प्रधानमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्छः बामदेव गौतम

प्रधानमन्त्रीले नैतिकतामा आधारमा राजीनामा दिनुपर्छः बामदेव गौतम


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आत्मआलोचना गर्दै राजीनामा दिन सुझाव दिएका छन् । प्रधानमन्त्रीको हैसियतले गरिएको निर्णय अदालतले अवैधानिक ठहर गर्दै उल्टाएपछि नैतिकताको आधारमा पनि राजीनामा दिएर सरकारबाट अलग हुनुपर्ने उनले बताएका हुन् । पार्टी एकता र राष्ट्रिय राजनीतिमा देखिएका विविध विषयमा केन्द्रित भएर नेता गौतमसँग गरिएको कुराकानीः

प्रतिनिधिसभा विघटनलाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई कसरी लिनुभएको छ ?

सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको यो निर्णयले नेपालको संविधानको संरक्षण गरेको छ । यो निर्णयले नेपाली जनताको सार्वभौम अधिकारलाई पुनस्थापित गरेको छ । यसले स्वेच्छाचारी तरिकाले जे मनलाग्यो त्यही गर्दै हिँडन पाइँदैन भनेर अनुशासन बोध पनि गराएको छ । त्यसैले यो निर्णय नेपालको संविधान बमोजिम, नेपालको संविधानको मर्म र भावना बमोजिम र हामीले निर्माण गरेको संविधानको अक्षरसँग पनि सम्बन्धित बनाएर निर्णय भएको छ । प्रतिनिधिसभा भङ्ग गर्ने काम असंवैधानिक हो र यससित सम्बन्धित भएर सरकारले जतिपनि काम गरेको छ त्यो सबै असंवैधानिक हुन भनेको हुनाले प्रतिनिधि सभा मात्रै पुनस्थापित होइन अरु धेरै कामहरु पनि असंवैधानिक भएको हुनाले खारेज हुन्छन् । सर्वाेच्चले ज्यादै ठूलो ऐतिहासिक महत्व राख्ने निर्णय भएको छ । मैले यसलाई ऐतिहासिक निर्णय भनेर भनेको छु । 

तपाईंले उठाउँदै आउनु भएको पार्टी एकताको कुरा अब कुन सिराबाट शुरु हुन्छ ?

पार्टी एकताको निम्ति शुरु गर्नुपर्ने दुईवटा अध्यक्षले हो । दुवै अध्यक्षले पार्टी एकीकरण गर्ने विषय उठाउनु भएन । पार्टी त विभाभाजन भइसक्यो अब मिल्न सक्दैन भन्ने प्रचण्डको भनाई आयो र पार्टी फुटाएको हामीले होइन फुटाएको केपी ओलीले हो भनेर भन्नुभएको छ । पार्टी फुटाउने काम प्रचण्ड माधवहरुले हो भनेर यतातिर भनेको छ । अनि साइडबाई साइड पार्टी फुटाउने बामदेव हो भनेर दुवैले आ–आफ्नो तरिकाले भन्नुभएको छ ।

जसले जे काम गर्नुभएको छ त्यसको जिम्मा नलिने चलन छ । राम्रो भएमात्रै आफुले जिम्मा लिने नराम्रो भयो भने त्यसको अरुलाई लगाउने, आफैं गरेका काममा पक्षपोषण गर्न सकिएन भने उहाँको कामलाई सहयोग गर्नेहरुलाई अगाडि सार्ने र उनीहरुले गर्दाखेरी नै यो सबै भएको भनेर भन्ने चलन छ । एउटा हुँदाखाँदाको पार्टी नेपाली जनताले विश्वास गरेको त्यस्तो पार्टीलाई फुटाएर उहाँहरु हिँडनु भएको छ । यो पुनस्थापनाले यो बीचमा भएका क्रियाकलापलाई पनि पुनस्थापित गर्नुपर्छ । यद्दपी सर्वोच्च अदालतले गरेको निर्णय हाम्रो पार्टी भित्र लागू हुँदैन । पार्टीभित्र पार्टीको विधान लागू हुन्छ । त्यसैले पार्टीका नेताहरुले त्यो गर्नुभएन भने हामी पार्टी एकता राष्ट्रिय अभियानमा सामेल भएकाहरुले एकता गर्नको निम्ति पहलकदमी गर्छौं र यो निरन्तर अगाडि बढ्छ । 

हिजो जसले निर्णय गरेको थियो त्यो निर्णय अवैधानिक गरिसकेको छ भनिसकेको अवस्थामा प्रधानमन्त्री र प्रधानमन्त्रीलाई असंवैधानिक छ भनी हिजो पनि हट र आज पनि हट भनेर भन्ने अर्को पक्षबीच अब कसको पहिलो स्टेप हुनुपर्छ । कहाँबाट शुरु हुनुपर्छ ?

जसले मैले जितेको छु भनेर भन्नुभएको छ उहाँबाट शुरु हुनुपर्ने हो । हिजो प्रचण्डले विभिन्न मिडियामा बोल्नुभएको प्रतिक्रिया मैले सुने । उहाँले चाल्नुभएको कमद सही सावित भएको छ केपी ओलीले चाल्नुभएको कदम गलत सावित भएको छ र त्यो असंवैधानिक छ भनेर भन्ने छ । यस्तो अवस्थामा फेरी पुनः पार्टी एकीकरणको निम्ति प्रचण्डले भूमिका खेल्नुपर्ने हो । उहाँले भन्नुपर्ने हो । पराजित भएकोले भनेर त अरुले मान्दैनन । त्यसैले जसले आफूलाई म विजयी भएँ भनेर भन्छ उसले भन्ने हो । तर प्रचण्डले त्यस्तो भन्नुभएको मैले पाइनँ ।

पार्टी एकता हुन्छ पार्टी एकता गर्नुपर्छ अब सबै साथीहरु एकजुट हुनुहुन्छ म उहाँहरुलाई आव्हान गर्छु एकता हुनको निम्ति भनेर भन्नुभन्दा अब सबै मैले बनाएको पार्टीमा आउनुहोस भनेर भन्नुहुन्छ । त्यो भएर जिम्मेवारी कसैले पनि लिनुभएन । लिनुपर्ने जिम्मेवारी यसपटक प्रचण्डले हो । माधव नेपालले हो  । पार्टी फुटिसक्यो त्यो फुटेको पार्टी गइसक्यो अब हामीसँग भएको पार्टीमा आउनुपर्छ भन्ने उहाँहरुको अभिव्यक्ति पाइयो । त्यो अभिव्यक्ति उहाँहरुको निम्ति त सही होला तर मलाई राम्रो लागेन । 

अब तपाईं के गर्नुहुन्छ ?

मैले औपचारिक र अनौपचारिक रुपमा एकताको निम्ति प्रयत्न गर्ने हो । पहिला म दुईवटा अध्यक्षलाई नै गएर भन्छु महासचिवलाई भन्छु पार्टी एकताको निम्ति पहल गर्नुहोस् भनेर । केपी ओलीले असंवैधानिक काम गर्नुभयो तर असंवैधानिक काम गरेपछि सर्वोच्च अदालतले त्यसलाई सुधार गरिसक्यो । उहाँको कदम असंवैधानिक छ भनिसकेपछि उहाँले पार्टीमा फर्केर आएर आत्मआलोचना गर्नुपर्छ । मैले यस्तो गरें त्यसको सजाय सर्वोच्च अदालतको संवैधानिक इजलासले दिइसकेको छ, अब म आत्मआलोचना गर्दै एकीकृत पार्टीमा आउँछु र अरु पनि हामी एकीकृत पार्टीलाई अगाडि बढाउनको निम्ति लागौं भनेर उहाँले भन्नुपर्ने हो ।

उहाँले त्यो भनेको अहिलेसम्म मैले सुनेको छैन । त्यसो भएर हामीहरुले नै सबै काम गर्नुपर्ने भयो । अरु एकताको पक्षमा रहेका साथीहरु जति हुनुहुन्छ अब हामी एकताबद्ध हुन्छौं र नेतृत्वलाई हामीले एकतामा आउनको निम्ति एकतावद्ध हुनको निम्ति एउटा ठूलो दबाब सिर्जना गर्ने हो त्यो गर्छौं । 

सर्वोच्च अदालतको हिजोको निर्णयबाट सरकार प्रमुख र राष्ट्रपतिमाथि नैतिकताको प्रश्न उठ्छ की उठ्दैन ?
 
नैतिकताको प्रश्न नीति मान्नेहरुलाई उठदो रहेछ । जसले नैतिकता मान्दै मान्दैन उसको निम्ति नैतिकताको प्रश्न पनि उठदो रहेनछ । तर म के ठान्छु भने लामो समय कम्युनिष्ट आन्दोलनमा लागेकाहरुले यो नैतिकता बुझ्नुहुन्छ । त्यो भएर प्रधानमन्त्री ओलीले चाल्नु भएको कदम असंवैधानिक भइसकेपछि उहाँले गर्नुभएको काम गलत भइसकेपछि आफूलाई सच्याउनको निम्ति राजीनामा तुरुन्तै गर्नुपर्छ । हिजै राजीनामा गर्नुपथ्र्यो ।

सर्वोच्च अदालतको निर्णय बाहिर आउने वित्तीकै राजीनामा गर्नुपर्थ्यो । अहिलेसम्म पनि उहाँले राजीनामा गर्नुभएको छैन । म फेरी पनि भन्न चाहन्छु उहाँले तुरुन्तै राजीनामा गर्नुहोस । राजीनामा गरेर पार्टी एकताको आव्हान गर्नुहोस । मैले गल्ती गरेको थिएँ म आफूलाई सच्याउन चाहन्छु त्यसैबापत मैले राजीनामा गरिसकेको छु र अब नयाँ किसिमले एकताबद्ध भएर अगाडि बढौं भनेर उहाँले भन्नुपर्छ ।

Logo