नेकपा एमालेको एकतालाई जोगाउन भनेर पार्टीको दोस्रो तहका नेताहरू निरन्तर सम्वादमा छन्।
संस्थापन अर्थात् अध्यक्ष केपी ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीपकुमार ज्ञवालीलगायत नेताहरूले निलम्बित नेता माधवकुमार नेपालपक्षीय दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेशकुमार भट्टराई र गोकर्ण विष्टसँग सम्वाद गरिरहेका छन्। एकताको विन्दु पहिल्याउने प्रयास गरिरहेको बताएका छन्।
तर, माधव पक्षको आज भर्चुअल माध्यमबाट भएको केन्द्रीय कमिटी बैठकमा उनी पक्षका दोस्रो तहका नेताहरूले ‘बालुवाटारले अल्मल्याएको’ बताएका छन्। के साँच्चै अध्यक्ष ओलीले अल्मल्याएकै हो? एकता नचाहेकै हो? यसै प्रसङ्गमा रहेर ओली निकट स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलसँग केन्द्रविन्दुकर्मी जङ्ग तामाङले गरेको कुराकानीको सम्पादित अंश प्रस्तुत छ।
एमाले एकता अब नजोगिने भएको हो?
पार्टी एकता जोगाउनका लागि संस्थापन पक्ष (केपी ओली) ले के गर्नुपर्छ?
२०७५ जेठ २ मा फर्किनुपर्छ भन्ने माग छ। त्यसमा फर्किन सकिन्छ कि सकिँदैन?
फर्किनुपर्छ भनिरहँदा माधवकुमार नेपाल पक्षले पार्टीमा कति कुकर्म गरेका छन्? एकपछि अर्को, अर्कोपछि अर्को कुकर्म गरेर गएको हामीलाई थाहा छैन? माधवकुमार नेपाल बच्चा त होइन नि।
केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाएको होइन? राष्ट्रपतिकहाँ वैकल्पिक सरकार गठनका लागि विपक्षी गठबन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन पार्टी अनुशासन, संसदीय दलको ह्वीप र दलीय लोकतन्त्रलाई कुल्चेर हस्ताक्षरसहित समर्थन गरेको होइन?
समर्थन मात्रै होइन, लोकतन्त्रको पनि खिल्ली उडाए उनले। लोकतन्त्रमा यस्तो गाईजात्रा हुन्छ? जे मन लाग्यो, त्यही गर्न पाइन्छ? आफ्नो पहिचान कुन पार्टीबाट भएको छ? अथवा, कुन आमाको गर्भबाट आफू जन्मेको हो? त्यही आमालाई लात्तिले हिर्काउन मिल्छ?
यस्तो घटिया काम त गर्न भएन नि। लाग्थ्यो, पार्टीमा शुद्धीकरण गर्नुपथ्र्यो। अब नपर्ने भयो। आफैं निस्केर जाने भएपछि के को गर्नुपर्यो र? जे हुन लागेको छ, राम्रो हुन लाग्यो।
उसो भए २०७५ जेठ २ मा जान सकिदैन?
अरुका लागि जान सकिएला तर, माधवकुमार नेपालका लागि जान सकिँदैन। उनी राजनीतिक बेइमानी हुन् । राजनीतिक अपराधी हुन्। कम्युनिस्ट होइनन्। दलाल हुन्।
तपाईंले यसो भन्दै गर्दा फेरि दुवै पक्षका दोस्रो तहका केही नेताहरू पार्टी एकता जोगाउन भनेर निरन्तर सम्वादमा छन्। सम्वाद भइरहेकै बेला आज बसेको माधवपक्षीय केन्द्रीय कमिटी बैठकमा भने सम्वादमा रहेका उक्त पक्षका नेताहरूले ‘बालुवाटारले अल्मल्यायो’ भन्दै ब्रिफिङ गरे भन्ने छ। साँच्चै संस्थापन पक्षले एकताका लागि ठोस कदम नचालेकै हो?
ओलीले एकताका लागि कदम नचालेको कसरी भन्ने? कसले नचाहेको हो एकता, प्रष्ट छैन? एकता गर्नुपर्छ भन्ने अनि विपक्षीसँग साँठगाँठ गर्ने, त्यस्तो पनि हुन्छ?
नेकपा हुँदा हामीले देखेनौं? तत्कालीन नेकपा हुँदा स्थायी कमिटी बैठक बस्यो कि, केपी ओलीलाई गाली गर्ने। कुन दिन ओलीले कम्तीमा १० वटा गाली सुन्नु परेन? भन्नलाई जे मन लाग्यो भन्नेहरू।
अनि, पनि ओलीले वास्ता गर्छन्? फेरि, न यहाँ मिडियालाई राम्ररी सूचना दिन्छन् न मिडियाले विश्लेषण गरेर सत्य तथ्य बाहिर ल्याउँछन्। अर्कोतिर गेरुवस्त्रधारी विद्वानहरू छन् र त्यस्तै छन् कानूनविद्हरू पनि।
अब यसरी तिक्तता अझै बढ्दै जाने र पार्टी एकता नभइ विभाजन हुने हो भने त्यसले पार्टी र नेपाली कम्युनिस्ट आन्दोलनमा असर पुर्याउँदैन?
अरे बाबा, क्षति पुर्याउँदैन होइन, पुगि सक्यो। बर्बाद गरिसकेनन् र?





























प्रतिक्रिया