यन्तै घरेलु, त्याे माथि सिम्पल घरमै पकाएकाे खाने हुनाले त्यस्ताे गाह्राे भन्ने छैन। 

पहिला धेरै खाने अनि धेरै काम गर्ने त्यही भएर जति  खाँदा पनि  पचाउन सकिन्थ्याे । अब समय परिवर्तन भएकाे छ । अहिले खाने धेरै काम कम गर्ने, आरामले बस्ने त्यसले गर्दा पचाउन सकिँदैन ।

दसै‌ँमा हामीले कस्ता खानेकुरा खानुपर्छ ?

-दसैँ, तिहार, छठ भनेकाे हाम्राे राष्ट्रिय चाड हाे । यतिखेर वर्षभरी दुःख गरेर  मान्छेले दसै‌ँ मनाउनुपर्छ। घरपरिवारसँग बसेर रमाइलाे गर्नुपर्छ भनेर त्याे एउटा प्रेरणाले पनि काम गरिरहेका हुन्छाैँ र थाेरै जम्मा पनि गरेका हुन्छाैँ। टाढिएका आफन्तहरू पनि घरपरिवार सम्झेर घर आउने, रमाइलाे गर्ने, अफिस छुट्टी लिएर  पनि बस्ने त्याे एउटा बेग्लै किसिमकाे रमाइलाे वातावरण हुने भएकाले खानपान गर्नुपर्छ।

रमाइलाे गरेर चाडबाड मनाउनुपर्छ। त्याे एउटा पराम्परा धान्ने कुरा र नयाँ पुस्तालाई सिकाउने कुरा हाे त्यहीँ भएर रमाएर मनाउने हाे। अहिले हामीकहाँ खानेकुरा धेरै नै छ।

हामीले  छान्नुपर्दा धेरै किसीमका चिजहरू बजारमा पाइने  हुनाले बढी कुन मन पर्छ ? कुन चाहीँ धेरैले रूचाँउछ, केटाकेटीले के रूचाउँछन् त्याे सबै कुराले हामीलाई प्रभाव पारिरहेकाे छ। साथीभाइहरूले के धेरै रूचाइरहेकाे  हुन्छ ? बजारमा के धेरै आइरहेकाे छ ? त्याे कुराले  हामीलाई निक्कै  प्रभाव पारिरहेकाे छ। त्यसैले हामीलाई छनाेटमा समस्या परिरहेकाे छ।

हाेइन भने  नेपालीकाे खाना असाध्यै राम्राे छ। हामीले सधैं दही नै खाने जुन सन्तुलित आहार छ दाल, भात, तरकारी,अचार सकेसम्म दुध, दही खानु एकदमै सन्तुलित हाे। चाडबाडलक्षित चाहीँ माछामासुमा धेरै बाहुल्यता हुन्छ तर पनि धेरै नभर मिलाएर खान सकियाे भने केही फरक पर्दैन ।

दसैँमा हामीले धेरै मसला र चिल्लाे भएका खानेकुराहरू खान्छाैँ, यसले स्वास्थ्यमा  कत्तिकाे असर पार्छ ?

-असर त पर्छ। चिल्लाे साविकभन्दा अलिकति पनि बढी भयाे भने धेरै नै असर पार्छ। तर पनि त्यसकाे लागी हामीले मिलाएर खान सक्नुपर्छ। धेरै चिल्लाे नहाली खाने । विशेष गरेर अब दसैँमा हामीले कवाफ खाने भन्छाैँ नि धेरै तेल, घ्यु हालेर, चिल्लाे बनाएर धेरै दिनसम्म राखेर पकाएर खाने चलन छ। अब त्यस्ताे धेरै चाहीँ नगर्ने । पहिला के थियाे भने धेरै खाने अनि धेरै काम गर्ने त्यही भएर जति  खाँदा पनि  पचाउन सकिन्थ्याे।

सहरिया एरियामा बस्नेहरूले अलि धेरै माछामासु खाने भएकाे कारणले गर्दा  समस्या निम्त्याउँछ, त्यहि भएर अलि कम गर्न सक्नुपर्छ।

अब समय परिवर्तन भएकाे छ, अहिले खाने धेरै काम कम गर्ने, आरामले बस्ने त्यसले गर्दा पचाउन सकिँदैन, खाए अनुसारकाे पचाउन सक्याे, आराम व्यायाम गर्न सक्याे भने खाँदा पनि फरक पर्दैन । तर हाम्राे अहिलेकाे  वातावरणले त्यति धेरै शारीरिक श्रम गर्दैनाैँ त्यसैले कम चिल्लाे खानु उपयुक्त हुन्छ । 

दसैँमा हामी बढी मात्रामा माछामासु खान्छाैँ, सामान्यतया दिनमा कति  माछामासु हाम्राे स्वास्थयकाे लागी पर्याप्त हुन्छ ?

– प्राेटिन हाम्राे शरीरकाे एक केजी ताैलकाे लागी १ ग्राम भनेर भन्छाैँ, १ केजी ताैलमा एक ग्राम प्राेटिन तर ५० केजी ताैल छ भने ५० ग्राम प्राेटिन  हामीलाई दैनिक चाहिन्छ। त्यसैले हामीलाई त्यही अनुसार अब मासु हामीले लगभग एकदिनमा भाग लगाउँदा एकजनालाई  २ सय ग्राम मासुले पुग्छ।

तर अहिले कस्ताे भयाे भने हामी  नियमित मासु खान्छाैँ तर विकसित राष्ट्रतिर  के भन्छ भने एक केजी ताैलकाे  लागी ०. ८ ग्राम मात्र खानु भन्छ। सहरिया एरियामा बस्नेहरूले अलि धेरै माछामासु खाने भएकाे कारणले गर्दा खेरि समस्या निम्त्याँउछ त्यहि भएर अलि कम गर्न सक्नुपर्छ।

सामान्यतया हाम्राे नेपाली भान्छामा पाक्ने खाना स्वास्थ्यकाे लागी कत्तिकाे लाभदायक छ? 

– सबै किसीमकाे खानेकुरा सबै नेपालीकाे भान्छामा पाक्दैन। एउटा हामीले भन्ने  गर्दा खेरि खानामा विविधता छैन त्यसले गर्दा खेरि समस्या आयाे, सबै किसीमकाे पाैष्टिक तत्व पुग्दैन भन्ने कुरा चाहीँ हामी भनिरहन्छाैँ र तथ्याङ्कले त्यही कुरा देखाइरहेकाे हुन्छ।

केटाकेटीदेखि वयस्कहरू सम्मले पनि २० देखि २५ प्रतिशतले चाहीँ विविध खानेकुरा खाने गरेकाे छ। हाम्राे घरमा पाक्ने भनेकाे सामान्य दाल, भात, तरकारी,अचार हाे। तर कसैकसैले माछामासु खाउला त्याे आफ्नाे ठाउँमा छ। तर त्यस्ताे किसीमकाे खानपान सबैकहाँ हुँदैन,तर भात, दाल, तरकारी, अचार, हरियाे साग याे अति उत्तम खाना हाे। यतिकाे खाना खाइयाे भने मान्छे एकदम पूर्ण हुन्छ।  

सन्तुलित आहार भनेकाे के हाे ?

-सन्तुलित आहार भनेकाे हामीले सबैलाई बुझाउन सकेका छैनाैँ। अब दाल, भात,तरकारी, अचार दुध दही हाम्राे शरीरकाे लागी अति उत्तम हाे यसलाई नै  हामीले सन्तुलित आहार भनेर पनि बुझ्न सक्छाैँ। अर्काे कुरा चाहीँ उपलब्दता पनि  धेरै अप्ठ्याराे चिज हाे।

जस्तै, डाेल्पा, हुम्ला, मुगु, जुम्लाजस्ताे जिल्लाहरूमा १२ महिना र  २४ घण्टा अन्नहरू नपाइन सक्छ। काेदाेहरू छ, फापर छ तर उहाँहरूलाई नि  कस्ताे हुँदाेरहेछ भने सधैं आफूले खाइरहेकाे कुरा चाहीँ खान मन नलाग्ने, चामल भइदिए सजिलाे लाग्ने भन्ने हाम्राे मानसपटलमा बसेकाेले सन्तुलित आहारमा नै काेदाे,फापरपनि पर्छ भनेर  सिकाउन जरूरी छ। 

तेलमा तारेका माछामासु खानै नहुने हाे की सन्तुलन मिलाएर खान सकिन्छ?
 
– तारेकाे माछामासु सकभर नखाएकाे राम्राे हाे। तेलकाे मात्रा बढी भएर स्वास्थ्यमा असर  परिरहेकाे हुन्छ। अब हामी के भन्छाैँ भने चिल्लाे पदार्थ २० देखि २५ प्रतिशत ग्राम मात्रै खानु दैनिक भन्छाैँ। तर हतार भएकाे बेला बढी नै जाने  गर्छ।

दाल,  भात, तरकारी, अचार, हरियाे साग याे अति उत्तम खाना हाे। यतिकाे खाना खायाे भने मान्छे एकदम पूर्ण हुन्छ।  

फेरि तेलकाे  गुणस्तर पनि राम्राे छैन, सबैले मिलबाट पेलेर खान सक्दैन, बजारबाट  किनेर  खाने हाे। बजारमा धेरैजसाे तेलमा मिसावट हुन्छ, त्यही भएर तेलमा तारेका माछामासु नखाएकै राम्राे मान्न सकिन्छ। 

पेयपदार्थ र मासुका परिकारसँगै खाँदा स्वास्थ्यमा कतिकाे असर पार्छ ?

-याे एकदमै हानिकारक हाे । याे अध्ययनले पनि हानीकारक नै देखाएकाे छ। यसले क्यान्सरकाे सिकार बनाउन सक्छ। माछामासु राखेर काेक, फेन्टाकाे फाेटाे नै राखेर विज्ञापन नै गरिरहेका हुन्छन्। तर यसाे गर्दा सबैले पेयपदार्थसँग मासुका परिकार खाने गर्छन्, याे हाम्राे स्वास्थ्यकाे लागी राम्राे चिज हाेइन ।

साकाहारी भाेजनका फाइदाहरू के-के छन् ?

-साकाहारीकाे लागि रमाइलाे छ । किनभने तरकारीहरू प्रशस्त पाइन्छ। त्याे हरियाे तरकारीहरू खाने, कुनै सलाद बनाएर खाने हुन्छ। कुनै बयल गरेर नुन हालेर  खाए पनि हुन्छ। पनिर पाइन्छ, पनिर,दही खाने दहिकाे परिकार बनाएर खाने गर्दा हाम्राे शरीर स्वस्थयसहित फुर्तिलाे बन्छ। 

दसैँ तपाईंकाे विचारमा कसरी मनाउनुपर्छ हाेला?

– दसैँ भव्यताका साथ मनाउनुपर्छ हामीले। महान चाड भएकाले पनि रमाएर नै मनाउनुपर्छ। परदेशीहरू आउनुहुन्छ घर आमाबुवालाई खुशी लाग्छ। परिवारमै रमाइलाे छाएकाे हुन्छ तर दसैँ हाे भन्दैमा  जे पायाे त्यहीँ खायाे भने बालबच्चासँगै वृद्धवृद्धा समेत बिरामी पर्न सक्छन् त्यही भएर सुरक्षित भएर हामीले दसैँ मनाउनुपर्छ।

 

Logo