उपसभामुख रानामगरकाे प्रश्नः तीन करोड पनि नपुगेका नेपालीलाई समेट्न नसक्ने कस्तो नेतृत्व हो यो ?

उपसभामुख रानामगरकाे प्रश्नः तीन करोड पनि नपुगेका नेपालीलाई समेट्न नसक्ने कस्तो नेतृत्व हो यो ?


प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर नयाँ पुस्ताकी राजनीतिकर्मी हुन् । परम्परागत दल र संघसंगठनमा लागेर राजजनीतिको क्षेत्रमा आएकाहरु भन्दा उनको दिनचर्या भिन्न छ । उनलाई समाजसेवाको क्षेत्रमा निरन्तर क्रियाशील रहँदा राजनीतिमा आउने बाटो खुलेको हो । अहिले पनि उनी समाजसेवाको क्षेत्रमा क्रियाशील छिन् । संसदमा उपसभामुखको जिम्मेवारीमा रहेकाले उनलाई दलगत प्रचार र संगठन गरेर हिँड्नुपरेको छैन । फरक भूमिका भएकाले उनी संसद्सँगै सामाजिक सेवामा आफ्नो रुचिको क्षेत्रलाई समय दिइरहेकी छन् । राजनीति र समाज सेवाको क्षेत्रका सेरोफेरोमा राना मगरसँग हामीले कुराकानी गरेका छाैं । प्रस्तुत छ, कुराकानीकाे सम्पादित अंश- 

उपसभामुखको राजनीतिक जीवनको दैनिकी कस्तो छ ? आफ्नो एक दिन कसरी बिताउनुहुन्छ ? 

-दैनिकी भन्नुपर्दा समाजसेवी हुँदादेखिकै आफ्नो दिनचर्यलाई निरन्तरता दिइराखेकै छु । पहिले पनि आफ्ना बच्चाहरुलाई खाना बनाउने गर्थेँ, अहिले पनि स्टाफले सहयोग गर्नुहुन्छ, मैले आफैं खाना बनाएर बच्चाहरुलाई खुवाउनु पर्छ । अहिले बेलुका आएपछि समाचार हेर्छु । पहिला त्यति साह्रो समाचार हेर्दिन थिए, बरु क्रिमिनल जस्टिजको बारेमा धेरै हेर्थें, अहिले त्यो फेरिएको छ । बेलुका सबैखाले समाचार हेर्छु, अलिकति संविधान र नियमावलीका कुराहरु हेर्छु । अहिले सदन नचलेकाले बच्चाहरुलाई समय दिन पाइरहेको छु, बाँकी समय बाहिरतिरको धेरै कार्यक्रमहरुमा उद्यमीदेखि समाजसेवीलगायत विभिन्न क्षेत्रका मानिसहरुले बोलाइरहेका हुन्छन्, जान्छु । प्रायजसो म जनताको नजिक पुगिरहेको हुन्छु । त्यहाँ जनतालाई संविधान पढ्न र कार्यान्वयन भए नभएको पक्षमा सजग गराउन चेतना दिने काम गरिहेको छु । 

तपाईंको आफ्नो समाज सेवाको क्षेत्र एकातिर छ, बालबालिकाका लागि भात भान्सा र हेरचाह गरिरहनुभएको छ, अर्कातिर ठूलो जननिर्वाचित संस्थाको उपसभामुख हुनुहुन्छ । यी दुई भूमिका निर्वाह गर्न समन्वय कसरी गर्नुहुन्छ ? 

-हामीले जुन भान्साको काम गछौं, खाना, स्वास्थ्यको कुरा गर्छौ, यो राज्य पनि त्यही कुरामा अडिएको छ । राज्यले पनि वास्तवमा त्यसमा ध्यान दिनुपर्ने हो जस्तो लाग्छ । एकले अर्काको खुट्टा तान्ने भन्दा पनि राज्यमा सबै मिलेर कसरी पकाएर खाना खाने भन्ने भाव सबैमा हुनुप-यो । जीवनमा हामीलाई जे चाहिन्छ, राज्यले मानिसलाई आवश्यक पर्ने स्वास्थ्यदेखि  हरेक कुरा सहज रुपमा दिन सक्नुपर्छ । सबै मिलेर विकास गर्नुपर्छ । 

कसैले टावर वा ठूलो बिल्डिङ बन्नुलाई विकास भन्दा म एउटा बच्चालाई कस्तो संस्कार दिने, कसरी उसको शारीरिक, मानसिक र बौद्धिक विकास गर्ने, उसलाई कस्तो माया र केयर दिएर उसलाई पोषण दिएर पूर्ण मानिस बनाउने कामलाई  विकास भन्छु । जो मैले बालबालिकालाई गरिरहेको छु, मैले आफ्नो पूरा जीवन त्यसरी नै सामाजिक क्षेत्रमा बिताएको छु । अहिले राजनीतिमा आएर पनि मैले हरेक क्षेत्रका नागरिकलाई बालबालिकादेखि ज्येष्ठ नागरिकसम्मलाई उहाँहरुको सामाजिक सुरक्षाको कुरादेखि लिएर विभिन्न आवश्यकताको बारेमा चेतनाका सवाल र आवाज उठाउँदै आएको छु । 

सबैलाई हामीले सुधारेर लाने र सबैलाई राम्रो वातावरण दिने हो भने हाम्रो देश सुध्रिन धेरै समय लाग्दैन । त्यसका लागि तलबाटै ग्रुमिङ गर्दै लानुपर्छ । तर, यहाँ जसको पावर र हालीमुहाली छ उहाँहरुले नै त्यसको दुरुपयोग गरिहेका छन् । 

एउटा खराब भनेर जेलमा पुगेको युवा पनि त्यो पूरा रुपमा खराब नै भएर भन्दा आवश्यकता र वातावरणका कारण जेलसम्म पुगेको हुनसक्छ, उसलाई सामाजिक रुपमा असल मान्छे बनाउन सकिन्छ भन्ने धारणा राख्छु । सबैले खराबलाई पनि असल मानिस बन्नमा प्रेरित गरिरहनुपर्छ, उसलाई कसरी सही बनाएर समाजमा भित्र्याउने भन्नेमा सोच्नुपर्छ । यसरी नै सामाजिक र राजनीतिक पक्षलाई उही समाजसँगको विषयसँग जोडेर समन्वय गरिहेको छु । दुवै सेवाका क्षेत्र हुन् । 

लामो समयबाट मानवसेवालाई तपाईंले प्राथमिकता दिएर काम गर्दै आउनुभएको छ । धेरैले तपाईंकै कारण उद्धार भएर पुनः समाजमा राम्रो जीवन विताइरहेका छन् । तपाईंले गरेको समाजसेवाको अनुभवलाई राजनीतिक जीवनमा रुपान्तरण गर्ने प्रयास गर्नुभएको छ ? 

-तपाईंको प्रश्नको इमान्दार जवाफ दिने हो भने राजनीतिभित्र नपसिकन केही पनि कुरा थाहा हुँदैन । भित्र पसिसकेपछि धेरै कुरामा परिमार्जन गर्नुपर्ने देखेँ । बनेकै सिस्टमको पनि राम्रोसँग कार्यान्वयन भएका छैनन्, त्यसैमा पनि एब्युज भएको छ । यी कुरालाई कसरी चिरेर लाने, भ्रष्टाचार, विभेदलाई कसरी चिरेर लाने ? यहाँ आएर मैले धेरै कुरा जानेँ । यदि राजनीतिमा नपसेको भए मैले केही पनि नजानी र देशलाई नै नबुझी मर्ने रहेछु जस्तो लाग्छ । तर, राजनीतिमा धेरै सुधार हुनुपर्छ । प्रशासनदेखि लिएर प्रहरीसम्म सबैमा सुधारको आवश्यकता छ । हरेक ठाउँमा पीडा, तनाव छ, मानिसहरु पीडित छन् । सबैलाई हामीले सुधारेर लाने र सबैलाई राम्रो वातावरण दिने हो भने हाम्रो देश सुध्रिन धेरै समय लाग्दैन । त्यसका लागि तलबाटै ग्रुमिङ गर्दै लानुपर्छ । तर, यहाँ जसको पावर र हालीमुहाली छ उहाँहरुले नै त्यसको दुरुपयोग गरिहेका छन् भन्ने लाग्छ मलाई । 

यो राजनीति भनेको कतिखेर पल्टिन्छ भन्ने थाहा नहुने रहेछ । मलाइ कतिपयले तपाईं कच्चा खेलाडी भन्नुहुन्थ्यो, म कच्चा होइन इमान्दारको डाइरेक्ट खेलाडी हो ।

पावरमा हुनेले शक्तिको दुरुपयोग गरे भन्नुभयो, तपाईंले त्यो देख्नुभएको छ ? 

-किन नदेख्नु, भनेर साध्य छैन । म इमान्दारीसँग कुरा राख्छु, भोलि पनि मैले यो कुरा बोल्नुपर्ने हुन्छ । शक्तिको दुरुपयोग धेरै भएका छन् । तर, सबै मान्छे नराम्रा छैनन् । राम्रा राजनीतिज्ञहरु पनि हुनुहुन्छ । सिस्टम नै बिग्रिएकाले गाह्रो भइरहेको छ । तीन करोड नेपाली पनि छैनौं हामी, त्यसमा पनि सबै देशमा छैनन् । बाहिरतिर हेर्नुहोस् त सबै सिस्टमले चल्छ । तर, हामीले आफ्नो यो तीन करोड पनि नपुगेको नेपालीलाई पनि समेटेर लान नसक्ने कस्तो नेतृत्व हो यो भन्छु म । 

तपाईंले राजनीतिक नेतृत्व र अंगभित्रै पनि द्वैध भूमिका छ भन्नुभएको हो ? 

-त्यो अवश्य पनि छ । पावरको मात्रै खेलजस्तो लाग्यो । यो राजनीति भनेको कतिखेर पल्टिन्छ भन्ने थाहा नहुने रहेछ । मलाइ कतिपयले तपाईं कच्चा खेलाडी भन्नुहुन्थ्यो, म कच्चा होइन इमान्दारको डाइरेक्ट खेलाडी हो । म इमान्दारीसँग आफ्नो भूमिका निर्वाह गर्न सक्छु भन्ने दृढ आँट छ र म निडर पनि छु । हिजो मलाई राजनीति मन पदैन थियो । राजनीतिमा आइसकेपछि पनि किन आँए जस्तो लाग्थ्यो । अहिले बुझ्दै जाँदा हामीजस्तो जसले देशको ग्राउन्डलाई बुझेको छ, पीडालाई बुझेको छ, त्यस्तो मान्छेहरु राजनीतिमा चाहिने रहेछ भन्ने लाग्छ । म हरेक युवालाई विभिन्न क्षेत्रमा गएर सबैलाई राजनीति बुझ्नुपर्छ भनेर प्रेरित पनि गर्ने गर्छु ।

सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डदेखि लिएर विभिन्न काण्डहरु आए । त्यो कुरामा लाग्न राज्यले बनाएको संयन्त्र छ, यसमा संसदभित्र निर्णयमा पुग्नेगरि छलफल हुनुप-यो नि, त्यो गर्नु छैन ।

राजनीति अरु अरु विषयमा अल्मिलिएको छ, ग्राउन्ड रियालिटीमा फोकस भएन । मानिसका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा समेत हामी कमजोर भयौं भन्ने जुन कुरा गर्नुभयो, संसदले ती आवश्यकताहरु पूरा गर्नलाई आवश्यक कानून निर्माण गर्न किन प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको होला ? 

-यहाँ चाहिँ आफ्नै राजनीतिक पार्टीका मान्छेलाई मात्रै संरक्षण गरिँदो रहेछ । त्यसमा पनि गुटबन्दी हुँदो रहेछ । अनि जहिले पनि आफ्नो राजनीतिक स्टन्ट देखाउनु मात्रै छ ।  राजनीतिक स्टन्ट देखाएर संसदको सदस्य भएर आइसकेपछि त जनताको लागि काम गर्ने हो नि त । त्यहाँ जनताको आवाज र उनीहरुले उठाएका सवाललाई उजागर गर्ने भन्दा पनि नेताको कुरा सुन्ने, सदनबाट अरुलाई गाली गरेर समय बिताइरहेको हुन्छ, संसदमा मन नपरेको पक्ष मलाई यही हो । सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्डदेखि लिएर विभिन्न काण्डहरु आए । त्यो कुरामा लाग्न राज्यले बनाएको संयन्त्र छ, यसमा संसदभित्र निर्णयमा पुग्नेगरि छलफल हुनुप-यो नि, त्यो गर्नु छैन । समिति बनायो, बुद्धिजिवी राख्यो त्यो पनि वास्तविक विषयको ज्ञाताभन्दा हामीले रिक्त ठाउँ आफ्ना मान्छेले भर्ने काम बाहेक केही गरेकै छैनौं । सिस्टम बनाएपछि त्यसअनुसार सबै चल्नुप-यो नि । एउटा मान्छेको अधिकार र रिमोटबाट सबै चलेका छन्, त्यसरी हुँदैन । संघीयतामा तलसम्म अधिकार दिएर उहीँबाट सबैलाई बलियो बनाएर ल्याउनुपर्छ । केन्द्रमै भर पर्नुपर्ने अवस्थालाई चिर्नुपर्छ । राष्ट्रिय राजनीति नै अलमलमा छ । संविधान बनायौं कतिपय कुराहरु अझै कार्यान्वयन भएका छैनन् । जस्तो– महिलालाई संविधानको धारा ३८ ले दिएको अधिकारहरुमा कुन चाहिँ कार्यान्वयन भएको छ ? 

तपाईं समाज र समाजका आवश्यकतालाई अलि नजिकबाट बुझेर राजनीतिमा आउनुभएको छ । आज सामाजिक क्षेत्रदेखि राजनीतिसम्ममा अलमल मात्रै देखिन्छ, यो राष्ट्रिय अलमलको कारण के हो जस्तो लाग्छ ? 

-मैले बुझ्दा नेताज्यूहरु अगाडि मिठा कुरा गर्नुहुन्छ तर, पछाडि अर्कै भइरहेको हुन्छ । देशमा सकारात्मक संस्कारको विकास गर्नुपर्ने देखिन्छ । देशमा आवश्यकता पनि त्यही कुराको छ । हामी सबै नेपाली हौं, एक छौं भन्ने हुनुप-यो । म त्यसको लागि ठूलो पदमै पुग्नुपर्छ भन्ने छैन, आफूले सक्ने त गर्नुप-यो नि । कोही नेता राम्रा पनि छन्, विज्ञ पनि तर, सत्ता थामिरहन त गाह्रो छ । सबै पार्टीका अलि बुझेका र जानेकाहरु देश विकास गर्न भन्दा खेलमा बढी समय बिताउनुभयो उहाँहरुले । जनताको आवश्यकतालाई बुझ्नेतिर भन्दा सत्ताको खेलमा बढी समय बिताएको जस्तो लाग्यो मलाई । 

एउटा होटल सञ्चालन गर्न त विहानै म्यानेजरले ब्रिफिङ गर्छ, दिनभरी कसरी कति काम गर्ने भनेर । यहाँ त खै एउटा एकतिर फर्केको छ अर्को अर्कातिर फर्केका छन् ! 

अब नयाँ नयाँ पनि आएका छन् । त्यसमा कति राम्रा छन् भने कति पुराना पार्टीमा पद नपाएर विरक्तिएर आएका छन् । मलाइ नि कतिले तपाईं केही नगरी यति ठूलो पदमा पुग्नुभयो भन्छन् । पुगेर के गर्ने म काम गर्न चाहने मान्छे, काम गर्न पनि नदिँदो रैछन्, कस्तो दुःखलाग्दो कुरो । जुन स्पिडमा म काम गर्न चाहन्छु त्यो चाहेर पनि पाएको छैन । एउटा होटल सञ्चालन गर्न त विहानै म्यानेजरले ब्रिफिङ गर्छ, दिनभरी कसरी कति काम गर्ने भनेर । यहाँ त खै एउटा एकतिर फर्केको छ अर्को अर्कातिर फर्केका छन् ! 

कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका एकदमै संगठित हुनुपर्छ । चाहे जुनसुकै पार्टीका हुन् काम गर्ने सन्दर्भमा सबै एकै ठाउँमा बसेर काम गर्नुपर्छ, उहाँहरुले पदमा बसिसकेपछि पदको पदाधिकारी हुन् । मिलेर अरुका लागि पनि उदाहरण बन्नेगरि काम गर्ने हो नि त । कार्यपालिका र न्यायपालिका यस्तो राम्रो भन्ने होस न । व्यवस्थापिकामा पनि थाति विधेयकलाई टुंग्याउन दिनरात लाग्नुप-यो । सबै लागेर छलफलमा ल्याउनुप-यो, सबै लाग्नुप-यो । हामी सुतेर घाम तापेर बस्ने बेला छैन भन्छु म । कार्यपालिकाको त जिम्मेवारी नै झन् ठूलो छ । हरेक ठाउँमा विजोग छ । स्वास्थ्य, शिक्षा, कृषि वन सबै बिग्रेको छ । हरेक संस्था र त्यसका जिम्मेवारी लिएका मान्छे बलियो भएर जबसम्म आफ्ना जिम्मेवारी पूरा गर्दैनन् तबसम्म देश बन्दैन । 

जहाँतहीँ बिजोग छ भन्नुभयो कतिपय कुराहरु कानुन बन्न नसक्दा झन् असरल्ल छन् । यस्तो समयमा हिउँदे अधिवेशन बोलाउन ढिला भयो जस्तो लाग्दैन ? 

-अधिवेशन माघको तेस्रो हप्तामा बोलाउने कुरा छ । पोहोर यो समयमा अधिवेशन चलिसकेको थियो । ढिलो त भएको हो नि । यसपालि किन ढिला भयो त्यो थाहा छैन् । तर, पनि पहिलेकै बाह्र वटा थियो अहिले एउटा थप भएको छ भन्ने सुनेको छु, तेह्र वटा विधेयक विचाराधीन छन् । 

अधिवेशन ढिलोगरी बोलाउँदा संसदलाई नै महत्व नदिएको हो कि भन्ने सन्देश आम मानिसमा गएको छ नि ? 

-भन्न मिल्ने/नमिल्ने थाहा छैन, म इमान्दार भन्छु, सबै कुरा पर्खाइ रहेछ । सरकार कतिबेला ढल्ला र अर्को आउला, अनि मेरो पावर होला जस्तो के, पावर गेम जस्तो देखिराको छु । घुम्ने मेचमा जस्तै हो । कतिपय कुराहरु अहिले निणर्य गर्दा अर्को पार्टीलाई असर पर्ला कि भन्ने खालको अलमल जस्तो मलाइ लागिरहेको छ । म आफू राजनीति बुझ्ने पनि भन्दिन, आफूलाई जति मैले बुझे त्यस्तै लाग्छ । 

संसद्लाई प्रभावकारी बनाउन तपाईंको आफ्नो भूमिका के हुन्छ ? सिंगो संसदलाई प्रभावकारी बनाउन के गर्नुपर्ला ? 

-सबै कुरा एकअर्कामा अन्तरनिहित र अन्तरसम्बन्धित हुन्छ । अब अहिले यो अधिवेशन बोलाउनलाई पनि त कार्यपालिकाले चासो राख्नुप-यो, अनि राष्ट्रपतिले अधिवेशन बोलाउनु प-यो । यो त सभामुखज्यु र मैले मात्रै सोचेर बोलाउने कुरा भएन । विशेष हात यहाँ कार्यपालिकाकै छ, अब हामीले अधिवेशन बोलाइपछि संसद चलाउने हो । हामी रेडी छौं । देशमा यत्रो इस्युहरु आए त्यसमा सवाल उठिराखेका छन् । चाँडो सदन चल्दा ती कुराले निकास पाउँथे कि भन्ने अपेक्षा छ । 

भिडियाे- https://fb.watch/pzmJXpuwHh/

Logo