कांग्रेसलाई सुदूरपश्चिम सरकारमा सहभागी गराउन छलफल चलिरहेको छः मन्त्री धामी

कांग्रेसलाई सुदूरपश्चिम सरकारमा सहभागी गराउन छलफल चलिरहेको छः मन्त्री धामी


सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मंगलबार विश्वासको मत लिँदा तटस्थ बसेको कांग्रेसलाई सरकारमा सहभागी गराउने भएको छ।

सरकारमा सहभागी गराउन कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड; र एमालेको माधवकुमार नेपालबीच छलफल भइरहेको छ। सोमबार पनि छलफल भएको थियो।

दुई पार्टी र माधव पक्षबीच समझदारी कायम हुनसाथ कांग्रेस सुदूरपश्चिम सरकारमा सहभागी हुने तयारीमा रहेको त्यहाँको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीले बताए।

पार्टी केन्द्रको निर्देशनको पर्खाइमा सुदूरपश्चिम प्रदेशको कांग्रेस रहेको पनि उनको भनाइ छ।

हाल माओवादी र नेपाल पक्ष प्रदेश सरकारमा छ। उनै मन्त्री धामीसँग केन्द्रविन्दुकर्मी जङ्ग तामाङले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ।

मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाउनुभयो। सदनको विश्वास रहेछ भन्ने परीक्षण भयो। अब, तटस्थ बसेको कांग्रेसलाई सरकारमा ल्याउने हो?

पार्टीमा छलफल चलिरहेको छ। के गर्ने भन्ने निक्र्योल भइसकेको छैन। फेरि, लोकतान्त्रिक पार्टी कांग्रेस संघमा पनि विपक्षी गठबन्धनमै छ। म चाहिँ कांग्रेससहितको विपक्षी गठबन्धनलाई ‘लोकतान्त्रिक गठबन्धन’ भन्छु।

त्यही भएर हामी यहाँ (सुदूरपश्चिम प्रदेशमा) पनि सँगै छौं। पार्टी केन्द्रको निर्देशनको पर्खाइमा हुनुहुन्छ उहाँहरू (कांग्रेस सांसदहरू)।

आज मुख्यमन्त्रीज्यूले विश्वासको मत लिँदा उहाँहरू तटस्थ बस्नुभयो। उहाँहरू हाम्रै पक्षमा हुनुहुन्छ। सरकारमा सहभागी गराउने नै हो उहाँहरूलाई। 

तटस्थ बस्नु त सरकारको पक्षमा छैन र विपक्षमा पनि छैन भनेको हो नि, होइन र? तर, तपाईंले त तटस्थमा बस्दा सरकारको पक्षमा रहेको जसरी भन्नुभयो।

तटस्थ बस्नु भनेको सरकारको विपक्षमा उभिनु भन्ने पनि त होइन। हाम्रा लागि त्यो ‘पोजेटिभ पोइन्ट’ हो।

पार्टी केन्द्रको निर्देशनअनुसार उहाँहरू तटस्थ बस्नुभएको हो। उहाँहरूले आवश्यकता परे समर्थन गरेर विश्वासको मत दिने कुरा गर्नु भएको थियो। फेरि यहाँ हामीसँग स्पष्ट बहुमत पनि हुने अवस्था रह्यो। आवश्यकता परेन। 

उसो भए कांग्रेसलाई कहिलेसम्ममा सरकारमा गराउने हो?

त्यस्तो अहिले तयारी भएको छैन। मुख्यमन्त्रीज्यूले छलफल गरिरहनु भएको छ। पार्टीको माथिल्लो तहमा पनि छलफल भइरहेको छ। कुरा टुङ्गिसकेको छैन। चाँडै टुङ्गोमा पुग्ला। 

र, अहिलेको अवस्थामा मूल कुरा लोकतन्त्र नै धरापमा पार्ने गरी प्रधानमन्त्री केपी ओलीबाट दुई पटकसम्म प्रतिनिधसभा विघटन भयो।

यो घटनाक्रमले ओली पक्षविरुद्धको गठबन्धन बनेको अवस्था छ। त्यही भएर गठबन्धनको सहयात्री दल कांग्रेसलाई सरकारमा गराउने नै हो।

तर, एक वर्ष न भट्ट नेतृत्वको सरकारले निरन्तरता पाउने हो…

हो। जे भए पनि १ वर्षसम्म सरकारको स्थिरता भयो। स्थितिरता हुँदा न प्रदेशको विकास हुन्छ।

प्रदेश सरकारले बजेटसहितको नीति तथा कार्यक्रम ल्याउन बाँकी छ। बजेटमा प्राथमिकता के लाई हन्छ? 

पहिलो, – कोभिड १९ बाट प्रदेशका जनता आक्रान्त छन्। त्यतै बजेटको प्राथमिकता हुन्छ। 

दोस्रो, – यहाँ (सुदूरपश्चिम) को गरिबी, अशिक्षा जस्ता समस्या समाधान गर्दै पूर्वाधार क्षेत्रको विकास गर्दै समृद्धि प्रदेश बनाउने गरिका कार्यक्रम र त्यसलाई सम्बोधन हुने गरी बजेट आउँछ। 

Logo