काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी (ईभी) को प्रयोग र माग पछिल्लो केही वर्ष यता बढ्दै गएको छ । सोही विषयलाई मध्यनजर गर्दै विशाल ग्रुप अन्तर्गतको पूजा कन्स्ट्रक्सन कम्पनीले चिनियाँ ब्रान्डको एसआरएमको ईभी भ्यान नेपालमा बिक्री गर्दै आएको करिब एक वर्ष भयो । एसआरएमका ११ सिट क्षमताका भ्यानहरू उपलब्ध गराउँदै आएको यस कम्पनीले जोयलोङ ब्रान्डका भ्यानहरू पनि बिक्रीको तयारीमा छ । छोटो समयमै नेपाली मार्केटमा निकै रुचाइएको एसआरएमका लागि आवश्यक चार्जिङ स्टेशन तथा सर्भिस नेटवर्कको विस्तारमा कम्पनी लागेको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विवेक बिजुक्छे गुणस्तरमा नम्बर वान भएरै एसआरएम भ्यान ग्राहकको रोजाइमा परेको बताउँछन् । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बिजुक्छेसँग अटो क्षेत्रमा देखिएका समस्या, ईभी व्यवसायका लागि सरकारले तर्जुमा गर्नुपर्ने नीति नियम साथै कम्पनीका आगामी योजना लगायतका विषयसँग जोडिएर केन्द्रबिन्दुका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः
तपाईंले नेपालमा विद्युतीय सवारीको बढ्दो प्रयोग कसरी नियाल्नु भएको छ ? नेपाली अटो बजारको पकड अब ईभीले बनाउन थालेको हो ?
-नेपालमा ईभी प्यासेन्जर कार र माइक्रो भ्यानको प्रयोग अहिले बढ्दै गएको देखिन्छ । सरकारले ईभीको प्रयोग बढाउन प्रोत्साहनका लागि कर छुट, सहज कर्जा व्यवस्थापन साथै इन्फ्रास्ट्रक्चरमा लगानी बढाउँदा यो गाडी चढ्नेको संख्या बढ्दै गएको छ । तर, जुन दिन सरकारले ईभीको आयातमा कर बढाउँछ र मूल्य बढ्छ, तब उनीहरु फर्किने भनेको डिजेल र पेट्रोलकै गाडीमा हो ।
ईभी भ्यानको माग भने आर्थिक मन्दीका कारण बढेको छ । किनभने पहिला मान्छेले डिजेल हालेरै गाडी कुदाएका थिए र कुदाउँदै पनि छन् । उनीहरूले लामो बाटो गाडी कुदाउँथे र बैंकलाई किस्ता पनि बुझाउँदै आएका छन् । तर, आजको दिनमा इन्धनका गाडी भनेरै कुदाउनु पर्ने अवस्था छैन । अहिलेको अवस्था हेर्दा खल्तीमा पैसा धेरै भयो भने मात्र इन्धनका गाडीहरू दौडाउन पाइयो ।
तर, ईभीमा इन्धन हाल्नु परेन । यो सञ्चालन गर्दा खर्च कम आयो । १० हजारको डिजेल हाल्ने ठाउँमा ४/५ सयको चार्ज गर्दा पुग्यो । अहिले बजारमा ११ देखि १६/१७ सिटसम्मका ईभी भ्यान उपलब्ध भई यसको माग बढ्नुको कारण आर्थिक मन्दी हो । खल्तीमा पैसा बाेकी डिजेल हालेर गाडी कुदाउने अवस्था नभएपछि यातायात व्यवसायीहरू ईभी भ्यानमा सिफ्ट भएका हुन् ।
लामो दुरीका सडकमा पनि ईभी भ्यानको बाहुल्यता देखिन थालेको छ । तर, ईभी भ्यानको व्यवसाय र बजारको माग कस्तो छ ?
-अटो मार्केट खुम्चिएको अवस्था छ । ईभी गाडीको बिक्री नम्बर र आयात बढेता पनि यतिमै सन्तोष भइहाल्ने अवस्था छैन । इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा रूपान्तरण भएर आएको हो । काठमाडौं–पोखरा लगायतका रुटमा ईभी देखिन्छन् । यो सँगसँगै यात्रु बोक्ने इन्धनका सवारी पनि कुदिरहेका छन् । यद्यपि यात्रु बोक्ने साना सेग्मेन्टका ईभी भ्यानको माग बढ्दै गएको छ । इन्धनमा आधारित कमर्सियल भेहिकल अधिकांश पुराना भइसकेका छन् । त्यसले गर्दा कमर्सियलमा अब ईभीको बाहुल्यता हुने देखिन्छ ।

तपाईंले ईभी कमर्सियल भेहिकलको कुरा गर्नु भयो, नेपालमा अब ठूला बस तथा ट्रक पनि ईभीमा चलाउन सक्ने अवस्था बनी सक्यो त ?
ईभी गाडीको जति वजन बढ्यो त्यति नै रेन्ज कम हुन्छ । ट्रकले बढी सामान बोकेर बढी लोडमा काम गर्ने भएकाले त्यसमा ठूलो ब्याट्री राख्नु पर्छ । र, गाडीलाई मूल्य पनि महँगो पर्न जान्छ । त्यसैले २०/२२ सिट माथिका बस तथा ट्रक नेपालमा सञ्चालन गर्दा बढी खर्च आउँछ । भारतमा ४५/४० लाखमा किन्न पाउने ईभी बस तथा ट्रक सोही क्षमताको नेपाल आइपुग्दा २ करोड पर्न जान्छ । तपाईंले करोडौं लगानी गरेर ईभी बस यहाँ सञ्चालन गर्नु भयो । त्यसको ब्याज नै वार्षिक लाखौं रुपैयाँ बुझाउनु पर्छ । त्यसले गर्दा कमर्सियल भेहिकलमा ईभी सञ्चालन गर्न अहिले निकै गाह्रो छ ।
सरकारले ईभीमा इको सिस्टम कस्तो बनाउन आवश्यक छ ? तपाईं दीर्घकालीन विद्युतीय यातायात सञ्चालनको लागि के गर्नुपर्ने देख्नुहुन्छ ?
-नेपाल विद्युत प्राधिकरणले ईभीको बढ्दो प्रयोगलाई लक्ष्ति गर्दै चार्जिङ स्टेशनको निर्माण गरिरहेको छ । निजी क्षेत्र र प्राधिकरणले गरेर देशका विभिन्न स्थानमा ५ सय भन्दा बढी स्टेशनको निर्माण गरिसकेका छन् । जसमा सबै भन्दा बढी योगदान निजी क्षेत्रकै छ । हामी जति गाडी बिक्री गर्छौं ।
सोहीअनुसार चार्जिङ स्टेशनको निर्माण गर्दै जान्छौं । नेपालमा जति पनि ठूला बिजनेश ग्रुप छन्, जसले ईभी गाडी बिक्री गरिरहेका छन् । उनीहरूले चार्जिङ स्टेशनमा आफ्नो लगानी बढाई रहेका छन् । सरकारले ईभीको प्रयोग बढाउन करको दर र स्थायित्व नीति लिए यो सेक्टरको ग्रोथ हुन्छ ।
तपाईंहरुले बजारमा एसआरएम ब्रान्डका ईभी भ्यान बिक्री गरिराख्नु भएको छ । यो खासमा कस्तो इलेक्ट्रिक भ्यान हो ?
-तपाईंले एसआरएमका विद्युतीय भ्यान सडकमा देख्नु हुन्छ । तर, विज्ञापन भने देख्नु हुन्न । किनभने हामीले बिक्री पछिको सेवालाई निकै मजबुद बनाएका छौं । यो चीनबाट आएको गाडी हो । एसआरएम साना ११ सिटे गाडी उत्पादनमा निकै अगाडि छ । प्रविधिमा सबैभन्दा अगाडि रहेको उत्कृष्ट भ्यानहरू एसआरएमले तयार गर्छ । विज्ञापन नहेरी एक पटक यो गाडी मान्छेले चलायो भने उसले यही गाडी किन्छन् ।
गाडी आफैंले आफैंलाई अहिले बेचिरहेको छ । एसआरएम कम्पनीले राम्रो सर्भिस दिन्छ भन्ने थाहा पाएपछि मान्छेले यो गाडी रोज्न थालेका हुन् । एसआरएमले पार्ट्स पनि सस्तोमा उपलब्ध गराउँदै आएको छ । सुरुको सेल्स सेल्सम्यानले गर्यो । त्यसपछिको सेल्स ग्राहक आफैंले गरिरहेका छन् । एउटा गाडी किनेकाहरूले अहिले यो गाडी २/३ वटा थप्दै गइरहेका छन् ।
यो कुनै लग्जरी सामान हैन । यो कमाएर खाने भाँडो र व्यवसाय हो । हामीले हाम्रा ग्राहकलाई कम समय र कम खर्चमा मर्मत गर्ने र भनेको समयमा छिटो सर्भिस गरिदिने उद्देश्य राखेका छौं । जुन सेवा हामीले दिन्छौं भनेर मार्केटमा छाप बसिसकेको छ ।

नेपालमा अहिले धेरै कम्पनीहरूले ईभी भ्यान भित्र्याएका छन् । अन्य माइक्रो भ्यानभन्दा एसआरएममा के फरक छ ? यो माइक्रो भ्यान किन किन्ने ?
-यो कम्पनीले नितान्त माइक्रो भ्यानहरू मात्र उत्पादन गरी बिक्री गर्छ । अरू कम्पनीहरू यस्तो भ्यान बनाउँदैन । अथवा आफ्नो प्रडक्ट बनाउनु पर्याे भने ति कम्पनीले पार्ट्स मगाएर गाडीको एसेम्बल गर्छन् । चीनमा नेपालको जस्तो खुल्ला अर्थतन्त्र भन्ने हुँदैन । त्यहाँका उद्योगमा चीन सरकारको पनि लगानी हुन सक्छ ।
तपाईंले अहिले यहाँ देखिका नयाँ ब्रान्डका गाडी चाइनामा देखिँदैन । त्यहाँका बस तथा ट्रक बनाउने कम्पनीले पनि ११ सिटर गाडी यहाँ पठाइरहेको हुन्छ । त्यसैले यदि तपाईं कुनै गाडी किन्नु हुन्छ भने चीनमा त्यो कम्पनीले के गर्छ ? एसेम्बल गर्छ वा उत्पादन गर्छ भनेर बुझेर मात्र गाडी किन्न आवश्यक छ ।
एसेम्बल गर्ने कम्पनी रहेछ भने एक चरण एउटा ब्रान्डको गाडीको उत्पादन गर्छ र त्यो बन्द गरी अर्को उत्पादनमा लाग्छ । र, त्यसको समस्या आम प्रयोगकर्ताहरूले भोग्नुपर्ने हुन्छ । तर, जो उत्पादन गर्छ । उसको त रोजी रोटी नै यही भएकाले उ गुणस्तरमा पनि फोकस हुन्छ ।
विद्युतीय भ्यान किन्नेहरूलाई चार्जिङ सेवा कसरी उपलब्ध गराइराख्नु भएको छ ? जसको निर्माणमा चाहिँ तपाईंले के काम गरिराख्नु भएको छ ?
-आर्थिक मन्दीले हाम्रो निर्माण क्षेत्र निकै सुस्त भयो । हामी स्काभेटर पनि बेच्थ्यौं । त्यसको मर्मतको लागि कम्पनीमा ३०/३५ जना इन्जिनियर थिए । निर्माणको कामले गति नलिएपछि उहाँहरू खालि हुनु भयो । अहिले हामीले खालि भएका इन्जिनियरहरूलाई इलेक्ट्रिक गाडीतर्फ डाइभर्ट गरिरहेका छौं । हाम्रो डिलर सँगसँगै हामी आफैंले पनि सर्भिसको सेवा दिइरहेका छौं । हामी यो अवस्थामा गाडी बिग्रिएको ठाउँमै गएर सेवा दिन सक्षम छौं । यसले फिल्डमा खटिएका कर्मचारी र गाडी चालकलाई पनि फाइदा पुगेको महसुस गरेका छौं ।
तपाईंहरूले ब्याट्रीमा कति वर्षको ग्यारेन्टी दिनुभएको छ ? यसको रिप्लेसमेन्ट लागत कति लाग्छ ?
-गाडीमा लिथियम–आयन ब्याट्री प्रयोग भएका छ । यसको मूल्य माग र आपूर्तिले पनि फरक पार्छ । एसआरमा ४१.८६ किलोवाट आवरको ब्याट्री छ । यदि यो गाडीको ब्याट्री बिग्रिएको खण्डमा १७/१८ लाख रुपैयाँमा परिवर्तन गर्दा खर्च लाग्छ । हामीले यो गाडीको ब्याट्रीमा ७ वर्षसम्मको वारेन्टी दिइएको छौं । किस्ता तिर्ने टाइममा वारेन्टीले कभर गरिएको हुन्छ । दुर्घटना भयो भने बीमा कम्पनीले कभर गर्छ । त्यसैले ईभी गाडीमा घाटा र रिक्स छैन । ब्याट्री एकटकमा बिग्रिँदैन । ब्याट्री एउटा ढिकका देखिए पनि अलगअलग सेल त्यहाँ लागेको हुन्छ । उक्त सेल बिग्रिए पुन परिवर्तन गरेर पनि गाडी कुदाउन सकिन्छ ।
तपाईंहरु जोयलोङ ब्रान्डका ईभी भ्यान ल्याउने तयारीमा हुनुहुन्छ । यो गाडीको बुकको अवस्था र माग कस्तो छ ?
-जोयलोङ ब्रान्डका ईभी भ्यान चीनको निकै उत्कृष्ट मानिने गाडी मध्येको एक हो । हामी यसको १४ देखि २० सिटसम्म क्षमता भएका गाडी बजारमा ल्याउन लागेका छाैं । यो कम्पनीले पनि आफैं गाडीको उत्पादन गर्छ । गुणस्तरका हिसाबले पनि निकै अगाडि हुँदा चीनमा यो गाडी राम्रो संख्यामा बिक्री हुँदै आइरहेको छ । यो गाडी नेपालमा आइसकेको छ । ५६ देखि ७४ लाख रुपैयाँसम्ममा विभिन्न सिटे जोयलोङ भ्यान पाउन सकिन्छ । हामी एकैपटक उक्त गाडी २ सय वटा ल्याउने तयारीमा छौं । जसमध्ये १०० वटा गाडी बुकिङ भइसकेको छ । गाडी खरिद गर्न इच्छुकको लागि बुकिङ खुल्ला गरिसकिएको छ । अबको दुई महिनामा यो गाडी सडकमा राम्रै संख्यामा देख्न सकिन्छ ।

आजको दिनमा तपाईंहरुको बजारमा पोजिसन कस्ताे छ ?
-आजको दिनमा हाम्रो बजार हिस्सा करिव २० प्रतिशत छ । यो वर्ष सेल बढाउने योजना राखेका छौं । अहिलेसम्म एसआरएमका २ हजार भ्यान बिक्री भइसकेका छन् । यसको बिक्री दर राम्रो छ । ४/५ वर्षमा यसले १०० प्रतिशत ग्रोथ लिने अपेक्षामा छौं । ईभी कुद्छ र ! कुद्दाकुद्दै कतै पड्किँदैन र भन्ने मान्छे पनि ईभी किनिरहेको अवस्था छ ।
दुई वर्ष अगाडि पुराना गाडीको भ्यालु १२/१५ लाख रुपैयाँ हुन्थ्यो । आज मान्छेहरू निःशुल्क लैजा भन्दा पनि लग्न मानिरहेका छैनन् । मान्छेले किलोको हिसाबले डिजेलका गाडी किन्न खोजीरहेका छन् । त्यो चाहिँ हाम्रो लागि चुनौती भइरहेको छ ।
अटो सेक्टरको भविष्यलाई राम्रो बनाउनका सरकार र निजी क्षेत्रका व्यवसायीहरूले के गर्न आवश्यक छ ?
-सरकारले अटो सेक्टरमा स्थित नीति बनाइदिए मात्र यो सेक्टरले फड्को मार्छ । देश चलाउने कर चाहिने भएकाले कर घटाउन भन्ने पक्षमा हामी छैनौं । तर, भर्खरै गति लिँदै गरेको मार्केटलाई कर बढाएर मार्कमा पार्नु त भएन । देशका प्रमुख सहरमा चार्जिङ स्टेशन राख्नको लागि ठाउँ छैन । जसको लागि जग्गा लिजमा लिन सक्छ व्यवस्था मिलाउनु पर्यो ।
चीनबाट आज दर्जनौं ब्रान्डका गाडी नेपाल आएका छन् । तर, ति सबै गाडी गुणस्तर छन् भन्ने छैन । जसबाट ग्राहक पनि सचेत हुन आवश्यक छ । किनभने भोलिका दिनमा उक्त कम्पनीले आफ्नो उत्पादनलाई बन्द गर्यो भने अर्को समस्या आइलाग्छ । कुनै पनि कम्पनीको गाडी किन्नुभन्दा अगाडि चीनमा त्यो कम्पनीले कति गाडी बिक्री गर्छ । निर्यात अवस्था के छ भनेर बुझेर मात्र गाडी किन्न आवश्यक छ ।
हेर्नुहाेस् भिडियाे-





























प्रतिक्रिया