बाढीप्रभावित एक हजार नागरिकलाई अस्थायी बासस्थान जरुरी छः प्रजिअ, सिन्धुपाल्चोक

बाढीप्रभावित एक हजार नागरिकलाई अस्थायी बासस्थान जरुरी छः प्रजिअ, सिन्धुपाल्चोक

केन्द्रबिन्दु
0
Shares

विपद्जन्य प्रकोपबाट सिन्धुपाल्चोक सर्वाधिक प्रभावित छ। बुधबार मात्रै बाढीका कारण २१ जना बेपत्ता भए। तीन जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

मेलम्ची र हेलम्बुमा गरी २ सय ८३ घरपरिवार विस्थापित छन्। ८४ जनाको उद्धार भएको छ। उद्धार तथा राहतमा सुरक्षाकर्मी ४ सय ७६ जना खटिएका छन्। करिब एक हजार नागरिक प्रभावित छन्। अनि, राहत वितरण असमान ढंगले भइरहेको प्रभावितको गुनासो पनि छ।

अर्कातिर, मेलम्चीमा पानीको सतह कहिले घट्ने त कहिले एक्कासि बढिरहेको छ, जसले जोखिम कायमै रहेको संकेत गर्दछ।

यसबीच, राष्ट्रिय विपद् प्राधिकरणको विज्ञ टोली शनिबार सिन्धुपाल्चोकको बाढी र पहिरो प्रभावित क्षेत्रको अध्ययन गरेर फर्केको छ। टोलीले सरकारलाई प्रतिवेदन बुझाउन बाँकी छ। प्रतिवेदनपछि प्रभावित क्षेत्रमा फेरि बाढी र पहिरोको जोखिम कायम भए/नभएको निक्र्योल हुनेछ।

 सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले विपदपछिको प्रतिकार्यअन्तर्गत उद्धार र राहतका लागि आफ्नै नेतृत्वमा ‘अपरेसनल फोर्स’ गठन गरेका छन्। उनी नेतृत्वको फोर्स मेलम्चीमा छ। मेलम्चीमा रहेर फोर्सको नेतृत्व गरेका प्रमुख जिल्ला अधिकारी पोखरेलसँग केन्द्रबिन्दुकर्मी जङ्ग तामाङले बाढी र पहिरोका कारण भएको मानवीय र भौतिक क्षति, राहत वितरणसँगै प्रभावितलाई सुरक्षित स्थानमा अस्थायी बसोबासका लागि भइरहेको कदमबारे कुराकानी गरेका छन्। कुराकानीको सम्पादित अंश:– 

हेलम्बु र मेलम्ची क्षेत्रमा बाढी र पहिरोका कारण भएको मानवीय र भौतिक क्षतिको विवरण के कति हो?

क्षतिको यकिन विवरण तयार हुन अझै बाँकी छ। नदी र खोलामा पानीको सतह अझै घटेको छैन। र, कस्तो छ भने एक्कासी पानीको सतह घट्ने र फेरि एक्कासि बाढी आएर बस्तीमा पस्ने समस्या छ। बाढीको प्रवृत्ति त्यस्तो छ। त्यही भएर यकिन तथ्याङ्क निकाल्न हाम्रो प्राविधिक टिमले सकेको छैन। 

हेर्दा कतिको घरमा पूर्ण छ, कतिको आंशिक क्षति छ। पानीको सतह कम नभइ प्राविधिक टोलीलाई स्थलगत रूपमा क्षतिको पूर्ण विवरण  प्राप्त गर्न कठिनाई हुन्छ। मोटोमोटी हिसाब गर्दा १ सय ५० घर परिवार मेलम्चीतिरको प्रभावित छन्। १ सय ३३ घर हेलम्बुको प्रभावित भएको हामीसँग प्रारम्भिक तथ्याङ्क छ। फेरि, पनि बीचबीचमा बाढी आउने र बस्तीमा पस्ने भइरहेको छ। अब, घटेपछि यकिन तथ्याङ्क आउँछ।

मानवीय क्षति चाहिँ कति हो? 

शव फेला परेको तीन जनाको हो। त्यसमा दुई जना चिनियाँ नागरिक र एक जना भारतीय नागरिक हुन्। शव बुझेर लगिसकेको अवस्था छ। 

जिल्लाभरमा साता दिनको अवधिमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पनि एकजनालाई बाढीले बगाएको छ। हिजो रामेछापमा शव भेटिएको अवस्था छ। जुगलमा पनि खोलाले एउटा बालिकालाई बगाएको छ। शव भेटियो। यसरी हेर्दा सिन्धुपाल्चोकमा ५ जनाको बाढीका कारण ज्यान गएको छ।

मेलम्चीमा पानीको सतह कहिले घट्ने त कहिले एक्कासि बढिरहेको छ, जसले जोखिम कायमै रहेको संकेत गर्दछ।

हेलम्बु क्षेत्रको कुरा गर्दा, बाढीको कारणले त्यहाँ ५ जनाको मृत्यु भएको छ। बाहिर प्रचार चाहिँ मेलम्चीको बाढीमा भन्ने छ। मेलम्चीको फोटो भाइरल भएको छ। घरमा पानी पसेको फोटो आएको छ। तर, मेलम्चीमा कुनै मानवीय क्षति भएको छैन। बाढीका कारण मानवीय क्षति भएको त हेलम्बु, पाँचपोखरी थाङपाल र जुगलमा हो।

हेलम्बु, पाँचपोखरी थाङपाल र जुगल त मेलम्ची खोला र ईन्द्रावती नदीको माथिल्लो भेगमा पर्छ। यस आधारमा हेर्दा मानवीय क्षति माथिल्लो भेगमा भएको हो?

हो, माथिल्लो भेगमा मानवीय र तल्लो भेगमा भौतिक संरचनामा बढी क्षति भएको देखियो।

बेपत्ता भएकाको सङ्ख्या चाहिँ कति हो?

अहिलेसम्म २० जना बेपत्ता हो। 

अनि, हेलम्बु गाउँपालिकाले त २३ जनाको तथ्याङ्क सार्वजनिक गरेको छ त।

तीन जनाको त शव फेला पर्यो नि। त्यसो हुँदा बेपत्ताको सङ्ख्या २० नै हो।

उद्धारको काम त सकियो नै, राहतको काम के हुँदैछ? 

मैले अघि भनें, अहिलेको समस्या पानीको सतह घटेको छैन। सुरक्षित हुने अवस्था अझै छैन। राष्ट्रिय विपद् प्राधिकरणबाट विज्ञ टोली हिजो आएर माथिल्लो क्षेत्र हेरेर जानु भएको छ। उहाँहरूले प्रतिवेदन आज बुझाउने भन्ने छ। उहाँहरूको प्रतिवेदनपछि कत्तिको जोखिम छ भन्ने थाहा हुन्छ। 

हामीले अहिलेसम्म उद्धार गरेकाको सङ्ख्या ८४ जना हो। उहाँहरूलाई विभिन्न ठाउँदेखि हामीले उद्धार गरेका हौं। र, अहिले उद्धार गर्नुपर्ने भनेर सूचना आएको छैन। त्यो भनेको उद्धार गर्नुपर्ने खालका नागरिक हुनुहुन्न। घाइतेहरू पनि दुई जनाबाहेक अरु निको भएर घर जानु भएको छ। 

विपद्को जोखिम रहेको क्षेत्रका नागरिकहरूको पुनःस्थापनाका लागि वस्ती स्थानान्तरण गर्ने कुरो छ। तर, पानीको सतह घटेपछि प्राविधिक रूपबाट बस्न उपयुक्त हुन्छ कि हुँदैन भन्न विस्तृत सर्भेक्षण हुन जरुरी छ। त्यो चाहिँ पानीको सतह घटेपछि सुरु हुन्छ। अल्पकालीन रूपमा प्रभावितहरूलाई अस्थायी रूपमा राख्ने र खाद्यन्न, औषधीलगायत कुनै पनि कुरामा कमी हुन नदिने भन्ने कुरामा हाम्रो ‘फोकस’ छ। त्यही अनुसार हामीले मेलम्चीमा ६ सय जना र हेलम्बु आसपासमा ३ सय जना र पछि आएको बाढीले गर्दा ४ सय जना गरी करिब एक हजार जना जति चाहिँ हामीले तत्काल अस्थायी रूपबाट व्यवस्थापन गर्नुपर्ने अवस्था छ। सोही अनुसार विभिन्न निकायबाट राहत प्राप्त भएको छ। 

तपाईंले राहत मेलम्चीमा थुप्रियो भन्नु भएको छ। स्थिति कस्तो छ भने सडक सञ्जालको पहुँज मेलम्चीमा बढी छ। बाहिरतिर पनि मेलम्ची नदीको बाढीले भन्ने छ। मेलम्ची नदी होइन, खोला हो। मान्छेलाई मेलम्ची थाहा छ। अरु कम थाहा छ। 

राहतहरूलाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेर ठाउँठाउँमा सम्बन्धित स्थानीय तहका प्रतिनिधिसँग समन्वय गरेर राहत वितरणको काम प्रभावकारी बनाउने प्रयासमा छौं।

तपाईंले राहत प्रभावकारी ढंगले वितरणको प्रयास भइरहेको छ भन्नुभयो, तर राहत त मेलम्ची क्षेत्रमा केन्द्रित भयो, बढी मानवीय क्षति भएको हेलम्बु क्षेत्रमा कम भयो भन्ने छ। किन यस्तो गुनासो आयो? 

राहतको विषयमा कतिपय कुरा अफवाह पनि हुँदा रहेछन्। कतिपय कुराहरूमा स्वच्छ मनले सहयोग गर्ने भन्दा पनि प्रभावितहरूको स्वाभिमानसँग खेल्ने कुरा हुँदो रहेछ। अस्वस्थ प्रतिस्पर्धा हुँदोरहेछ। ‘इगो’ हुँदो रहेछ। यो चाहिँ राहत वितरणमा देखिएको सबैभन्दा नकारात्मक पक्ष हो। 

जुन, तपाईंले राहत मेलम्चीमा थुप्रियो भन्नु भएको छ। स्थिति कस्तो छ भने सडक सञ्जालको पहुँज मेलम्चीमा बढी छ। बाहिरतिर पनि मेलम्ची नदीको बाढीले भन्ने छ। मेलम्ची नदी होइन, खोला हो। मान्छेलाई मेलम्ची थाहा छ। अरु कम थाहा छ। 

त्यही भएर राहत वितरण गर्ने संघसंस्थाहरू यहाँ धेरै आए। फेरि, राहत वितरण गर्ने भनेको उहाँहरूकै स्वेच्छिकमा हुने हो। जहाँ दिने भनेर ल्याएको हो, त्यहाँ दिने हो। हामीले यो ठाउँमा दिनू भन्ने अवस्था रहँदैन।

सम्बन्धित स्थानीय तहले पनि राहत प्राप्त गर्न सक्ने त्यहाँको विपद् व्यवस्थापन समितिमार्फत् भन्ने छ। तसर्थ, व्यक्तिको स्वेच्छालाई हामीले नियन्त्रण गर्ने कुरा भएन।

बुझ्दा राहत एकद्वार प्रणालीबाट भएको छैन रहेछ, होइन?

यस्तो छ, एक द्वार भन्नेबित्तिकै दुईवटा च्यानल हुन्छ। एउटा हाम्रो जिल्ला विपद् व्यवस्थापन समिति अर्को चाहिँ स्थानीय तहको विपद् व्यवस्थापन समिति। एक द्वार भन्ने बित्तिकै यो दुईवटा निकाय आउँछ। कानूनले नै राहत प्राप्त गर्न सक्ने स्थानीय तहको विपद् व्यवस्थापन समितिलाई अधिकार प्रदान गरेको छ। सोही अनुसार साथ र सहयोग गर्ने विभिन्न निकायबाट प्राप्त राहत मेलम्ची, हेलम्बु, पाँचपोखरी थाङपाल र जुगल गाउँपालिकाले वितरण गर्यो।

अहिले हाम्रो जिल्ला विपद् व्यवस्थापन समितिको राहत वितरण गर्ने एउटा ‘अपरेसनल फोर्स’ मेलम्चीमा छ। म आफैं छु। सेना, प्रहरीसहितको टिम बसेर राहतको वितरणको ‘कमान्डिङ’ गरिरहेको छु।

त्यसैगरी, जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा एउटा टिम बनाएका छौं। यो टिमले जिल्लाको १२ वटै पालिकामा राहत वितरणको नेतृत्व गर्दै छ। विपद् जोखिमको दृष्टिले त १२ वटै जोखिममा छ। र, ती १२ वटै पालिकाबाट त्यहाँ भएको विपद्का घटनाबारे पालिका प्रमुखसँगै प्रभावित नागरिकहरूबाट सूचना आउँछ। सूचना संकलन गर्छौं। कुन ठाउँमा के कुरा आवश्यक छ भन्ने कुरा संकलनपछि मेलम्चीमा रहेको म नेतृत्वको ‘अपरेसनल फोर्स’ मा जानकारी आउँछ। यहाँ आएपछि सडक यातायातबाट चामल पुग्न सक्ने भए सडक यातायातबाट र नपुग्ने ठाउँमा प्राथमिकता क्रमअनुसार हेलिकोप्टरबाट पुर्याइरहेका छौं। 

Logo